‘थेमस्को किनारमा कोशीको सम्झना’ यो कवि वासु शर्मा (वि.सं २०१६) को कवितासङ्ग्रहको नाम हो । यसमा ४७ ओटा लामा छोटा कविताहरु जम्मा गरिएका छन् । यसमा समेटिएका कविताहरु नेपाली लोक लय, गजल र गद्य लयको बान्कीमा निर्मित भएका छन् । यस कृतिमा समावेश भएको सबैभन्दा लामो कविता ‘देश रोएको बेला’ (८५ हरफ) र सबै भन्दा छोटो आकारको कविता ‘घायल मुटु’, (१२ हरफ) देखिएको छ । अरु कविताहरु सालाखाला आकार र आयाममा रचिएका छन् । खास गरी यसभित्रका कविताहरुमा षोडष पदी कविताहरु बढी छन् । यसैले यहाँका सबै कविताहरु मुक्तकीय बान्कीमा छैनन् जो आजको नेपाली कविताको फाँटमा छताछुल्ल छन् । यसैले यस संग्रहका कविताहरु मझौला फुट्कर ढाँचामा लेखिएका छन् भनेर किटान गर्दा फरक पर्दैन ।
यो कृतिभित्र पसेर मैले कोशीमा नुहाएझैं डुबुल्की मार्दै भावका छालहरुमा मस्तसँग नुहाउन खोजें, तर धेरै समय कविताहरुमा कोशी वा थेमस्का भँगालाहरु मात्र भेटिए भने केही र कतै कोशी वा थेमस्का मूल प्रवाहको छेउछाउ पनि पुगियो । कृतिमा पस्तै र पौडँदै जाँदा मलाई मूल प्रवाहले बगाउला कि भन्ने भान मनमा भएर पनि बगाएन । धेरैतिर मेरो शरीर सम्पूर्ण रुपमा डुबानमा परेन । म बाँकटा हान्दै रहें । बाँकटा हानेर पारितिर पुग्ने काम मात्र यसमा मलाई सुम्पेको थिएन कविले । यसभित्र रहेको मोती भए मोती सिपी सिपी, शालिग्राम भए त्यो पनि र भेटियो भने बालुवा रोडाढुलाई पनि निकाल्ने र केलाउने आग्रह थियो । त्यही आग्रहका साथ यसको कम्प्युटर पान्डुलिपिमा बाँकटे हानें अनि कम्प्युटरको पञ्चपालामै मैले औंला चोबें । कोशीको शिर मकालुदेखि थेम्स् (तर मैले ता धेरैतिर टेम्स पढेको थिएँ, देख्ने पुग्ने ता मेरो कल्पना पनि रहेन) को भँगालाहरुमा समेत पौरी खेलें । अनि त्यहाँभित्रका मोती र सिपीहरुलाई छिन्किएँ, निफनें केलाएँ । कतै कतै ता झन्डै आफैं गोडमेल गर्न खोजेंछु । तर मेरो काम यो होइन, गोडमेल, मलजल र लालन पालनका कुरा ता स्रष्टाका हुन् र त्यो स्रष्टाको निजी अधिकारको कुरा हो भन्ने ठानेर म पनि कम्प्युटरको पञ्चपाला (किबोर्ड) मा औंला चलाउन थालें ।
संसारलाई नेपालले श्रमिक मात्र दिएको छ भन्नेहरु पनि छन् । तर कहाँ श्रमिक मात्र हो र नेपालले संसारलाई आफू रित्तै भएर पनि, गाँस काटेर पनि उच्च तहका वैज्ञानिकहरु, कलाकारहरु, आविष्कारकहरु, नेता र अभिनेताहरु तथा चिन्तकहरु र दार्शनिकहरु पनि दिइरहेका छ । यसका साथै नेपालले विश्वसामु मूद्र्धन्य साहित्यकाहरु पनि दिइरहेको छ । त्यसरी संसारलाई सुम्पिएका कतिपय साहित्यकारहरु वा कलाकारहरुले आफ्नो आमाको स्तनपानको कथा, गल्ली चोक र आहाले नागीहरुमा गुडुगुट्टु खेलेको कथाहरुलाई नबिर्सनेहरुमध्ये वासु शर्मा पनि एक हुन् । विदेशका कुनाकुनामा बसेर नेपाली साहित्यलाई थप योगदान दिइरहेका कतिपय साहित्यकारहरुको ताँतीमा वासु शर्माको नाम पनि जोडिन आएकै छ । नेपालबाट विदेश गएर नेपालीहरुले नेपाली भाषामा लेख्ने गरेको इतिहास अहिलेसम्म ताजा छ । त्यसरी नेपालीले नेपाली भाषामै लेखिएको कृृति अहिलेलाई डायस्पोरेली साहित्यका रुपमा लिइएको छ । नेपाली भाषा साहित्यले हाल केही वर्षदेखि डायस्परेली नेपाली साहित्यको भन्डार निकै कवि कवयित्रीहरुले भर्न थालेका छन् । ‘थेमस्को किनारमा कोशीको सम्झना’ पनि यही डायस्पोरेली नेपाली वाङ्मयको श्रीवृद्धिका लागि देखिएको एक विशेष रचना हो भन्ने कुरा मैले अहिल्यै भन्दा केही फरक देखिन्न ।
सुरुका यी मेरा केही गन्थन पछि म वासु शर्माको कृतिभित्र पसिरहेको छु ।
यस संग्रहका ४७ थान कविताहरुमध्ये प्रत्येक कविताहरुले बेग्लाबेग्लै भावलहरीहरु बोकेका छन् तिनलाई बेग्लाबेग्लै कित्तामा अध्ययन गर्न पनि सकिन्छ तर यहाँ म संग्रहका सबै कविताहरुको सोलोडोलो आकलनतिर लाग्ने सुरमा छु । समग्रताको आधारमा यस संग्रहकहा कविताहरुबाट कवि वासु शर्माको दृष्टिबिन्दु केही निश्चित क्षेत्रमा मडारिएको छ —
कित्ता एक ः
जीवनभोगाइका सन्दर्भमा देखिएका आरोहअवरोहहरुमा कविले भोगेका तिता पिरा घटनाहरु छन्
प्रवासको बसाइमा आत्मीयहरुको सान्निध्य नपाएकोमा बह र तद्विषयक मानसिक तरङ्गहरु छन्,
केही अन्तरराष्ट्रिय प्राकृतिक, आर्थिक र समसामयिक घटनाहरुद्वारा उब्जेका मसृण भावनाहरु छन्,
आफू बाँचेको, बसेको अनि जीविकाको मेलो गरेको स्थानमा पाएका दुःखेसा र रम्यताको चित्रण पनि छ,
स्वदेश (नेपाल) को र खास गरी आफ्नो जन्मभूमि (कोशी अञ्चलको पहाडी भूमि) को स्मृतिमा बारम्बार आइरहने तरङ्गहरु छन् ।
जन्मभूमिबाट टाढा भइकन पनि नेपालको राजनीति र सामाजिक व्यवस्थामा देखिएका अस्तव्यस्ततामाथि कविले चिन्ता छ र अस्तव्यस्त राजनीतिका कारकहरुमाथि हल्का व्यङ्ग्यका भावहरु छन्
कवितासंग्रहको यो एक पाटो हो भने
कित्ता दुई ः
कुनै विरही प्रेमीले प्रेमिकाको विरह र पूर्वप्रेमीकाको स्मृतिमा गुन्गुनाएका श्रृङ्गारिक भावलहरीहरु भएका कविताहरु सिङ्गो अर्काे कित्तामा छन् र तिनको संख्या औशतमा पचास प्रतिशत जति छ ।
यिनै भावनाहरुको सेरोफेरोमा कवि वासु शर्माको काव्यात्मक अभिव्यक्ति भएको छ । उनलाई थेमसको किनारमा पुगे पनि उही कोशी, उही अरुण र उही तमोरहरु स्मृतिमा मडारिइरहन्छन् । जहाँ पुगे पनि उनका अघि उही मकालु अन्नपूर्णा र कन्चन्जङ्घा उभिरहेका छन् । सुविधासम्पन्न मुलुकमा बसेर पनि उनी जीवनका अनन्तताको गोता खाएर अनेकौ आरोह अवरोहहरुमा उथलपुथल भएर पनि उनलाई उही नेपाली संस्कार, संस्कृति, रहनसहन, खानपिन र चालचलनबाट छुट्नु परेको पिरोलोले पिरोलिरहेको कुरा कविताले देखाउँछन् । पराधीनताको स्वर्ग भन्दा स्वतन्त्रताको नर्क नै उच्च हो भन्ने भावहरु पनि यसमा कतै कतै आएका छन् । जापानमा भुकम्पबाट उब्जेको सुनामीको विपत्ति होस् वा विश्वमा आएको आर्थिक मन्दीका कुराहरु नै किन नहुन् कविलाई यस्ता कुराहरुले प्रभावित पार्छन् र तिनमाथि समेत आफ्ना काव्यिक अभिव्यक्ति पोख्छन् । यसबाट समसामयिक संसारका गतिविधिहरु र प्राकृतिक र अन्य घटनाहरुबाट पनि कवि विमुख देखिंदैनन्, उनी सचेत छन् भन्ने सिद्ध हुन्छ । जन्मभूमिको चिन्ताले पनि कवि निकै पिरोलिएका छन् । यो कविता संग्रहका कविताहरु लेखिएको र यो प्रकाशित भएको समयसम्म पनि नेपालले राजनीतिक स्थायित्व पाएको छैन । यो अस्तव्यस्तताका लागि नेताहरु र पार्टीहरुलाई कविले जिम्मेवार देखेका छन् जो सोरै आना सही हो । यसमाथि उनको केही तिखो कटाक्ष पनि देखिन्छ । यस प्रकृतिका कविताहरुलाई नियाल्दा कवि शर्मामा व्यङ्ग्यचेतना पनि पर्याप्त रहेको भान हुन्छ । यतातिर पनि कवि तिखारिएलान् भन्ने आशा गर्नु सान्दर्भिक हुन्छ । समग्रमा यस पाटोभित्रका कविताहरुको मूल र सारवस्तु भनेको देशभक्ति नै हो । पृथ्वीको छेउकुनामा पुगेको बेला पनि आफ्नो जन्मभूमि नेपालको स्मरण गरेका छन् । यसो हुनु एक उच्च देशभक्तको धर्म हो । अतः कवि वासु शर्मालाई उनका कविताभित्र एक साँचो देशभक्त कविका रुपमा नियाल्दा हुने देखिन्छ । यो नै कविता संग्रहको गोताखोरी गर्दा देखिने र भेटिने मोती हो । खोज्दै जाने हो भने यसभित्र रोडाहरु पनि पाइएलान् तिनको खोजीमा म लागिन ।
अब कित्ता दुईभित्रका कविताहरुको कुरा बाँकी पनि नै छ । श्रृङ्गार रसप्रधान कविताहरु कित्ता दुई भित्रका कविताको विशेषता हो । कविले यस संग्रहमा श्रृङ्गार रसप्रधान कविताहरु पनि पर्याप्त लेखेका छन् । संग्रहको भूमिकामा कविले यस अघि माया, प्रेम र प्रीतिका कविता नलेखेको, अब लेख्न थालेको अनि त्यस्ता कविताहरु यसै स्रग्रहमा समावेश गरिएको कुरा लेखकीयमा लेखेको देखिन्छ । यस अघिका संग्रहमा के कसो छ त्यो देख्न नपाए पनि कविले भने जस्तै यस संग्रहमा भने श्रृङ्गार रसप्रधान कविताहरु लगभग ५० प्रतिशत जति छन् । यी कविताहरुको अध्ययनबाट कविले कविकै आफ्नी धर्मपत्नीसँगको सुमधुर प्रेमको सुन्दर र सुष्ठु चित्रण गरेको जस्तो देखिन्छ । यहाँको श्रृङ्गारिकता श्लील, शालीन र स्वाभाविक छ । यहाँको श्रृङ्गार रसमा विप्रलम्भ श्रृङ्गार मात्र छ सम्भोग श्रृङ्गारको छनक छैन । केही कवितामा प्रेमिका वा प्रेमीको वियोगमा उब्जने खालका छट्पटीहरु पनि छन् । ती कविताहरुले कविलाई प्रेमजनित पीडाले बिथोलेको सम्म देखाउँछन् । कविलाई कुनै दिन प्रेमको पीडाले बिथोलेको थियो कि भन्ने अनुमान कविता पढ्दा हुन खोज्छ । यस कित्ताका कविताको चर्चा यति नै ।
समग्रमा कवि वासु शर्माको यो संग्रहका कविताहरुको मूल्य औशतमा छ । यी कविताहरु नेपाली कविताको प्रवाहलाई नै हल्लाउने र मोड्ने प्रवृत्तिका छैनन्, बरु प्रवाहभित्रको कुनै क्षेत्रमा गएर आफूहरु सुस्थिर भएका छन् । नेपाली कविताको प्रवाहको पछिल्लो कित्ताकाृ क्षेत्रबाट यी कविताहरु केही तल नै छन् भन्नु पर्छ । तर भावगत सुमधुरता र बोधगम्यताका आधारमा नियालिने होभने अहिले नेपाली कविताहरु भन्दा माथि हुन खोज्छन् किनभने यिनमा लयात्मकताको सुमधुर योग छ, भाषिक शिप र शैलीगत कलात्मकताको सुष्ठु प्रयोग छ र छ गेयात्मकताको सयोग पनि । पाण्डुलिपिलाई पुनः शुद्धीकृत र सशोधन गरेर नेपाली भाषाको सुसंस्कृत रुपमा यिनलाई ढालेर प्रकाशन गरिनु पर्छ भन्ने आग्रहका साथ
होम सुवेदी
सहप्राध्यापक तथा अनुसन्धान प्रमुख
नेपाली विभाग
मेची बहुमुखी क्याम्पस
भद्रपुर
२०७१ असार मसान्त
