जुन नै आत्मीय लाग्यो तारा मन परेन
छिन मै रिसाउने तिम्रो पारा मन परेन ।।
घरी यसो घरी उसो संकेत दिन छाड बरु
मुखैले बोलाउ तिम्रो इसारा मन परेन ।।
झुठो माया चाहिँदैन धोका दिन पाइँदैन
सारै झिँजो लाग्ने तिम्रो नारा मन परेन ।।
रुप रङ्ग ठिकै हो अनि बोली चाली त्यस्तै तर !
बाहिरै उछिट्टेको तिम्रो दारा मन परेन !
सिधा कुरा गर्नु छैन घुमाउरो बुझ्दिन म
कुरा चपाउने तिम्रो बङ्गारा मन परेन ।।
जुन नै आत्मीय लाग्यो तारा मन परेन
छिन मै रिसाउने तिम्रो पारा मन परेन ।।
पुस्कल पौडेल (—प्रतिक)
