Skip to content


हि्वस्कीको बोतलको बिर्कोमा
विमोचित हुन्छ कविता
र हुन्छ, कविताको लोकार्पण
होटल र ब्याङ्केटका रंगीन साँझहरूमा ।

चियर्समा वाचन हुन्छ कविता
र, गरिबी र हिंसाको संवेदनामाथि
लेखिएका कविताका ध्वनिहरू
सुनिरहेका हुन्छन् वेटरहरू
उठाउँदै जुठा प्लेेट र रित्ता बोतलहरू ।

विरासतको बर्को ओढेर
पहिचानका शब्दहरूले
लिपपोत हुँदै
यत्रतत्र भेटिने गर्छ कविता
र, एउटै बाटोमा हिँडिरहेका
अन्तरंग मित्रहरूलाई
पक्डेर कठालोमा
सडकवारि र सडकपारि
बनाइदिन्छ कविता ।

मौका छोपेर झोलीबाट
फुत्त निस्किन्छ कविता र
माइक पक्डेर गाउन थाल्छ
बाजे, बराजु र च्याब्जुका बखानहरू
र, दाबी गर्छ संविधानको ठूलो हिस्सा ।

पीपलबोटे गुट र उपगुटहरूमा
विभाजित छ कविता
र, बोकेर हिँड्छन् कविताका
गुट र उपगुटहरू
आ-आफ्ना गुटभित्रका कविता
र, गुट र उपगुटहरू नभएका कविताहरू
मात्र नानीका
सिँगान पुछ्ने कागज बन्छन्
र, फ्याँकिन्छन्
डस्टबिनहरूमा ।

माला, खादा र खामहरूमा
झुन्डिएको छ कविता
कसले कसलाई खादा ओढाउने
कसले कसलाई खाम थमाउने
पूर्वनिर्धारित हुन्छ योजना
कविको दिमागमा
गर्भाधान नहुँदै कविता ।

र, अचेल
एउटा अन्डा पारेकी कुखुरीजस्तै
कोटकोट्याँस ट्याँस गर्दै
सबैको ध्यान तान्ने
हल्ला बन्छ कविता
र, थुपार्छ क्यामेरा र रेकर्डरहरू
आफ्नो वरिपरि
अनि, चरीटाउके अक्षरहरूले
सहर छोप्छ कविता ।

उषा हमाल
नेपाल साप्ताहिक अंक: ६०५ | २०७१ श्रावण ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *