उमेरै त्यस्तो थियो, राम्रो भनेपनि नराम्रो बुझ्ने, सही बाटो देखाए पनि गलत देख्ने । यो समस्या नीतिनको मात्र होइन, यो उमेर समूहका सबैको हो । यो कुरा नीतिनकी आमा सावित्रीले पनि बुझेकी थिइन ।
पछिल्लो समयमा नीतिनमा निकै परिवर्तन देखेर आमा चिन्तित थिइन् । केही गरी सत्मार्गमा आउछ कि भनेर अनेक प्रयत्न गर्थिन् । तर छोराको बानीव्यहोरा झन झन बिग्रद्रै गयो ।
माया प्रेमले झन झन बिग्रदै गएको छोराको हालत देखेर सावित्रीलाई निकै रिस उठ्यो ।
‘बाबु ! तलाई मायाले भनेको लाग्दैन हैन’ आमाको रिस शिखर चढ्यो, आँगन बडार्दै गरेको कुच्चोले नै हिर्काइ । ‘कति भन्छु, तिनको संगत नगर, कुलतमा नफस भनेर, तँ झन झन गर्ने’ सावित्रीको रिस मरेको थिएन्, पुनः हिर्काउने प्रयत्न गरिन्, तर छकाएर नीतीन उम्कन सफल भयो ।
नीतीन निकै तनावमा थियो । आमाले गरेको गालिले उसको तनाव झन बढायो । ‘बस्दिन तिम्रो घरमा । साँझ बिहान गाली गर्या छ गर्या छ …’ हिक्क हिक्क आँशु पुच्छदै नीतीन घरबाट निस्क्यो ।
समयसँगै आमाको रिस शान्त हुँदै गयो । रिसाएर गएको छोरा आउला भन्ने आशा लागिरह्यो ।
बाटो हेदाँ हेर्दै दिउँसो बित्यो, घाम डाँडामाथि आइसक्यो तर सावित्रीका नयन नीतिनको बाटोमा नै थिए । मनमा डर अनि छोरा आउने आशा दुवै थिए । ‘जति गाली गरेपनि मैले त्यसरी हान्नु थिएन…’ मनमनै सावित्रीपश्चातापको आगोमा जल्दै थिइन । मनमा अनेक शंका उपशंका आइरहेका थिए । ‘कहाँ गयो, के भयो ? ….’ नीतिनको बाटो हेर्दा हेर्दै अन्धकारमा सबै निदाइसकेका थिए, तर सावित्रीका नयन अँझ उसको बाटो हेर्दै थिए…..
भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर
