बुढो ढाक्रे


एउटा बुढो ढाक्रे,तोक्मा टेक्दै
साहुको भारी बोक्छ l
नाम्लो चेप्टिए झैं उसको पेट,
ढलपल ढलपल जिन्दगी
मानौं उसको पेट,
सारंगीको पेट हो l
कहिल्यै नउक्सिने पेट !

बिचरा ! बुढो मान्छे
गलिसकेको उसको जिन्दगी
साठी वसन्त बितिसक्यो;
वाध्यता छ उसको
मिठो मसिनो खान चाडवाड पर्खिनु पर्ने

तोक्माको आडमा ठिङ्ग उभिन्छ
चौतारीको एक्लो पिपल झैं
एकछिन सुस्केरा हाल्छ, खुइय्य गर्दै बिसाउँछ
भारी उसले बीसाएको हो या भारीले उसलाई
अनि हेर्छ पल्याकपुलुक भोको पेट छाम्दै
आँखा पल्टाउँछ उकालोतिर अनि औँला भाच्न थाल्छ

नजिकै छेउमा एउटा कुकुर हल्लाइरहेछ पुच्छर
केही खान मागे झैं, घुम्छ वरिपरि कुईकुई गर्दै l
अलिक पर जान्छ, भुइंमा मुख जोत्छ
खान्छ अघाउँजी, मान्छेको बिष्टा l

छि: भोको जिन्दगी यो मान्छेको
धिक्कार छ यो मानवलाई
हेर त ! बिचरा मान्छे !!
मान्छे किन कुकुर भएन ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *