उक्लिएँ निक्कै माथि
जब वैरागिएँ
बसेँ घामसँगै
तब हेर्यौँ एक टक
ती तलका गाउँहरूमा
देख्यौँ, विचरा परेवाहरू
बन्दारहेछन् चिलको शिकार ।
हावा निर्दयी भो
अहमकारी भो
उडाई दिएको भए
चिलको गुँड
गल्र्याम गुर्लुम ढालेको भए
ती अग्ला अग्ला सिमलको रुख
चिल हुने थिएन ।
तमाम परेवाहरू
आतङ्कित हुने थिएनन्
उड्थे होला बुर्र–र
हुलका हुल
हुन्थ्यो होला परेवामय गाऊँ
हाँस्थे होला बेस्सरी
व्यूँझिएर बुद्ध
भन्थे होला
लय टिपेछ
मात्तिएका हावाले
जुन मैले छोड्याथेँ
शताव्दियौँ पहिले
ती गाउँहरूमा ।
विन्ती छ घाम
सुकाइदेऊ खङरङग
सिमल र चिललाई
मेटाईदेऊ नामोनिशाना
यो ब्रम्हाण्डबाट
अनि लेख्नुपर्छ
सँगै बसेर
कालजयी कविताहरू
परेवाको समर्पणमा ।
जङ्ग योन्जन तामाङ
आङना ५,पाँचथर
हाल फिदिम
