म कोरिरहेछु मृत्युको आकाश
जड कठोरता छाडेर
सिसाझैँ छर्लंग देख्न सक्ने
ओमकारझैँ निराकार
मेरा सासहरूमा नीला नीला रंग पोतिरहेछु ।
मेरो आकाश, सायद फूल नफुलोस्
मेरो आकाश, सायद धूप नबलोस्
वर्षात भएर नझर्ने
चट्याङ भएर नगर्जने
यस्तो आकाश
जसमा म आफैँ आकाश भएर
सारा छालहरू देख्न सकूँ
सारा हालहरू सुन्न सकूँ
म कोरिरहेछु मृत्युको आकाश ।
यी गोरेटोका हलचलहरू
पारि डाँडामा धिपधिपे दियो बल्यो
भो बा, मलाई गर्मी भयो
आँखाहरू तिर्मिराए
आँत सुकेको प्यासीझैँ
भौँतारिरहेछु हरपल
चहारिरहेछु युग ।
यी भूलहरूमा मूल खोइ ?
रातमा जूनको सपना
बिहानीमा शीतको सपना
तर, सपना देख्न छाडेर
म कोरिरहेछु मृत्युको आकाश ।
लाहाका गुण भिरेर
आशाका बुँदहरू पग्लन्छ
मध्यरातको चीत्कार
एक लासमा खुलेको रोदन
च्यातेर यो पुस्तकका अस्पष्ट पानाहरू
स्पष्ट जिन्दगी निहाल्न सक्ने
खहरेका वेगहरू समेटेर
दु्रत अविरल आकाश कोरिरहेछु,
म कोरिरहेछु मृत्युको आकाश ।
नौलो आकाश, भिन्न आकाश
बिलाइरहेको स्वरूपहरूलाई
तिखारेर, निखारेर
आकाश हुन नसकेका धब्बाहरूलाई
चुँडालेर, पछारेर
उषाका लाली खुल्ने आकाश कोरिरहेछु ।
लहलह बालिका सह खिचेर
मुटुका वह पोखेर
जूनको टिलपिलतामा रुझेर
जडधर्तीलाई शून्यताको सलामी दिँदै
डाँडाको अग्लो सिमलभन्दा माथि
बतासका गीतहरू जोडेर
म कोरिरहेछु मृत्युको आकाश ।
अत्यासका साँझहरू छाडेर
आफैँ आकाशझैँ खुला भएर
सुनसान रातहरूमा
म चुपचाप कोरिरहेछु
मृत्युको आकाश !
– राधाकृष्ण खड्का
नेपाल साप्ताहिक अंक: ६०९
२०७१ भाद्र १
Aug 17, 2014
