Skip to content


तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा !

जब म चढेर भावको डुंगा
सैर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा !

कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति
मृग सावकहरू उफ्री-उफ्री
अरु लतिकाहरू हल्ली-हल्ली
मेरो प्यारो ओखलढुंगा !

ती अविरल परिश्रमी पतकार
द्रुतगामी निर्झर तुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ
मेरो प्यारो ओखलढुंगा !

त्यो ढुङ्गा, त्यो खोला, त्यो रूख
त्यो वन, त्यो लतिका, त्यो चिरसुख
यो हृदयकेन्द्रमा स्नेहजडित
चम्काइरहेछ आज क्षण-क्षण
मेरो प्यारो ओखलढुंगा !

पर्दावाला सुन्दर पल्लवित
वृक्षखोपीमा कालो कोकिल
उनको यो वियोगप्रिय कविको
कति मृदु विरह गीत रच्दो हो
मेरो प्यारो ओखलढुंगा !

त्यो तामाकोसी त्यो सुनकोसी
त्यो गिरी फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा !

भाग्य लहरमा लहरी लहरी
पुगें म यस मरूस्थलमा कसरी
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि !
मेरो प्यारो ओखलढुंगा !

1 thought on “ओखलढुंगा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *