Skip to content


भोक भनेको आखिर भोकै हो
भोकाएकालाई खाना चाहिन्छ
अन्नको दाना चाहिन्छ
कसैलाई एकै मुठीले हुँदो हो
कसैलाई चार माना चहिन्छ ।

भेटेका कुरा खानलाई मुख बाउनुपर्छ ।
मर्याङ मर्याङ चबाउनुपर्छ
भन्छन् अघाउँजी खान पाउनुपर्छ ।
म ता काल हुँ, निरन्तरको भोकले तिल्मिलाएको छु
तिम्रो जस्तो न ग्यास्टिकले सताएको छु
न गानु गोलाको रोगले तताएको छु
अनादिदेखि अनन्तसम्म जे पायो त्यही खाएको छु ।
मलाई भोकका पीडाले उब्जिएको
अमिलो ग्यास्टिकले सताउँदैन
ढ्याउ ढ्याउ डकार पनि आउँदैन
भोकले आत्तिएपछि बरु घाँसै खान बाघ धाउला
भोकाएर पनि काल भोजनका लागि कतै घाउँदैन ।

मलाई खानाका लागि अनिकाल पनि परेको छैन
रोजी र छाडी गर्नु पनि परेको छैन
तिम्रो जस्तो मुख बार्नु पनि परेको छैन
खाना पघितो भएर डकार्नुु पनि परेको छैन ।

तैपनि डम्म अघाएर न एक पटक राम्रोसँग उघ्राएको छु
न पेट डम्म हुने गरी खाना नै पाएको छु
यो सारा सृष्टि नै खप्लक्कै खाएर पनि
सधैं सधैं भोकाएको छु
अगस्तिको जस्तो ठाडो खाँटी लाएको छु
सुरसाको जस्तो मुख बाएको छु
आँ…………..

ए लेखनाथ !
मलाई भाका भुल दया क्षमा र ममतासँग
कुनै अर्थ छैन, कुनै मत्लब छैन
तिमी नै सन्तोकी हुने गर
मलाई असन्तोकै भए पुग्छ ।
मैले सन्तोकमा बाँच्ने गरेकै छैन ।
इन्द्रको के कुरा गर्छाै ए लेखनाथ ?
इन्द्रेका बाबु चन्द्रे नै मेरा पाउमा परेर बिन्ती गरे पनि
उसको बिन्ती मैले मान्नु परेको छैन ।
भोकाएकोलाई मिठो र नमिठोको के अर्थ ?
मैले मेरो खान्कीलाई थुप्रोमा उधिनी छान्नुसँग के अर्थ ?
मेरो खान्की हो, मैले मेरो खान्कीलाई छान्नु पनि परेको छैन ।
दुरुस्तसँग खाता जाँच्ने काम तिम्रो होला
मलाई खाता जाँचेर हान्नु पनि परेको छैन
मैले त जेजे पाएको छु खम्ल्याङ खुम्लुङ खाएको छु
तैपनि न एक पटक राम्रोसँग उघ्राएको छु
न पेट डम्म हुने गरि खाना नै पाएको छु
यो सारा सृष्टि नै खप्लक्कै खाएर पनि
अगस्तिकोे जस्तो ठाडो खाँटी लाएको छु
सधैं सधैं भोकाएको छु
सुरसाको जस्तो मुख बाएको छु
आँ…………..

ए लेखनाथ !
तिम्रा लागि राजा र रंक बेग्लै होलान्
मेरा लागि सबै एकै समान छन्
राजा होस् कि रंक होस्
भोक लागेपछि सरासर आउँछु
टपक्क टिप्छु, खप्लक्क खान्छु ।
कसका बाबुको ख्याम्ता मलाई टार्ने ?
कसका पिताम मेरो झ्याँको झार्ने ?
कसका गोलीगठ्ठाले मलाई लघार्ने ?
कसले पौैंठेजोरीमा मलाई पछार्ने ?
कसले मेरो सेखी झार्ने ?
मलाई त्रासको के अर्थ ?
यो सारा सृष्टि नै खप्लक्कै खाएको छु
अगस्तिको जस्तो ठाडो खाँटी लाएको छु
सधैं सधैं भोकाएको छु
सुरसाको जस्तो मुख बाएको छु
आँ…………..

ए लेखनाथ !
किन मेरो महिमा गाएको व्यर्थ ?
म आँसुका दहमा नुहाऊँ कि चिसो पानीमा नुहाऊँ
तिमीलाई त्यसको के अर्थ ?
लौ भैगयो, तिमी नै मलमलको शैयामा सुत
मलाई ता सुख्खा अस्थिपञ्जरमा सुत्ने बानी छ
तिमी अत्तर छर आफ्ना जिउभरि
मलाई मसानकै भस्म र खरानी छ ।
तिमी झ्याम्लेकै गीत सुन्दै गर
मलाई हाहाकार र पीडाका गीतमै रामकहानी छ
मैले ता अनादिकालदेखि नै यही यश कमाएको छु
सधैं भोकको पीडामा रमाएको छु
यो सारा सृष्टि नै खप्लक्कै खाएको छु
अगस्तिको जस्तो ठाडो खाँटी लाएको छु
सधैं सधैं भोकाएको छु
सुरसाको जस्तो मुख बाएको छु
आँ…………..

पाचनशक्ति कमजोर हुने ए लेखनाथहरुहो !
खाद्यवस्तु तिमीहरु मर्याङ मर्याङ चपाएर खाऊ
मलाई चपाई चपाई धुलो पारेर निल्नुको के अर्थ ?
मैले ता आफ्नो आहार
सुलुत्तै निल्ने गरेको छु
चपाई चपाई खान थालें भने
भोकको चपेटामा पर्ने गरेको छु ।
कल्पकल्प सम्म खाएर मलाई अघायो भनी नठान
जे निलेको छु त्यही उघेलेको छु ।
अनादिकालदेखि अनन्तकालसम्मको
यो सारा सृष्टि खप्लक्कै खाएको छु
तैपनि न एक पटक राम्रोसँग उघ्राएको छु
न पेट डम्म हुने गरी खाना नै पाएको छु
यो सारा सृष्टि नै खप्लक्कै खाएर पनि
अगस्तिको जस्तो ठाडो खाँटी लाएको छु
सधैं सधैं भोकाएको छु
सुरसाको जस्तो मुख बाएको छु
आँ…………..
लेखनाथकाे कालमहिमाकाे उत्तर ।

2015-05-19 12:31:48 +0100

Leave a Reply

Your email address will not be published. Required fields are marked *