Skip to content

नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू

  • by


विश्वसामु हाम्रो देश नेपाल र हामी नेपाली भनेर गर्व गर्ने आधारहरूमा माटो र भूगोल मात्र नभई हाम्रा भाषा, साहित्य, कला र संस्कृतिहरू पनि उत्तिकै बलिया आधारस्तम्भका रुपमा रहेका छन् । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा आˆनै मौलिक पहिचानका पर्व, परम्परा र संस्कृतिहरूका विशेषताहरूले परिपूर्ण छौँ हामी । धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुतामा बाँधिएको हाम्रो आˆनोपन नै हाम्रो राष्ट्रिय गौरव हो । मानवीय सभ्यताको विकाससँगसँगै जोडिएर आएका मौलिक परम्पराहरूमा अटुट आस्था, विश्वास र नैतिकता कायम रहिरहेसम्म राष्ट्रमा कुनै किसिमका हिंसा र अराजकताले प्रवेश पाउँदैनन् । विश्वमा भड्किएका जातीय दङ्गा र धार्मिक विवादहरूले पनि हामीलाई पाठ सिकाएका छन् र हामी सामाजिक सद्भाव कायम राख्ने मामिलामा ज्यादै सचेत छौँ ।

हाम्रो आˆनोपनको पहिचान बोकेका धर्म, संस्कृति र पर्व-परम्पराहरूलाई मान्ने सम्बन्धमा पनि हामी उत्तिकै स्वतन्त्र छौँ । आ-आˆनो धर्म र परम्पराअनुसार मान्दै आएका पर्व र पुजिँदै आएका आस्थाहरूमा कतैबाट पनि आँच पुर्‍याउनु हुँदैन भन्ने सार्वजनिक मान्यता बन्नुपर्दछ । राष्ट्रनिर्माणका लागि राष्ट्रिय पहिचानका आधारहरूलाई संरक्षण गर्दै अगाडि बढ्न सकिएमा ‘नयाँ नेपाल’ निर्माणको नारालाई सार्थक बनाउनेतिर अग्रसर हुन सकिन्छ । राजनीतिक द्वन्द्वका कारण केही असजिला परिस्थितिहरू र शालिक, मन्दिर तोडफोडका घटनाहरू यदाकदा घटेका भए पनि त्यसको दूरगामी प्रभाव रहनेगरी क्षति नपुग्नुले मौलिक पहिचानमा असर परेको छैन । यसलाई बँचाइराख्न सक्नु नै हाम्रो ठूलो दायित्व र जिम्मेवारी पनि हो । यसपटकको विचारमञ्चमा हाम्रा यिनै धार्मिक सांस्कृतिक परम्पराहरू र ‘नयाँ नेपाल’ निर्माणको नाराका सम्बन्धमा वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग र विष्णु प्रभातसँग गरिएका कुराकानीहरू प्रस्तुत गरिएको छ-

Y धर्म, संस्कृति र परम्पराहरूलाई राष्ट्रनिर्माणका लागि के कस्ता आधारहरू मान्न सकिन्छ ?

Sतेजेश्वरबाबु ग्वंग- राष्ट्र भनेको माटो र भूगोल मात्र होइन, पुरानो परम्परा र इतिहास पनि हो । इतिहासका तथ्यहरू, दर्शन र मान्यताहरू परम्पराबाटै आएका हुन् । ढुङ्गेयुगले नै हामीलाई विज्ञान सिकाएको हो । घरको छाना पानी तर्काउने गरी बनाउने प्रचलनमा पनि तर्क र अर्थ छ । साहित्य र विज्ञानको भाषामा अन्तर हुन्छ, अभिव्यक्ति कला फरक हुन्छ, व्याख्या फरक हुन्छ तर तथ्य त एउटै हुन्छ । हाम्रो धर्म पूजा-आराधनामा मात्र सीमित छैन । यसको आस्था, विचार, दर्शन र विज्ञान पनि हेर्नुपर्छ । मूर्तिपूजा भित्रको चिन्तन पनि गहिरो छ । हरेक इन्दि्रयको आ-आˆनो धर्म र कर्म छ । मान्छेले नै संस्कृतिको निर्माण गरेको हो र जीवन पनि यही हो । अर्थात् विवेक, विचार र चिन्तनको विश्लेषण गरेका कुरा संस्कृति हुन् । हरेक मानवीय क्रियाकलाप यसैमा केन्दि्रत छन्, जीवनचर्या नै यही हो । संस्कृतिको निर्माण आˆनो परिवेश र वातावरण अनुसार हुन्छ । शरीर विज्ञानमा आधारित छन् धर्म-संस्कृति । चाल्स डार्विनको विकासवाद पनि यही हो । ‘प्रभु’ शब्दलाई अपव्याख्या गरिएर मात्र हामी पछि परेका हौँ । धर्म-संस्कृतिका कुरालाई शिक्षा पद्धतिमा ढाल्नुपर्छ । यसो गर्न सकियो भने राष्ट्र निर्माणका लागि धर्म, संस्कृति र परम्पराहरू बलिया आधार बन्न सक्दछन् ।

Sविष्णु प्रभात- यी तीन अलगअलग विषयहरू भए पनि संस्कृति भित्रको विश्वासमा धर्म र विश्वासका अभिव्यक्तिहरूका रुपमा धर्म रहेको हुन्छ । यसमा पनि विविधता छ । विश्वास गर्नेहरू र नगर्नेहरू पनि छन् । यिनैलाई हो आस्तिक र नास्तिक भनिएको । विश्वासमा जोडेर धेरै वाद-धाराहरू जन्मिएका छन् भने भौतिकवादी धारा भनेर नास्तिकवाद पनि जन्मियो । मान्छे कल्पनाशील भएकाले धेरै कुराहरू सोच्दछ । भ्रममा आधारित यथार्थ नभएका कुराहरू पनि उसको कल्पनाले जन्मिन्छन् । धर्म निजी विश्वास र प्रथाको रुपमा रहेको छ । धेरैले यसलाई माननीय, नैतिकता र करुणामा गाँसेका छन् । मान्छेले मान्छेको तहबाट सोचेका र चलाइएका परम्पराहरू धर्मसँग सम्बन्धित छन् । पछिल्लो समयमा आएर यसलाई विज्ञानले अर्को रुपले हेरेको पनि छ । धार्मिक प्रचारजस्तै वैज्ञानिक प्रचार पनि हुने हो भने त्यसले यथार्थवादलाई बढवा दिन्छ । संसारको एउटै धर्म हुनुपर्छ भन्नेहरू पनि छन् । अर्काथरी परम्परा मान्नेहरू र निरपेक्षरुपमा राज्यले रहनुपर्छ भन्नेहरू पनि छन् । वेदना र पीडाका कहराई नै धर्म हो भनेर माक्र्सले भनेका छन् । यसर्थमा असहायको सहारा मानिएको छ धर्मलाई ।

धारणा विविधखालका हुन्छन् र ज्यादाजस्तो परम्परा, रीतिस्थितिमा आधारित छन् । धर्म-अन्ध विश्वास, धर्म-दर्शन र धर्म-निजी विश्वासलाई छुट्याएर हेर्नुपर्छ । माने धर्म, नमाने अधर्म वा कर्म । अर्थात् निजी विश्वास । सांस्कृतिक परम्पराको रुपमा हेर्दा पक्ष-विपक्ष दुवै छन् । आस्तिक र नास्तिक दुवै अस्तित्वमा छन् । देवजुनीमा पनि मानवको कल्याण गर्न देवताले तलै आउनुपरेको देखिन्छ । संस्कृतिभित्र चलेका परम्पराहरूलाई धर्मका रुपमा मानेका छौँ र यस्ता कुराहरू राष्ट्र निर्माणका लागि आधार बन्दछन् कि बन्दैनन् भन्ने सम्बन्धमा धेरै अलमलहरू छन् । राष्ट्रको उपस्थिति अन्तरजातीय एकत्वमा हुन्छ । जाति-प्रजातिहरूको एकत्व भूगोलको आधारमा मात्र नभएर धेरै आधारमा भएका छन् । भावनात्मक एकत्व मूल आधार हो । जुनसुकै विश्वासमा अडेका भए पनि सबैमा समानताको पक्ष खोजेर अघि बढ्नुपर्छ । जातीय विखण्डनका आधारहरू खोज्नु हुँदैन । सबै धर्मको एउटा मूल एजेण्डा बनाएर समानताका पक्षहरू खोजेर मानवताको एकत्वमा अघि बढ्न सके राष्ट्रनिर्माणका लागि आधार बन्न सक्दछ ।

Y देशका सांस्कृतिक पर्व-परम्पराहरू समय-परिवेश अनुसार बदल्न मिल्छ कि मिल्दैन ?

S तेजेश्वरबाबु ग्वंग- हामी जन्मदा जुन रुपमा थियौँ, पछिसम्म त्यो अवस्थामा रहँदैनौँ । भर्खर जन्मेको बच्चाको एकएक महिनाको फोटो हेर्दा र पहिलेको र अहिलेको मात्र फोटो झट्ट हेर्दा त्यो उही मान्छे हो भनेर चिनिन्न । तसर्थ पुरानोलाई आधार मान्नुपर्छ । हाम्रा धर्म-संस्कृति, पर्व-परम्पराहरू पनि त्यस्तै आधार हुन् । यस्ता कुराहरू स्वाभाविक र शाश्वत हुन्छन् । वैज्ञानिक आधारहरू खोज्दै समय अनुसार व्याख्या र विश्लेषण गर्नुपर्छ । परिवर्तन भन्ने कुरा एकैचोटि हुने होइन, क्रमशः हुन्छ । आफैँ हुँदै जान्छ । हाम्रो व्यवहार पनि संस्कृति नै हो । परिवर्तनको क्रम स्वयं जारी रहन्छ र टुट्न सक्दैन ।

S विष्णु प्रभात- बदल्न नमिल्ने भन्ने प्रश्नै उठ्दैन । हिन्दूहरूले दैनिक पूजा गर्ने पाञ्चायन पूजामा पहिला ब्रहृमालाई राखेका थिए । पछि ब्रहृमालाई कटाएर देवीको पूजा गर्न थालियो । देवीका विविध रुप स्वीकारिए । शिवका पनि भिन्नभिन्न समयमा भिन्नभिन्न रुप स्वीकारिएको छ । आर्य र अनार्यहरूले आ-आˆनै प्रकारका रुप मानेका छन् । शिव दुवैका देवता मानिएका छन् । किरातेश्वर र अर्धनारेश्वरजस्ता रुप पनि शिवका मानिएका छन् । देवता र राक्षसका कुराहरूमा पनि पुनव्र्याख्या आवश्यक छ । दसैँका पक्षहरू र विश्वासका मिथकहरूलाई शारदीय पर्वका रुपमा नवीकरण गर्न पनि सकिएला । धर्म, संस्कृति र पर्वका भावनात्मक एवं सांस्कृतिक पक्षहरू केलाएर बदल्न सकिन्छ तर त्यसै हचुवामा बदल्न मिल्दैन । इतिहासमा जोडिएका सांस्कृतिक परम्पराहरूलाई असजिलो पार्न पनि हुँदैन । पाल्पामा भगवतीको रथयात्रा हुन्छ । त्यसको पछाडि शक्तिको आराधनामा मात्र नभएर अङ्ग्रेजसँगको युद्धमा अमरसिंह र उजिरसिंह थााहरूले विजय प्राप्त गरी उक्त जात्रा चलाएका हुन् । यसमा विस्तारवाद र साम्राज्यवादको विरोधको गाथा पनि छ । यस्ता कुराहरूको खोजी गरेर राष्ट्रभक्तिको पक्षलाई जगाइराख्नुपर्छ । उपयुक्त विकल्प नदिई त्यसै आलोचना गरेर मात्र पनि हुँँदैन । वैज्ञानिकपक्ष, विश्लेषण र जनचाहना आदि सबै पक्षलाई हेरेर समय र समाजको विकाससँगै सुधार गर्न सकिन्छ ।

Y देशको धर्म-संस्कृतिलाई अवमूल्यन गरिएमा त्यसले अन्तर्राष्ट्रियस्तरमा देशको छविलाई के कस्तो प्रभाव पार्ला ?

Sतेजेश्वरबाबु ग्वंग- पछिल्लो समयमा आएर मूर्ति, मन्दिर, शालिक भत्काउने, तोडफोड गर्ने जस्ता निन्दनीय कार्यहरू भए । यस्ता सम्पत्तिहरू भत्काउनु भनेको इतिहास मास्नु हो । नेपाल अधिराज्यभर यस्ता सम्पदाहरू छन् । यस्ता सामग्रीहरू हाम्रो इतिहासका पहिचान हुन् । जुनसुकै देशका लागि पनि पर्यटन व्यवसायको आधार नै यिनै सम्पदाहरू हुन् । राजनीतिक परिवर्तनको समयमा यस्ता तोडफोडका कामहरू अज्ञानतावश हुन्छन् । वि.सं. २००७ सालको परिवर्तनपछि सिंहदरबार हेर्न जानेहरूले त्यहाँ तोडफोड गरेका थिए । म त भन्छु- मोहनशमशेरको खोपी पनि हाम्रो सम्पत्ति र इतिहास हो । जङ्गबहादुर र चन्द्रशमशेर अथवा महेन्द्रका शालिक पनि इतिहासका आधार हुन् । पुस्तागत पहिचानको लागि पनि जोगाउनुपर्छ । तालिवानहरूले अफगानिस्तानमा गरेको ध्वंशले उनीहरूलाई नै मास्यो । यस्तो गर्दा हाम्रै अहित हुन्छ भन्ने संचेतना जागृत हुनुपर्छ ।

Sविष्णु प्रभात- सांस्कृतिक मूल्य र मान्यताहरूलाई अवमूल्यन गर्नै हुँदैन । हामीकहाँ रहेका जातीय एकत्व र बहुजातीय सम्मिलनका पक्षहरूलाई राष्ट्रिय एकताका आधारहरू मान्नुपर्छ । संस्कृतिका सबै विधि र प्रथाहरूलाई उचित-अनुचित के छ भनेर नछुट्याई त्यसै विध्वंश गर्नु हुँदैन । सांस्कृतिक रुपान्तरण गर्ने भनेर भए जति सबै भत्काउन थाल्ने हो भने त्यसले कुनै पनि कुरालाई रहनदिँदैन । अन्धविश्वास र आध्यात्मिक कुराहरू भनेर हाम्रा सम्पदाहरू भत्काउने हो भने कला र संस्कृतिको नामेट हुन्छ । हाम्रो चिनारी हराउँछ । तिनमा रहेको सांस्कृतिक पक्ष र विश्वास मार्छु भनेर मार्न सकिँदैन । नैतिकता, दया र करुणाका कुराहरूलाई मानव समाजका तत्वहरू हुन्, मानवले नै प्रचलनमा ल्याएका हुन् र अपरिहार्य छन् भन्नेतर्फ सबैले ध्यान दिन जरुरी छ ।

Y नयाँ नेपाल निर्माण अभियानको नारालाई पुराना परम्परा र संस्कृतिहरूले कुन हदसम्मको असजिलो वा सजिलो परिस्थिति सिर्जना गरिदेलान् ?

Sतेजेश्वरबाबु ग्वंग- पुराना परम्पराहरूलाई नयाँ ढङ्गले अघि बढाउन सकिन्छ । पुरातन् परम्परावादी भइरहनलाई त समयले पनि दिँदैन । एकैचोटि नयाँमा प्रवेश गर्छु भनेर क्रमलाई टुटाउन सकिन्न, क्रमशः परिमार्जन गर्दै अघि बढ्नुपर्छ । साधना निरन्तरको हुन्छ । चिन्तन र व्यवहार एकैखालको हुनुपर्छ । आफूले आफैँलाई हानी पुर्‍याउनेखालका काम कुराहरू गर्नुहुँदैन । नेपाल संवत्को प्रचलनलाई चन्द्रशमशेरले टुटाएका थिए, यो सरकारले मान्यता दिएर राम्रो काम गर्‍यो । संवत् सम्पदालाई जोडेर सरकारले आमनेपालीको लागि राम्रो काम गरेको मान्नुपर्छ । यस्ता कामहरूले असजिलो पर्ने त कुनै कारणै देखिँदैन ।

S विष्णु प्रभात- काम गर्न जान्यो भने सजिलो र सहायक हुन्छ, जानेन भने लथालिङ्ग पार्छ । जो जसका भए पनि मूर्ति-शालिक भत्काउने काम गलत हो । भौतिक सम्पत्तिलाई जगेर्ना गर्नुपर्छ । सडकको बीचमा राखिएका मन्दिर र शालिकहरू अमिल्दो ठाउँमा, विकासको सम्भावनामा बाधक भएमा स्थानान्तरण गर्न सकिन्छ । समयले सार्वजनिक स्थानमा नस्वीकार्ने खालकै छन् भने सङ्ग्रहालयमा राख्न सकिन्छ । इतिहासमा सबैलाई सामन्त मान्न मिल्दैन । पृथ्वीनारायणलाई अहिले त्यसरुपमा हेर्नेहरू छन् तर युद्धबिनाको एकीकरण सम्भव छैन । एकीकरणलाई त्यसरुपमा हेर्न मिल्दैन । नेपाल राष्ट्रनिर्माणको काम उनले एक्लो प्रयासमा गरेका होइनन् ,त्यसबेलाको जातीय एकत्वबाट भएको हो । देवकोटा, भानुभक्तका शालिक ढालेर नयाँ निर्माणमा चाहिँ कसका बनाउने ? एउटा शासनसत्ता गएपछि अर्को शासनसत्तामा जाँदैमा पुरानाहरूको ध्वंशतिर लागियो भने त्यो अधोगतिको बाटो समातेको हो ।

www

मानव विकास र युग निर्माणका आधार भनेकै मौलिक परम्परा, धर्म, संस्कृति र एकत्वका निधिहरू हुन् । हामीले गौरव गर्ने सम्पत्ति भनेकै हाम्रो इतिहास हो, संस्कृति हो र हाम्रो आˆनोपन हो । लिच्छविकाल र मल्लकालमा बनेका मठ-मन्दिरहरूको जगेर्ना नगर्ने हो भने हामीसँग हाम्रो सम्पदा भनेर गौरव गर्न लायक त्यस्तो बस्तु के रहला राणा शासनकाललाई राजनीतिक रुपमा जति नै गाली गरे पनि त्यस समयमा बनेका भवनहरू, दरबारहरू हाम्रा अमूल्य निर्माण हुन् । राजनीतिक व्यवस्था बदलिन्छ, समय बदलिन्छ तर एउटा पुस्ताबाट अर्को पुस्तालाई दिने भनेको परम्परा, संस्कृति र भौतिक निर्माणका सामग्रीहरू नै हुन् । निर्माण भएका यावत् सामग्रीहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन् भन्ने भावना हरेकमा जाग्नुपर्छ, चाहे त्यो शालिक होस् वा मन्दिर । नयाँ नेपालको निर्माण भनेको पुरानोजति सबै नासेर शून्यबाट थालनी गर्ने भन्ने कदापि होइन । भएकाहरूको संरक्षण गर्दै हरेक क्षेत्रमा नयाँ निर्माण गर्ने र समृद्ध देश बनाउने भन्ने हो । कोही कसैलाई पनि भ्रमपूर्ण अर्थ नलागोस् भन्नेतर्फ सबैले सजग हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *