Skip to content

संखुवासभा

खोला यी जुन संखुवा अनि सभा, बग्दै गरेका जहाँ |
तिन्कै नाम लिएर बन्दछ अहो जिल्ला त हाम्रो त्यहाँ ||
उत्तर् चीन सिमा हिमाल तिरको किल्ला भयो दुर्गम |
दक्षिण तर्फ भने भयो धनकुटा, औ तेरथुम्को सिमा || १

ताप्लेजुङ् अनि तेरथुम् पनि अझै पूर्वीय पाटा तिर |
पश्चिम् पर्न गएछ भोजपुर औ सोलु दुबै सुन्दर ||
चार्किल्ला बिचमा छ यो सुगतिलो जिल्ला बसेको यहाँ |
यस्को माथ हिमाल हो भुवनमा, कैल्यै नझुक्ने जहाँ || २

खाँद्बारी छ मुकाम मुख्य यसमा जिल्ला बसेको अहो |
दोस्रो ठाउँ ठुलो छ चैनपुर; त्यो, हो काल प्राचीनको ||
अर्को एक यहाँ छ, तुम्लिङ अझै, यो टार झन् सुन्दर |
त्यो नै भित्र छिरेर पर्यटकले बस्ने प्रथम् हो घर || ३

जिल्ला दुर्गम यो भनेर चिनिने नेपालको गौरब |
पाइन्छन् यस क्षेत्रमा जडिबुटी, पन्छीहरू दुर्लभ ||
प्राणी दुर्लभ पाइने वनभरि त्यस्तै लता बृक्षछन् |
कैयौँ जन्तु यहाँ निकुञ्ज वनमा आनन्दले बस्तछन् || ४

साँच्चै सुन्दर यो, हिमाल छ अझै,आफै मकालू ठुलो |
जिल्लाको पनि यो प्रसिद्ध अतिनै तिर्थै सरी बन्दियो ||
खेम्पालुङ् छ अझै बिचित्र प्रकृति भित्रै बने कन्दरा |
त्यस्मै झन् झरझर् झरेर झरना झल्को दिने सुन्दर || ५

हेर्दै दृश्य बिचित्रको छ यसमा आफ्नै हिमाली धरा |
छन् उस्तै भिरमा बिराइ कसरी खेती गरेका गरा ||
फल्छन् धान, गहूँ, मसेंम र गहत्,कोदो, मकै, फापर |
बास्छन् झ्याउँकिरी सधैँ समयको सन्देश् दिदै घर्घर || ६

याँ’ होचो छ, उपत्यका भुवनको एस्मै हिमाल् उच्चछन् |
खानी छन् यसमा अमुल्य अतिनै पत्थर् अझै धेर छन् ||
कैयन् छन् यसमा बनौषधि अझै बुट्टी अनेकौँ यहाँ |
धेरै दुर्लभ मानिने जगतका छन् यार्सगुम्बा जहाँ || ७

छन् देबी मनकामना भगवती तिर्थै बडो झन् अहो |
अर्को देवथलो प्रसिद्ध पहिले त्यो सिद्धकाली भयो ||
जिल्ला निम्न थियो अबस्य पहिले, ऐले गयो उच्चमा |
साँच्चै रुद्र समान देव रुपका, रुद्राक्ष फल्छन् यहाँ || ८

पौरख् गर्न सके पहाड भिरमा, फल्छन् अलैंची कती |
छन् ब्याँसी हरिया र फाँट रसिलो गर्दाहुने उन्नती ||
फल्छन् आँप लिची कतै छ कटहर्, पाकिरहेको यहीं |
छन् चौंरी चरनै र खर्कहरु छन् भेडा र बाख्रा त्यहीं || ९

जिल्लाको अति उच्च यो हिमगिरी फुल्ने अनेकौँ कली |
देखिन्छन् जसरी गुराँस वनमा जात्जातका मञ्जरी ||
पाहाडी हरियो विशालतम यो मादी ठुलो गाउँ हो |
पैलानै यसमा बिकाश भरियो यै शिक्षाको केन्द्र भो || १०

सम्झि द्यौ सबले अझै मुटुमरी, माया बसेको क्षण |
माटो त्यो कसरी, म बिर्षनु अझै टाँस्सी रहेछन् कण ||
छन् मेरा वनकुञ्ज ती हिमगिरी छाती भरी झर्झर |
माटो त्यो पथको छ भित्र दिलमा बास्ना सधैँ हर्हर || ११

द्यौरालीहरु छन् कतै पथरमा द्यौता बसेका यहाँ |
छन् है त्यो पथमा बिभिन्न रुपका भञ्ज्याङ् बनेका जहाँ ||
खोला छन् झरना बनेर बिजुली बल्दै गरेका कती |
यै जिल्ला बिचमा अरुन् अनि वरुन् बग्दै गरेका नदी || १२

मान्छे जात बिभिन्न, वर्ण थरका, रम्दै बसेका यहाँ |
त्यो आफ्नैपनको छ संस्कृति ठुलो, हुर्की बढेथ्यौँ जहाँ ||
गर्थे रे पहिले कुनै समयमा द्यौताहरूले सभा |
साँच्चै ! सुन्दर हो पबित्र पनि यो जिल्ला सभा संखुवा || १३

छन्द :– सर्दुलबिक्रिडित
गण :– म स ज स त त गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *