Skip to content


पुरान नलगाई दिई नहुने अठोटमा पुगे भण्डारीजी ।

सँगैको छिमेकीले पुरान लगाएपछि कहलिएका पण्डित र उनका मण्डलीहरुले सजधज पारिएको पुरान लगाएर टोलै हल्लाएपछि भण्डारीको घरमा पनि उनकी बाहुनीले कचकच गर्न थालेकी थिइन् । कचकच बढेर गएको थियो ।

“उसले धेरै पाप गरेको छ अनि लायो नि पुरान र सुरान ।” भनिदिन्थे अस्तिसम्म ता । तर अब ता यसो पनि भन्न छाडेका थिए । धेरै कचकच भएपछि उनी तिलमिलाउन थालेका थिए ।

“अस्ति उनीहरुले चारधाम पनि गरिसके । आफ्नो ता न केइ न केइ । एउटा सत्यनारानको पूजा ता लगाउनु हुन्न । नास्तिक ! भण्डारीजीलाई निकै कडो वचनले उनले प्रहार गर्न थालेकी थिइन् ।

छिमेकीको पुरानकी नित्य श्रोता भएको थिइन् उनी । आफूले लाउन नसकेकोमा उनी हीनताबोध गरिरहन्थिन् त्यो बेला । उनीहरुको सजधज, गाउँठाउँका महिलाहरु नाचेको, जाग्राम बसाएको, भजन गराएकोबाट उनको मन पनि आतुर भइसकेको थियो यस्तै पुरान लाउन ।

“हे भगवान, हामी पनि यस्तै पुरान लगाउन सकौं ।” उनको मानसिक पुकारा पनि हुन्थ्यो ।

“कुन्नि केकेको बेपरी छिमेकीको वास्तविकताको बारेमा भण्डारीजीलाई थाहा छ । मान्छे जति पाप गर्छ उति देखाउनका लागि धर्म गर्छ, मैले पाप पनि गरेको छैन, मलाई देखावटी धर्म गर्नु पनि परेको छैन” भनेर बाहुनीलाई अस्तिसम्म भन्दथे र पन्छन्थे । तर अब भने यसो भनेर पनि पार नलाग्ने भएको छ । पुरान लगाउनै पर्ने भएको छ ।

बाहुनीले छिमेकीको भन्दा पनि गतिलो पण्डित खोजेर छिमेकीको तुजुक झार्ने योजना बनाइसकेकी थिइन् । भण्डारीले पनि अब समाजमा स्वास्नीको दबाब आफूले खप्न नसक्ने अवस्था देखेका थिए । यो घरझगडा घरभित्रबाट घरबाहिर जाने र माइततिर पनि पुग्ने भय बढेको हुँदा एक अठोट गरेका थिए ।
अनि दुबैजना बैंकमा गएका थिए ।

“तपाइँको घर जग्गाको मूल्यांकन गर्दा सात लाख आउने देखियो ।”

बैंकको कर्जाविभागमा भण्डारीदम्पतीलाई बैंकबाट चाहेको जति ऋण उपलब्ध होला नहोला भन्ने थियो । त्यस्तै भयो पनि । उनीहरुलाई दस लाख जति ता आउला भन्ने लागेको थियो । तर आएन ।

“सुरुबुरु बुगाउनु पर्ला । नपुगे उधारो चलाउनु पर्छ । पछि तिम्रै माखो मुन्द्रो बैंकमा राखेर तिरोभरो गर्नु पर्छ नि, छोराले कतारबाट ल्याएर तिर्ला नि ।” भनेका थिए ।

“लौ कहिलेदेखि लाउने हो ? तयार गर् तेरो पुरान” भन्दै बैंकबाट आएको कर्जाको रकम सात लाख रुपियाँ श्रीमतीको हातमा रादएका थिए ।

उनकी बाहुनीले बडो जतनका साथ आफ्नो ब्यागमा पैसा हालेकी थिइन् । अनि घरतिर जाने बस कुर्न थालेका थिए ।

बस कुर्न उभिएको बेला अचान एक मोटर साइकल आयो र बाहुनीको ब्याग खोसेर लिई चम्पट कस्यो ।

“लौ न ए !!!, चोर चोर, मेरो पुरान । लौ न चोरले लग्यो मेरो पुरान !! लौ गुहार गुहार ।” बाहुनी बहुलाइ जस्तो भइ कराइन् भण्डारीजी थुचुक्क बसे मात्र । ओरिपरिका मान्छेहरु हेरेको हेरेकै भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *