हे देबी कुन नाउँ हो घर कहाँ¸ छोरी तिमी कस्की हौ ।
एक्लै छ्यौ किन रे बसन्ति वनमा¸ सङ्कोच् केही मान्दिनौ ।।
बल्दै सुन्दर रुपले धपधपी¸ कस्लाइ पर्खी बस्यौ।
तिम्रो त्यो अति भाग्यवान कुन हो¸ कस्को प्रतिक्षा गर्यौ ।।
बासन्ती वनमा सुगन्ध छरने¸ गोदावरी फूल झैँ ।
पूर्णेको जुन झैँ धपक्क अनुहार् ¸ज्यू तिम्रो उर्वशी झैँ ।।
फूल्झैँ नीलकमल् तलाउ बिचमा¸ सेता कमल माझमा ।
झल्मल् झल्मल दीपझैँ गगनको¸ माझ्मा कुनै साँझमा ।।
हुन्थे रे तिमिझैँ ति इन्द्रपुरीका¸ तीलोत्तमा उर्वशी ।
सुन्थेँ धर्मकथा पुराणहरुमा¸ रम्भा सची षोडशी ।।
विश्वास् हुन्न मलाई देख्दछु तिमी¸ जस्ती यहाँ सुन्दरी ।
स्वप्नै हो की यथार्थ हो भन प्रिये¸ देख्दैछु यो के गरी ।।
बोली सुन्नु कति मिठास छ अहा¸ गीतार झङ्कार झैँ ।
झर्नाको कलकल् बिणा र मुरली¸ सारङ्गिको धून झैँ ।।
बोल्दाको मधुरस् ति पक्षि वनचर् ¸चुप्चाप चोर्छन् अरे ।
नक्कल गर्छ बतासले पनि अहा¸ संगीतका स्वर रे ।।
मस्ती ईन्द्रेणीमा फुरुङ्ग त्यो मयुर् ¸रोकिन्छ कि दङ्ग भै ।
हिड्दा निस्कने चाल ति पयरका¸ सिक्दो छ कि मख्ख भै ।।
मैना ढुक्कुर गौथली र परेवा¸ आफ्ना बचेरा भुली ।
चोर्छन यौवनका सुरम्य क्षण ति¸ आनन्द मनमा लिई ।।
कालो केश घना छ मेघ सरीको¸ उस्माथी चम्पा फुल ।
झिम्झिम् झिम्कनु ति परेलि तिरमा¸ काजल् नयन् चन्चल ।।
स्याउ झै रसिला गुलावि रङ्गका¸ गाला अनी ओठ ति ।
छैनन् शव्द मिठा शोभामय तिमी¸ वर्णन गरुँ मै कति ।।
तिम्रो त्यो भरपुर् नसालु मदले¸ उन्मत्त रुप् यौवन ।
सुन्दर् मोहनि लट्ठ पार्छ क्षेणमै¸ युवाहरुको मन ।।
उस्माथी कुचको उभार अति नै¸ चल्ने मधुर् स्वासमा ।
कस्तो रुप अहो म बाँचु कसरी¸ बिना तिमी साथमा ।।
आँखा तिर्मिर हुन्छ दुख्छ मुटु नै¸ चस्सक्क मीठो गरी ।
खुट्टाले भर छाड्छ हातहरु यी¸ तानिन्छन् तिमी तिरै ।।
सारै नै मन यो विरक्त हुन गो¸ गाह्रो भयो थामिनै ।
आउ बाँधिन की यि बाहु बिचमा¸ की ल्यौ न यो प्राण नै ।।
