ॐ नमः शिवाय, छैनन् अरु कोही प्रभु सिवाय । कल्याण एवं सुखका मूल स्रोत मङगलमय सदाशिव भगवान् अज्ञेय र अगम्य हुनुहुन्छ । उहाँको गुण तथा लीलाको वर्णन गर्न सरस्वती मातासमेत समर्थ हुनुहुन्न भनिएको छ । भगवान् शिव समस्त प्राणाीका अधीश्वर, व्रम्हदेवका अधिपति, साक्षात् परमात्मा हुनुहुन्छ । यहाँ यिनै परम उपास्य भगवान् सदाशिवको महिमा, स्तुति तथा कल्याणबारे सङक्षेपमा चर्चा गरिन्छ ।
सदाशिव महेश्वर आˆनो इच्छा शक्तिद्वारा सृष्टि गर्नुहुन्छ । श्रुतिको वचन छ-‘मायातु प्रकृति विद्यान्मयिनतु महेश्वरम्’ शिवजीको यस्तो शक्ति दुई रूपमा बाँडिएर काम गर्दछ । -१) मूल प्रकृति -२) दैवी प्रकृति । गीतामा मूल प्रकृतिलाई अपरा प्रकृति भनिएको छ । यसबाट पञ्च महाभूत र अन्तः करण आदि दृश्य पदार्थहरूको उत्पत्ति भयो । परा प्रकृति चैतन्यशक्ति हो । जुन यस अपरा प्रकृतिको नाम रूपमा परिवर्तित छ । अपरा प्रकृतिलाई अविद्या र परालाई विद्या भनिन्छ । परा प्रकृतिलाई पुरुष पनि भनिन्छ । यी दुवै प्रकृतिकहरूको नायक र प्रेरक श्री शिव महेश्वर हुनुहुन्छ ।
शिवको इच्छाअनुसार रजो गुणबाट ब्रम्हा, सत्वगुणबाट विष्णु र तमोगुणबाट रुद्ररूप भए । यी तीनै ब्रम्हाण्डका नायक हुन् । यी तीन देवता क्रमशः सृष्टि, स्थिति र लयको कार्य गर्दछन् । यी तीन देवताहरूमा भेद -फरक) गर्नुहुँदैन तीनै देवता एक हुन् – शिव पुराण
आदिदेव भगवान् शिव देवताहरूको पनि स्वामी हुनुहुन्छ । चन्द्र कलालाई जटाजुटमा धारणा गरेर गङ्गाजीलाई शिरमा राख्नुभएको छ । नागको माला लगाई, बाघको छाला ओढी भष्म घसेर विभिन्न लीला देखाउनु हुन्छ । सृष्टि, स्थिति र प्रलयका कारक श्री विश्वनाथ जगन्नाथजी पार्वतीका आधा अङ्गका रूपमा अतीव मनोहर हुनुहुन्छ । भगवान् शिवले कैयौंपटक दैत्यहरूसँगको युद्धमा परास्त गर्नुभएको र नागगण तथा फलाहारी मुनिवरहरूलाई उत्तम वर दिनुभएको र दक्षको यज्ञलाई भष्म गरी भक्तको कल्याण गर्नुभएको कुरा शिवपुराणमा वर्ण भएको छ । ब्रम्हाण्ड, नदीनाला, जल, स्थल सबै भगवान्ले आˆनो क्रीडास्थलको लागि रचना गर्नुभएको हो ।
परात्पर महाशिव गुणातीत हुनुहुन्छ । रज, तम र सत्व तीनैमा निराकार, साकार, निर्गुण तथा सगुण रूपमा रही जीव र जगत्को कल्याण गर्नुहुन्छ । नीलकण्ठ भगवान्को उपासना, परमलाभका लागि भन्दा पवित्र प्रेम प्राप्तिका लागि गर्नुपर्दछ । सांसारिक लाभ, हानि भन्ने कुरा त प्रारव्धवश भइनै रहने कुरा हो । यसर्थ भक्तले सर्वथा प्रेमभावबाट पार्वतीले जस्तै भगवान् शिवको उपासना गर्नुपर्दछ ।
भागवत् पूजा, ध्यान तथा कीर्तनद्वारा शिवको स्तुति गरिन्छ । शिवको स्तुति विधिवत् गर्ने विधि विधान पनि छ । विधिवत् पूजा आराधना गर्न नसक्नेले शिवनाम जप गर्दा पनि जन्मजन्मान्तरको पाप नाश भई भक्तले पुनर्जन्म लिनु नपर्ने धर्मशास्त्रमा बताइएको छ । ईश्वरलाई अन्र्तदृष्टिबाट हेर्नसकेमात्र दर्शन पाइन्छ । विश्वासका साथ हिंड्दा बस्दा जहाँसुकै जहिले पनि शिवनामको जप गर्नुपर्दछ । यसरी जप गर्नु भनेको आत्मालाई शुद्ध पारी भगवान्को नजिक पुग्नु हो । यस्तो जप गर्ने साधकले देहत्याग गरेपछि सांसारिक बन्धनमा अल्झिनुपर्दैन । आशुतोष भगवान्ले भक्तलाई शिवलोकको द्वार खुला गराई दिनुहुन्छ ।
यहाँ जगत्माता पार्वतीजीले भगवान् शिवसँग सोध्नुभएको प्रसङग उल्लेखनीय छ । एकपटक कैलाशमा पार्वतीले शिवजीसँग सोध्नुभएछ । हजुर कुन उपासनाबाट प्रसन्न हुनुहुन्छ ? शिवजी भन्नुहुन्छ- फाल्गुण कृष्ण चतुर्दशी तिथिमा जतिखेर अन्धकारमय रजनीको राज्य हुन्छ, त्यस रात्रिमा उपवास बसी मेरो आराधना गर्नाले निश्चय नै मलाई सतुष्ट गराउँदछ । यसकारण सदाशिव भगवान्को विशेष पूजा, बन्दना शिवरात्रिको अवसरमा गर्न भक्तहरू अग्रसर भएको पाइन्छ । फागुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटी सूर्य समान देदीप्यमान भएर शिवलिङ्गका रूपमा आभिर्भूत हुनु भएको रात्रि हो । अतएव शिवरात्रि व्रतमा उनै महानिशाव्यापिनी चतुर्दशी तिथिमा भक्तहरू शिव भगवान्को विशेष पूजा आराधना तथा भजन, कीर्तन गरी शिवभक्ति प्रकट गर्दछन् ।
शिवरात्रिको अवसरमा सांयोगिक उपासनाबाट एउटा व्याधा पनि कसरी शिवलोक पुग्नसक्यो भन्ने प्रसङ्ग स्मरणीय भएकाले यहाँ उल्लेख गरिन्छ ।
एउटा व्याधा मृगको सिकार खेल्न एक बिहान जङ्गल गएको थियो । घुम्दा-घुम्दा थकित भएर एउटा वृक्षको छहारीमा त्यो सिकारी सुतेछ र निदाएछ । ब्युँझदा झमक्क साँझ परेकाले घर जाने बाटो ठम्याउन नसकी जङ्गली जनावरको आक्रमणबाट बच्न एउटा रुखमा चढी रात बिताउनथाल्यो । संयोगवश त्यो रात शिवरात्रि परेको रहेछ । त्यस रूखको फेदमा पुरानो शिवलिङ्ग रहेछ र वृक्ष पनि बेलको रहेछ । एकाबिहानै घरबाट केही नखाई गएकाले उपवास बसेको जस्तो हुन गएछ र फागुन महिनाको ओसबाट झरेको शीतको बोझले झरेका बेलपत्रहरू त्यस व्याधाको शरीरमा पर्दै शिव लिङ्गमाथि पर्न गएछन् । आशुतोष भगवान् प्रसन्न भएकाले त्यस व्याधाले शिवलोक प्राप्त गर्यो । अहिले हामी सबैसामु महाशिवरात्रि पर्व आएको छ । यस शिवरात्रिपर्वमा देश, विदेशका लाखौं भक्तजन पशुपतिनाथको दर्शन गर्न आउँछन् । पशुपतिनाथको दर्शन गर्न आएका भक्तजनलाई काठमाडौंमा भएका अन्य देवस्थल तथा काठमाडौं बाहिरका मुक्तिनाथ, जनकपुरधाम, लुम्बिनी, बराहक्षेत्र आदितर्फ जान पनि उत्प्रेरित गर्नु आवश्यक छ । धार्मिक पर्यटनको प्रबर्द्धनबाट मुलुकले ठूलो आर्थिक फड्को मार्नसक्ने भएकाले यसतर्फ बुद्धि पुर्याउन ढिलाइ गर्नुहुँदैन ।
