सरगमको सपनामा पैसाको पसल

  • by


चानचुन नब्बे वर्षभयो- मेलवादेवीले झन् पर जान्छु झन् माया लाग्छ सानु रेलैमा… गीत रेकर्ड गराउनु भएको । चन्द्र शमशेरको दरबारमा उनका करिब तीन सय सुसारेहरुमध्ये कुनै एउटीले मेलवादेवीको स्वरको डाहा गरेर स्वर बिग्रने पदार्थ विशेष खुवाइन् । चन्द्र शमशेरले मेलवादेवीलाई धेरै माया गरे भनेर यसो गरिएको रहेछ । स्वतन्त्र मनकी कलाकार मेलवादेवीलाई यस्तो दुष्टता मन परेन । उनले चन्द्र शमशेरको दरबार छोडिन्, बिहे गरिन् र सुन्दर घरबार शुरु गरिन् । लगातार छोरी जन्मेपछि पुत्र मोहमा लालायित उनका पतिले छोरी मात्र पाउने मेलवादेवीलाई घरबाट निकालिदिए । उनी विरक्त भएर छोरीहरु सहित परदेश भासिइन् । रेल चढेर कलकत्तातिर पलायन हुँदा रेलको छकछकसँग मनको मुरलीमा गीत गुञ्जियो- मिर्मिरे झ्यालैमा झन् पर जान्छु झन् माया लाग्छ सानु रेलैमा । यो गीत कलकत्तामा रेकर्ड भयो, यही गीत नै नेपाली जातिमा महिलाको स्वरमा रेकर्ड भएको प्रथम गीत हो ।

पीडाको जीवन बाँचेर वर्तमान र भविष्यलाई सुन्दर इतिहास दिने मेलवादेवीजस्ता सयौँ मेलवादेवीहरु आज पनि समाजमा छन् । जति घर त्यति गायकजस्तो वर्तमानमा मयूरको प्वाँख सिउरेर मयूरजस्तै बन्न खोज्ने कागहरुको बथान छ । पैसा, पद, प्रतिष्ठा र पहुँच नहुनेहरु आज पनि मेलवादेवी जीवन बाँचिरहेका छन् । पैसाको पर्दाले मिडियाको आँखामा मोतिबिन्दु हुनसक्छ, को हेर्छ यो अवस्था सूक्ष्म रुपमा – आफैँ उठ्नु पर्छ सिर्जनाका पीपलहरु चट्टान फोरेर ।

२०४५ सालमा अधिराज्यव्यापी लोकगीत सम्मेलनमा प्रथम भएका जोडी उमा गुरुङ र माया गुरुङको स्वरमा गाउँ शहरमा लमजुङ दरबार रेडियोबाट गुञ्जिरहेको छ । तर बाँकी स्वर लमजुङको पाखा ब्युँझाउँदैछन्, उतैतिर । आज कसले सम्झन्छ तिनलाई ? रेडियो नेपालले ? टीभीहरुले ? क्यासेट कम्पनीहरुले वा लोकगीतको विकासको लागि स्वयम् ठेकेदार घोषितहरुले ? कि वा नेपाल प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले ? पैसा नहुनु, गरीब हुनु वा काठमाडौँ बस्न नसक्नु नै उमा र मायाको दोष हो र ? तिनका प्रतिभाले राष्ट्र उज्यालो हुन सक्तैन ?

दुइतीन वर्षभयो, एउटा होनहार प्रतिभा शिव परियार आधुनिक संगीत सम्मेलनमा प्रथम भएको । वास्तवमा स्वर र गायन शैली पनि प्रथम हुन लायक् नै थियो । प्रथम हुने बित्तिकै उनका झोला भरिए गीतले । सबैले उकासे, एल्बम निकाल्नू ! उनी पनि फुर्फुरिए, एकाध व्यक्तिले सम्झाए र भने, नहतारिए राम्रो हुन्थ्यो ! उनी र्सलाही पुगेर आफ्नो घर बन्धकी राखेर पैसा ल्याएर, गीत रेकर्ड गराए । उनको गायन क्षमता अहिलेको कुनै चर्चित भनिने गायकभन्दा सय गुणा राम्रो छ तर कुनै कम्पनीले पत्याएन उनलाई ।

उदाहरणकै हारमा भुल्न नहुने नाम, कुबेर र्राई । श्री कुबेरजीले यी हरफ पढ्नु भयो भने चित्त दुखाउनु होला, फेरि ममाथि दयाका शब्द झरेछन् भन्नुहोला । क्षमा रहोस् कुबेरजी, तपाइँको चर्चा इतिहास जित्नेहरुका लागि डकुमेन्ट्री बनेपछि फेरि शुरु भयो । जसरी चर्चा भयो, त्यसैगरी सेलायो पनि । तपाइँ इलाममा हार्मोनियम फिट्दै हुनुहोला तर काठमाडौँ तपाइँलाई बिर्सिरहेछ । २०४९ सालको आधुनिक संगीत सम्मेलनमा तपाइँ प्रथम हुँदा तपाइँसँगै प्रतिस्पर्धा गर्नेहरुको काठमाडौँमा सुखसयल छ तर तपाइँको जत्तिकै गौरव गर्न लायक् इतिहास चाहिँ छैन ।

मेलवादेवी पनि लामिछाने थरका इलामे गुरुङकी छोरी हुन् र कुबेर र्राई पनि इलामका । प्रस्तुत टिप्पणीमा उठाइएका यी चार पात्र नेपाली संगीतका दृष्टान्त हुन्, उपमा हुन्, रुपक हुन् र कतिलाई झ्यामझ्यामी मुटुमा हिर्काउने सिस्नु । वर्तमान जित्नेहरुले इतिहास नजित्न पनि सक्छ । इतिहास कुबेरहरुकै हो ।

आज संसारमा सबभन्दा सजिलो काम गायक बन्नु । साधना, र्समर्पण र दर्ीघ सांगीतिक उपासना बिना नै व्यक्ति गायक बन्ने दौडमा छ । गीत संगीत प्रशिक्षण शुरु गर्नुअघि नै एल्बमको तयारीमा जुट्छन् गायकहरु । बिहान गीत संकलन, दिउँसो कम्पोज, साँझ रेकर्डिङ र राति मिडियामा अन्तरवार्ता- ‘यहाँ हुनुहुन्छ लोकप्रिय गायक फलाना !’

हिजोआज आरोप छ- उद्घोषकहरुमाथि, सबै उद्घोषक गीतकार भए रे ! तर बनाए कसले, तिनै गायकले ।

आफ्ना खुट्टा नहुनेहरु बैशाखीको सहारा लिन्छन् । कि आड लाग्छन् भित्तामा कि समात्छन् नजिककालाई । लहरा कि लम्पसार हुन्छ भुइँमा कि भित्तो पक्रेर उठ्छ । तर क्षमतावानहरु आफैँ उभिन्छन् रुख भएर र्सलक्क ।

बोल्दैमा सबै उद्घोषक हुँदैनन् । हरफहरु कोर्दैमा गीत हुँदैनन् । गाउँदैमा घाँटी फुलाएर गायन हुँदैन । इतिहास बनाउने काम त्यति सहज र स्वभाविक पनि छैन । दामको रापले नाम तताउन खोज्नेहरुको भीडबाट असली कलाकार जोगिनु, राम्रा गीत गाउनुभन्दा पनि महत्वपूर्ण कुरा हो ।

पाँच सय क्यासेट नबिक्नेहरु विमोचनमै पाँच लाख खर्च गर्छन् । यो पाँच लाखले पाँँच जना शिव परियार, कुबेर र्राई र उमा, मायाहरुको क्यासेट निकाल्न सकिन्थ्यो । जब यी नामहरुको क्यासेट निस्कन थाल्छ, जब यी नामहरु मिडियामा बज्न थाल्छन्, कलाका पारखीहरुको मन छुनेछ – तर… ।

यहीँनेर प्रश्न उठ्छ- मिडियाको भूमिका के त – यस प्रश्नको जवाफ कुनै दिन टिप्पणी लेखुँला छुट्टै तर आजका उद्घोषक र कलाकारहरु एक अर्कादेखि पीडित छन् । मेरो गीत गाइदेऊन भनेर- कलाकारहरुको दैलो चहार्ने उद्घोषकहरु र गीत बजाइदेऊन भनेर दिनहुँ फोन गर्ने र रेडियो स्टेशन धाउने गायकगायिकाहरुको उपस्थिति बाक्लो छ । भेटमा फूल बर्षाउनेहरु- पछाडि काँडा उध्याउँछन् भन्ने तिनलाई थाहा छैन । यही अविश्वास, शंका र स्वार्थको मोहमा जेलिएको छ- उद्घोषक कलाकारबीचको सम्बन्ध । पैसाको बल्छीमा माछा हुनेहरु बनाउनेहरुभन्दा कम दोषी छैनन् । पैसा हुँदैमा, सम्पन्न हुँदैमा, ठूलो पद प्रतिष्ठा आर्जन गर्दैमा, गीत नलेखून् भन्ने आशय होइन तर ती सबै व्यक्तित्व, वस्तु र विचार विशेष सिर्जनामाथि लादिनु हुन्न भन्ने आग्रह चाहिँ शायद निर्विवाद होला ।

कला र्सार्वभौम हो, कला जीवन र उच्चतम आदर्श पनि हो । कला भनेको आदर्श हो तर आदर्श मात्र होयन व्यवहारमा उत्रनुपर्छ कलाको कलातत्व । भन्न मात्र सजिलो, कला कला होइन ढोंग हो- यथार्थको हिमाल पर म कल्पनाको हिमालको अस्तित्व स्वीकार गर्न सक्तिनँ । फूल, सौर्न्दर्य, सुवास र चहक मात्र जीवन र जीवनको रंग हुनुहुँदैन- किनभने फूलसँग फूल फुलाउने बोट, बोट उभिने माटो, गोडमेल गर्ने माली, हावापानी दिने प्रकृति र फूलको सौर्न्दर्यमाथि पारख गर्ने आँखा, मन र ध्राण शक्ति चाहिन्छ । आजको जीवन कतै फूल हेर्छ, बास्ना हेर्दैन, कतै बास्ना हेर्छ फूल हेर्दैन । के माली हुनु अपराध हो ?

कलाकार आमा हुन्, कलाकार बाबु हुन्, कलाकार माली र प्रकृति हुन्, तर कलाकारको अभिव्यक्तिबाट सिर्जनाबाट, सामर्थ्यबाट र व्यवहारबाट कलाको आदर्शच्यूत भएको छ भने त्यो कलाकार कलाकार नहुन सक्छ नभनिन सक्छ । म त दाबा गर्छु भन्नु हुँदैन, भनिनु हुँदैन ।

शास्वत सत्य माटो हो, शास्वत सत्य देश हो र शास्वत सत्य ‘हुनु’ हो । ‘हुनु’भित्र जीवनको अस्तित्व छ, अस्तित्व भनेको कला ! अरुको आँशुमा कविता र गीत लेख्ने तर आफैँले सयौँलाई रुवाउने फलामे हृदयहरु कलाकार हुन सक्तैनन् । देश धमिलो भएको बेला धेरैले नामको माछा पार्छन् बल्छीमा । नाम लेखाउने रहर हिटलरलाई थियो, लेनिन स्टालिनलाई थियो, माओ, नेपोलियन र अन्यअन्यहरुलाई पनि थियो । आज पनि छ रहिरहनेछ । तर हामीले चर्चा गरेको नाम कलाको बोटमा फूल्ने नामहरुको हो ।

सत्य छ कुनै बादशाह र बादशाहका पृष्ठपोषकहरुको भन्दा एउटा असल कलाकार वा सिर्जनाकर्मीको इतिहास कम हुँदैन । छानिने हिम्मत राख्नुपर्छ भीडबाट । भीडमा अलग्गै चिनिने व्यक्तित्व छैन भने सम्झनुपर्छ- सबै पहेँलो सुन हुँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *