Skip to content


सावित्रीले नवजात शिशुलाई नुहाइधुवाई गरेर तेल मालिस गरी हिउँदको पहारिलो घाममा सुताएर त्रिकुटी राखेर कलिलो अनुहारमा राप छल्न कपडा राखी दिई । एक महिने शिशु चिम्सा आँखा खोल्ने प्रयास गर्दै हात चलाउँदै थियो ।

‘कालु…. नाक त ठ्याक्कै मेरैजस्तो रै’छ ।’ शिशुको नाक सुम्सुम्याउँदै भवनाथले सन्तोषको उद्गार पोख्यो ।

सावित्रीले लोग्नेको मुखमा पुलुक्क हेरेर फिस्स हाँसी अनि मुण्टो फर्काएर ओठ लेप्र्याई । सायद यो लोग्नेको पुरुषत्वमाथि व्यङ्ग्य प्रहार थियो ।

भवनाथ भने बूढेसकालमा बल्लबल्ल सन्तानको मुख देख्न पाएकोमा दङ्ग थियो । जेठीबाट जायजन्म नभएपछि माइली र कान्छी गरी तीनतीन श्रीमती भित्र्याइसकेको थियो तर कान्छी भित्र्याएको दस वर्षसम्म सन्तानको मुख देख्न नपाउँदा निराश भएको भवनाथले तीन बीस उमेर पार गरेपछि बल्ल कान्छीले छोरो पाइदिएर वंश धानी दिएकोमा खुसीले फुरुङ्ग भएको थियो ।

XXX

जेठको टन्टलापुर घाम, पसिनाको धारा चुहाउँदै खेत खन्न व्यस्त बुद्धिलाललाई सावित्रीले खाजा खान गोठको डिलबाट बोलाई । पसिना पुछ्दै दुई कान्लामाथिको गोठको मचानमा बसेर एक अङ्खोरा पानी तन्कायो ।

‘अब खाजा खाने हैन ?’ सावित्रीले घडी हेर्दै सोधी । दिउँसोको तीन बजिसकेछ ।

‘खाने र ……..?’ बुद्धिलालले दोधारे कुरा गर्‍यो ।

सावित्रीले तरकारी र चिउराको थाल अगाडि ल्याएर राखी दिई । बुद्धिलाल सधैँ त्यही घरको काम गर्न जाने हुँदा घरकै सदस्यजस्तै भइसकेको थियो । आलुको चाना मुखमा राख्दै उसले तारिफ गर्‍यो -‘भाउजू जत्ति राम्री हुनुहन्छ, हात पनि त्यत्ति नै मीठो छ । तरकारीको स्वाद त बिर्सनै नसकिने रहेछ ।’

‘उस…. कति फुक्र्याउन जानेको’ सावित्रीले कर्के नजर लगाउँदै भनी ।

यस्तै छेडखानीमिश्रति मीठामीठा गफले खाजा सिद्धिएको पनि उसले पत्तै पाएन । गफ र ठट्टामा सावित्रीको गाला रातो भएको थियो । उसले नजर झुकाएर गोडाका बूढीऔँलाले भुइँ कोट्याइरहेकी थिई ।

यसैबेला सावित्री उठेर भित्र जान लाग्दा अचानक पुक्तुङ्ग लड्न पुगी । बुद्धिलालले हत्तपत्त दुवै हात अँगालोमा उठायो । लाजले झन् रातो हुँदै थररर शरीर कमाई । बुद्धिलाल पनि अकस्मात् यो घटनाको रोमाञ्चले गर्दा सारा शरीर कमाउन थाल्यो । मुख च्याप्प सुकेको अनुभव गर्‍यो । दिलको धड्कन वेगले चलेको महसुस गर्‍यो । कसिलो अँगालोमा कस्सिएकी सावित्री लाजवन्ती झारझैँ लल्याक्कलुलुक्क भई । दुवै जना एकाकार भए । निमेषभरमै हुने हुनामी भएर सकियो ।

धेरै पहिलेदेखि नै एकअर्कोप्रति आकषिर्त नभएका होइनन् तर परिस्थिति र मौका अनुकूल परिरहेको थिएन । समय र घटनाक्रमले गर्दा त्यो दिन अचानक अनुकूल परिस्थिति सिर्जना भएको थियो ।

त्यसपछि बुद्धिलाल आफ्नै काममा खेततिर लाग्यो । सावित्री भने आफ्नै कल्पनामा डुब्न थाली ।

बीस वर्षे चढ्दो उमेरमा कान्छीको रूपमा भित्रिएकी पनि ठ्याक्कै दस वर्ष भइसकेछ । धेरै छोरी र कमजोर आर्थिक अवस्थाका कारण आमाबाबुले गतिलो घर केटो खोज्न नसकेर मावलीको करबलमा आफूभन्दा दोब्बर उमेर र दुईदुई वटी सौताको हूलमा जाकिन आइपुगेकी थिई ।

विवाह गरेर ल्याएकी जेठी सौताको उमेर झण्डै लोग्नेकै हाराहारमा पुगिसकेको थियो । जेठीबाट लामो समयसम्म पनि सन्तान नभएपछि माइली भित्र्याएको रहेछ । सन्तान नपाएरै ऊ पनि चालीस नाघिसकेपछि अर्कैसँग हिँडिछ ।

नारीको लागि सम्पत्ति र सिन्दूरले मात्र नहुँदोरहेछ । भविष्यको सहारा सन्तान अनिवार्य हुँदोरहेछ । कोख बाँझो भएको कुनै पनि नारीले सहन सक्दिरहिनछ । सन्तानलाई ममत्व दिन नसके नारीको जीवनको सारै हुँदैन रहेछ ।

‘जे होस्, मलाई वंश चाहिन्छ ।’ उसले सोची -‘राम्रो गरेँ कि नराम्रो गरेँ, त्यो त मलाई थाहा छैन तर यत्तिका वर्षसम्म पर्खंदा पनि केही नभएपछि अब पनि नामर्द लोग्नेकै भर परेर जिन्दगी बर्बाद गर्न सक्तिनँ म ।’

XXX

साँझ परेपछि त्यो दिनको काम सकेर बेलुका दुवै जना घरतिर लागेका थिए ।

शनिबारको दिन भएकोले त्यो दिन भवनाथ घरमै थियो । नवजात शिशुको छेउमा बसेर उसले घण्टौं बितायो । शिशु पनि पहारिलो घामको तातोले भुसुक्कै निदाइसकेको थियो ।

विवाह गरेको दस वर्षपछि मात्र कान्छीले छोरो पाएकोमा ऊ पनि सशङ्कित नभएको त कहाँ हो र ? तर परिस्थितिले उसको मुखमा बुझो लागेको छ । जानाजान उसले अर्काकी छोरी विवाह गरेर तीनतीन वटीको जीवनमा आगो सल्काएको थियो । यो हिसाबले ऊ ठूलो अपराधी हो ।

दुवै श्रीमतीबाट सन्तान नभएपछि उसले डाक्टरी परीक्षण गरेको थियो तर डाक्टरको रिपोर्टमा आफ्नै शुक्रकिट कमजोर भएको देखाएपछि त्यो कुरा उसले गोप्य राखेको थियो । आफूबाट सन्तान नहुने थाहा पाएपछि ऊ रातोदिन पिरोलिन्थ्यो । कुनै बेला त छटपटीले निदाउन नसकेर छर्लङ्ग रात कटाउँथ्यो । दाजुभाइहरूसँग उसको राम्रै मेलमिलाप थियो । भाइभतिजाहरूले पनि आदर नै गर्ने गर्थे तर कुनै बेला दाइको सम्पत्ति पनि हात लगाउने कुरा भाइहरूले अरूसँग गर्दा रहेछन् । सो कुरा कानमा पर्दा ऊ डाह र छटपटीले भुतुक्क हुने गथ्र्यो ।

बितेका कुरा सम्झेर भवनाथको निधारमा पसिना आयो । पसिना पुछेर शिरको टोपी मिलाउँदै उसले पुनः निदाएको शिशुको मुखमा क्वारक्वारती हेर्‍यो । सन्तोषको लामो श्वास फेरेर मुसुक्क हाँस्यो -‘जेसुकै होस्, अब भने आफ्नो सम्पत्तिको रक्षा हुने भो । यसलाई आफ्नो क्षमता र बुद्धिले भ्याएसम्म लालनपालन गरी उचित शिक्षादीक्षा दिएर हुर्काउनेछु ।’

सावित्रीले अगाडि चियाको गिलास राख्दै भनी -‘लु चिया’ आफ्नै धुनमा मस्त रहेको भवनाथ सावित्रीको बोली सुनेर झसङ्ग भयो । अनि लजाएझैँ गरेर श्रीमतीको अनुहारमा हेरेर फिस्स हाँस्यो । ऊ पनि मुसुक्क मुस्काई ।

-सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *