Skip to content


भिरको थाप्लामा घाँसको मुठा बाँधिसकेर फुत्त तल्तिर फ्याकेर,साइलाले भन्यो —“अब त पक्कै पनि भारी पुग्ला, नपुगे पनि अब उतै सतिघाटको छेउछाउतिर काटौंला ” ।

यत्तिकैमा पल्लापटिबाट आवाज आयो— “ए ! ……. साँल्दाइ ! ! ………. म त गएँ है ! …… भारी पनि पुगिसको, सतिघाटमा पर्खिउँला ” ।

अर्को तिरबाट सुरिलो आवाज प्रतिध्वनित भयो — “मेरो त भारी नै पुगेको छैन, पर्ख है !……. एकछिन् पछिसँगै जानुपर्छ —” यो आवाज चैं उजेलीको थियो ।

हर्के घाँसको भारीबोकेर सुसेली हाल्दै अलि पर पुग्यो र पछाडि फर्केर करायो — “आउँदै गर है, म बिस्तारै जान्छु —”

उजेली घाँसको भारी बोकेर तेर्छाबाटामा निस्की र भनी —“ साँल्दाजु ! ”

जवाफको उत्तर आएन, साइँलाले घाँसको भारिहाल्ने सुरमा उजेलीको आवाज सुन्न सकेन । भारी ठड्याइसकेर ढुंगामा बसेर गीत गाउन थाल्यो ।

हिमालै चुली हिमालमा
के बोकि ल्यायौ रुमालमा
लौ लौ माया लौ लौ ……………………………।

यति मात्र गीत गाएर उसले उजेलीलाई बोलायो —“ ए, कान्छी !……. अब घर जाऔं है,……….. रात पर्न आँट्यो ” ।

घाँसको भारी बोकेर पर पुगिसकेकी उजेलीले कता कता टढाबाट अएको आवाज सुनि आवाज साइलाको थियो । सो को जवफमा उसले पनि — “म त गै सकें है, पर पुगेर पर्खिउँला”

उजेली आफ्नो भारी बोकेर बाटो लागी ।

सबैले छोडेर हिडिसकेछन् भन्दै साइलो पनि भारी बोकेर हस्याङ् र फस्याङ् गर्दै बाटो लाग्यो । अलिक पर पुगेपछि साइलाले पहरै थर्किने गीत गाउँन थल्यो ।

उकाली ज्यान्मा पिङ्लाको
बजारै राम्रो दिङ्लाको
लौ लौ माया लौ लौ……………

साइलाको गीतको रन्को उजेलीको कानसम्म पुग्छ । चौबाटाको फलैंचामा भारी बिसाएर ऊ पनि गीतको जवाफ गीतैले दिन थाल्छे ।

भारीले पार्यो परान
जौं बरु भागी धरान
लौ लौ माया लौ लौ …………

साइलाले पनि जवाफमा केही भन्न बाँकी राख्तैन । गीतको जवाफ गीतमै दिन्छ । यसैगरी गीतबाटै सवाल जवाफ गर्दै त्यहीँ आएर साइलाले पनि भारी बिसाउँछ । दौराको फेरले निधारको पसिना पुछेर, खुइय गर्दै अलिक पर्तिरको ढुंगामा बसेर उजेलीको अनुहारमा एकटकले हेर्न थाल्छ । उजेली साँच्चै उजेली नै हो; मानौ पूर्णिमाको पूर्णचन्द्र, भनौं वा स्वर्गकी अप्सरा । खै के भनु…………..। उजेलीको अनुहारबाट उसका आँखा हटेको छैन । उजेली लाजले भुतुक्कभएर, मुसुक्क मुस्कुराउँदै —“ छि : हौ ! के सारो हेर्न सकेको होला अर्काको मुखमा —” भन्दै फलैंचाबाट ओर्लेर अर्को ढुंगामा बस्छे ।

“तेरो यति राम्रो अनुहार मैले नहेरे कस्ले हेरिदिन्छ र ?—” भन्दै ऊ पनि उजेलीको नजिकै गएर बस्छ । उजेलीको अनुहार रातो हुन्छ, उजेलीको मनमा त एक चोटी साइलालई च्याप्प समातेर अँगालोमा च्यापुँजस्तो लागेको थियो तर छोरी मान्छे भएको हुनाले अलिक आँटगर्न सकिन । उजेली साइलाको नजिकै थिई, साइलाले उजेलीको गालामा प्याट्ट हिर्काउँदै “काली किन लजाएकी ? बोल न हौ, म त तिमीलाई कतिमाया गर्छु …..—” भन्यो र पर अरुणनदीमा खेल्दैगरेका चखेवाका जोडी हेर्दै फेरि भन्यो “ ऊ, पर हेर त; नदीको पानीमा ती जोडी चखेवा कति रमाइलो गरी खेलिरहेका छन् । —”

उजेलीले त्यो अरुण नदीको चिसो पानीमा मस्तसित खेलिरहेका पन्छीतिर हेरी । ती जलपन्छीहरू आपसमा ठुँगाठुँग गर्दै पानीमा डुब्दै निस्किदै गरेको दृश्य साँच्चै नै रम्रो लाग्यो । हेर्दा हेर्दै ऊ त टोलाउन पो थालीछे । साइलाले उजेली ! भनेर बोलाउदा पो ऊ त झसङ्ग भएर तर्सी । उजेली अर्कै सन्सारमा पुगिसकेकिरहिछे, उसलाई पनि बैंसले मत्थ बनाइसकेको थियो । आफू र साइलालाई तिनै चखेवाका जोडी बनाएर अर्कै काल्पनिक सन्सारमा रमण गर्न थालिसकेकी उजेलीले, अर्कौ सन्सारको संरचना तयार पार्दै गर्दा सँइलाको संबोधनले त्यो सम्पूर्ण रंगिन दुनियाँको नवरचित संरचना सबै भताभुङ्ग भयो । ती पन्छीहरू अँझै पनि खेलिरहेका थिए । एउटाले अर्कोको टाउकामा ठुँगेर ढाडमाथि उक्लिएर पखेटा फिजाएर फ्यार फ्यार गर्दै नाच्दै गरेको दृश्य त झन् उजेलीले हेर्नै सकिन; उसको मनमा निकै उत्सुकता जाग्यो र साइलातिर हेर्दै सोधी “ भनन साइला ती चराहरूले के खेलेका ? —”

साइलाले आफू अलिक सम्हालिदै दाया र बाया हेर्यो अनि उजेलीको कानमा खुसुक्क साउती गर्ने पाराले कानमा मुख पुर्यायो । उजेलीले “ ए ! केगरेको; कानमै आएर भन्नु पर्छ त ? परैबाटभन्दा नि भैहाल्छ नि ! —” भनी ।

त्यसो हो भने, सुन न त भन्दै पश्चिम आकाशतिर निहाल्यो । सूर्यले दिंला गडीगाऊँको बरकारुखलाई चूम्न खोज्दै थियो ।

“ल, उजेली ! घाम अस्ताउने बेला भैसक्यो अब घर जाऊँ—” । भन्दै साइलाले गोजीवाट लाम्पाते सुर्ती र ढाल्नेको पात निकालेर बेर्न थाल्यो । खीसाबाट झुलो र चकमक निकाल्यो नजिकैको भुईंबाट एउटा सानु दर्सिन् ढुंगाको टुक्रो टिपेर आगो पारेर बुंग धुवाँ उडाउँदै; घाँसको भारी बोक्यो उजेली पनि आफ्नो भारी बोकेर पछि लागि । हर्के अघि नै घर पुगिसकेको रहेछ ।

उजेलीले सुनेकी थिई, चखेवाका जोडी दिनमा मात्र एकसाथ हुन्छन् । जब जब रात पर्दै जान्छ उनीहरू टाडिदै जन्छन् र बास बस्ने बेलामा खोलाको वारि र पारी भएर बस्छन् । बिहान भएपछि फेरि आफ्ना प्रणयका रमाइला क्षणहरूमा, त्यसैगरी रमाइलो गरेर बिताउँछन् । रात निकै बितिसकेको छ । उजेलीको आँखामा पटक्कै निद्रा छैन । साइलाले किन ? ….. । मेरो कानमा खुसुक्क के भन्न आँटेको थियो होला ? त्यो त मलाई पनि थाहा नभएको त कहाँ हो र ? अनुभव मात्र नभएको त हो नि ! उसले के भन्दो रहेछ भनेर मात्र पो, सोधेको त मैले । रातभरि छटपटाहट मै उजेलीको समय बित्छ ।

त्यो उजेलीले किन मलाई, त्यस्तो कुरा पनि सोधेकी होला ? के उसलाई थाहा नभएर नै पो सोधेकी हो कि ! मनभरि अनेकानेक तरंगहरू तैरिरहन्छन् । मनमा बेचैन भएर साइलालाई पनि रतभरि नै छटपटी भैरहन्छ । मैले खै के भनेर उसलाई भन्नु र ! उसलाई त सर म लाग्नुपर्ने हो, खै कसरी सोध्न सकेकी होला ? मैले त्यो कुरा भन्देको भए ! ऊ के भन्थी होला ? भो मलाई त लाज लाग्छ कसरी भन्नु र ? आ ! भन्दिन्छु भोलि त; जे पर्ला पर्ला । बा रिसाउनेपो हो कि ! रिसाउने भा किन सोध्नु त ? भन्छु तर खै के भन्नु काँबाट कुरो उठाउँनु ? अघि नै भनेको भा भै हाल्थ्यो अब त झन् अप्ट्ठ्यारो पो पर्ला जस्तो छ । आ ! उसले सोधेको प्रश्नको उत्तर दिन पनि के को डर ! भोलि त भन्दिन्छु जे पर्ला पर्ला । के भनौं त ?

“उजेली ! हिजो तिमीले नी, मलाई के सोधेकी थियौ अरे ?—” साइलाले उजेलीको छेउमा गएर भन्यो ।

उजेली खितित्त हाँस्दै दुईहातले मुख छोपेर, भाग्दै । —“हिजो पो सोधेको त आज हो र ? —” भन्दै आफ्नो बाटो लागि ।

आज पनि घाँसको भारी लिएर त्यही ठाउँमा बिसाएर अरुण नदीको चिसो पानीमा मुख धुदै उजेलीलाई —“आऊ है ! तिमी पनि चिसो पानीमा पौरी खेलौं—” भन्यो साइलाले ।

“भो म त खेल्दिन, यो रुखकै सित्तलमा बस्छु ; बरु छिटो गरेर पो आऊ न ! घर जान रात पर्छ —” भन्दै अलिक नजिकै आएर एउटा ढुङ्गो टिपेर साइलाको छेउमा छप्लङ्ग पारेर पानीमा हानी । साइलो झसङ्ग भएर तर्सियो । पानी उछिट्टिएर उसको लुगा भिज्यो । झ्वाँक्किएर रिसाउँदै साइलाले उजेलीलाई झम्टियो उजेली भागेर पिपलको रुख पछाडि लुक्न पुगी । लुकेको ठाउँसम्म पनि ऊ खेद्दै गयो, उजेली भाग्दै आएर घाँसको भारीमा छलपरी । साइलाले त्यहीँ आएर उजेलीलाई च्याप्प समात्यो । उजेली डरले कालो न नीलो भइसकेकी थिई । उमेर पुगेका केटा केटी एकान्त स्थान ……. ।

उसले उजेलीलाई केही पनि नगरी छाडिदियो । साइलालाई पनि कता कता डर पैदा भयो; वा कतैबाट कसैले हेर्दै पो छन् कि ! उजेलीलाई अर्कातिर अँझै अर्को डर लागेको थियो । म आइमाई मान्छे एकान्त ठाउँ, ऊ लोग्नेमान्छे ; कोही नभएको बेला ……. ।

यो नै छोरी मान्छेको लागि सबैभन्दा ठुलो डर हुन्छ । तर साइलाले केही पनि गरेन र पनि उजेली साइलासँग बोल्न सकिरहेकी थिइन । आफूले गल्ती गरेकै हो, ऊ पनि रिसाएकै हो । कुरा यतार्थ छँदैछ अब के भन्नु उजेलीलाई बोल्ने आँट पनि आएन । आफ्नो घाँसको भारी बोकेर उजेली बाटो लागि । उजेलीको व्यवाहार देखेर छक्क पर्दै, साइलाले परसम्म हेर्यो । उजेली निक्कै पर पुगिसकेकी थिई । उसले सधैं जस्तो भारी बोकेर हिड्ने बेलामा सुर्ती सल्कायो र बुङ्ग धुवाँ उडाउँदै भारी बोकेर बाटो लाग्यो ।

साइलो चमे चौतारमा पुगेर भारी बिसाउन लाग्दा पछाडिबाट कसैले घचेडी दिएको जस्तो भयो । ऊ लर्खरिदै भुइमा लड्यो । ऊ उठ् सकेको थिएन उजेलीलाई डर लाग्यो । उसले उठ्न नभ्याउँदै उजेलीले कुलेलम ठोकी । ऊ उठ्ता त उजेलीले खाल्सो पार गरेर गैसकेकी थिई । साइलाले कसैलाई पनि देखेन, ऊ अचम्ममा परिरहेको थियो । उसलाई कताकता घुँडामा दुखे जस्तो लाग्यो । हेर्दा त घुँडामा सानु घाउ लागेको रहेछ नजिकैको बनमारा झारको मुन्टो चुडेर माडेर घाउमा लाएर, घाँसको भारी बोकेर ऊ पनि बाटो लाग्यो ।

म के भएर लडेँ ? मलाई पक्कै पनि उजेलीले घचेँडेको हुनु पर्छ । म उठेर हेर्दा ऊ त्यहाँ थिइन; म झट्ट उठ्न नसकेकाले, ऊ भाग्न सफल भएकी हो । मैले के बिगर गरेको थिएँ र ? त्यसरी चोरिंदाउले हान्नुपरेको होला ? रातभर यस्तै कुरा सोचेर साइलाले समय गएको पत्तो पएन । मेरो मनमा चैं उसको छायाँ मात्र पनि देख्न पाए हुन्थ्यो भन्ने लाग्छ ऊ भने मलाई त्यसरी चोरिंदाउले हान्छे । यसको बदला त मैले लिनै पर्ने हुन्छ । खै ! बदला पनि कसरी लिनु र ? मायाँ लागिहाल्छ, त्यसलाई केही कतै चोट लागो भने म कसरी खप्न पो सकुँला र ? बिचरी उजेली त्यो त मेरी मुटुकी ढुकढुकी नै हो । म त्यसलाई थाहै नपाइकन मायाँ गर्न पो गर्न थालिसकेँछु ।

उजेलीलाई आजपश्चाताप भएको छ, बरा ! सारै पो लडेछ क्यार है ! मलाई देखो या देखेन त्यो त पछि नै थाहा होला, बित्थैमा जिस्किएँ छु । ख्याल गर्दा झ्याल हुन्छ भनेको यही नै होला । पक्कै पनि ऊ मसँग रिसाइसकेको होला । अब कसरी उसको सामु माफ मग्न जाने ? के भनेर माफ माग्ने आदि तर्कनाले उजलीको मनमा पनि धेरै खुलदुली मच्चाइ दियो उसलाई पनि रातभरि नै निद्रा लागेन ।

उजेली निक्कै दिनसम्म साइलाको छेउमा परिन । घाँस काट्न पनिसँगै गएकी छैन, उसलाई थाहा भएको छ; साइलाको खुट्टामा लडेर घाउ लागको छ भनेर । त्यो घाउ मैले नै लडाएर लाइदिएको हो भनेर, उस्लाई थाहा भएकोले गर्दा डरले ऊ छेउ पर्न नसकेकी हो । कतिदिन पो तर्केर हिड्न सकिन्छ र ? एउटै दहको माछो न हो; एकदिन त घुम्दै फिर्दै भेट भै हाल्छ नि !

पानीको गाग्री डोकामा हालेर उजेली पँधेरतिर लागेको साइलाले देखिरहेको थियो । ऊ पनि सानो गाग्री लिएर पछिपछि लाग्यो । उजेलीले कुवामा पानी भर्न आँटेको बेला साइलाले उछिनेर आफ्नो गाग्री हतार कुवा भित्र डुवायो उसले गाग्री निकाल्दा कुवाको पानी धमिलियो ।

“बोटुकाले उग्गाएर भर्नु नि ! हेर कस्तो धमिलो भयो”— उजेलीले आँखा तर्दै साइलातिर हेरेर भनी ।

बाटुको ल्याएको भए पो भर्नु त ! यसै गर्दा छिटो पनि हून्छ, अफुलाई कस्तो हतार छ …..—” भन्दै साइलो हिड्न लागेको थियो उजेलीले बाटो छेक्दै उभिन पुगी ।
वरिपरि हेरेर साइलाले “ किन उजेली यत्रो दिनसम्म ……तिमी तर्कियौ ? म कतिसम्म तड्पिएँ, आज चैं म तिमीसँग निहुँ खोज्न आएको हुँ । भन अब तिम्रो के बिचार छ ? —” साइलाको यस्तो कुराले उजेलीलाई अचम्म लाग्यो । उजेलीको मनमा ऊ रिसाको होला भन्ने लागेको थियो तर ऊ रिसाएको रहेनछ ।

“ल म यस्तो कुरा भरे भोलि गरुला …… —” भन्दै उजेली कुवाको पानी भर्न थाली र साइलो पनि घरतिर लाग्यो ।

आज कैयौं दिन पछि, साइलाको र उजेलीको भेट भएको छ । चमे चौताराको चप्लेटी ढुंगामा दुवैजना घुँडा जोडेर बसेका छन् । दुवैजना मौनछन् l को पहिला बोल्ने हो अपसमा हेराहेर मात्र, तैं चुप मैं चुपको पारामा । यतिकैमा साइलाले त्यो मौनतालाई भंग गर्दै भन्यो—“ किन रिसाकी लाटी ! यत्रो दिन सम्म” ?

“मैले गल्ती गरेकी छु, मलाई डर लागेर l लाज पनि लागेर परपरै भएकी हुँ मलाई माफ गर है साइला ! —” भन्दै साइलाको काखमा घोप्टिन पुगिन् ।
साइलालाई उजेली प्रति करुणा जागेर आयो । भित्र हृदय देखि नै मायाको बिजारोण भैसकेको साइलाको अबभने बाहिरै प्रकट हुन आँटेको छ । उसले उजेलीलाई उठायो । आपसमा मुखामुख गरेर हाँसे । काले नजिकै बसेर ती दुईको कृयाकलाप हेरिरहेको थियो ता पनि उसको लागि त्यसमा कुनै चासो को विषय थिएन उनीहरूले पनि बालक ठानेर केही वास्ता गेनन् ।

उमेर पुगेका केटाकेटी अपसमा त्यही चौतारामा बसेर आ—फ्ना मनकाकुरा साटासाट गरे । कालेले बुझ्यो बुझेन, उजेलीले आफ्ना मनका कुरा जति सबै घोप्ट्याइ दिई, साइलको पनि मनमा उकुसमुकुस भएका सबै कुण्ठा उजेली सामु पोखिदियो । आजै देखि उनीहरू कहिल्यै नछुट्ने बाचा बन्धन्मा बाँधिन पुगे । साइलाले एउटा गीत गायो ।

“पनी खने तिर्तिरे धारो, माया लाउने चमेको चौतारो ”

दुवैजना अट्टहास हाँसो निकालेर हाँसे, हो त यो चमे चौतारो उनीहरूको माया प्रेमको साँची हो । उनीहरूले त्यहाँ कति कुरा गरे यी सबै कुरा कालेले सुनेको छ तर काले बोल्न सक्तैन ऊ त वाक्य हिन छ भनौं हाम्रो भाषामा लाटो छ । कसैलाई व्यक्त गर्न सक्नेवाला ऊ छैन ।

कयौं दिन बित्तै गए उनीहरूको प्रेमको लहरो झाङ्गिदै गयो । साइलाको र उजेलीको भेटघाट अपसमा निकै बाक्लिएको थियो । गाऊ समाजमा कता कता सङ्का पनि गर्न थलेका थिए । उजेलीका बाउ र आमाले पनि गाईं गुईं हल्ला चलेको, एककान दुईकान हुदै मैदानसम्म पुकेको कुरा थाहा पाइसकेका थिए । आमा बाउका सामु उजेलीले हैन भनेरै विश्वास दिलाइसकेकी थिई । साइलालाई भने कसैलाई भने ढाँटेर टार्नभन्दा पनि वास्तबिकता खोलेर सबैतिर सार्बजनिक गर्न मन लागको थियो तर त्यसो गरिहाल्न पनि नसकेर भाग्ने बिचार कसो । भागेर पनि कहा जाने र ? खै ! किन भाग्ने ?

म भनेपछि उजेली पनि हुरुक्क हुन्छे, म पनि त उजेली नभए कसरी बाँच्न सकुँला र ? रात दिन मेरो मन भित्र नाचिरहने पुतलीलाई छाडेर म कहाँ जाऊँ ? त्यसलाई छाडेर हिडेँ भने मलाई अवश्य पाप लाग्छ; भन्दै रातभरि सोचिरहन्छ । म उजेलीलाई लिएरै जान्छु चाहे जहाँ जाऊँ तर खै ! जाने ठाऊँ कहाँ छ त ? यस्तै कुरा मनमा खेलाऊँदा खेलाऊँदै ऊ, भुसुक्क निदाउँछ ।

उजेली र ऊ धरान बजारमा मस्तसित हात समातेर हिडिरहेका छन् । सइलाले उजेलीलाई चुरा किनेर नारीभरि लाइदिन्छ, उसले पनि सक्कली ढाकाको टोपी किनेर ढल्काउँछ । यसरी दुवैजना पूर्वजाने बसमा चढेर आसाम जान भनेर हिड्छन् । उजेलीको उज्यालो अनुहारतिर हेर्दै, साइलाले मुसुक्क हाँसेर आत्मा बिभोर हुदै केही भन्न आँटेको मात्र के थियो त्यही बेला डाइबरले बसमा ब्रेक लाउँदा साइलाको निद्रा खुल्यो ।

बाहिर घामले स्वागत गरिराखेको थियो । ऊ आँखा मिच्दै उजेलीको घरतिर लाग्यो । उसलाई उजेलीको घर जान कति पनि धक लागेन । ऊ उजेलीको घर नपुग्दै उजेली डोको नाम्लो टिपेर बनतिर लागि । साइलो पनि खुकुरी भिरेर अर्कै बाटो भएर उजेली गएतिरै हान्नियो ।

उजेलीले वनै थर्किने गरी गीत गाइरहेकी थिई, साइलालाई उजेली कहाँछे भनेर जान्न केही गरो नै परेन ।

“देउराली डाँडा नि साइला नकाटेसम्म म रुन छाड्दिन
लान्छौ कि मलाई कि मारी जान्छौ ? म नगै छाड्दिन ”

यो गीत सुनेर साइलाको मन भक्कानियो । आँखाभरी आँसु पार्दै ऊ उजेलीको नजिकै पुग्यो । भेट हुने बित्तिकै उनीहरू एकआपसमा अँगालोमा बाँधिए र दुवैजनाले आफ्नु धौ फुकाएर माया पिर्ती साटे । यसरी कतिबेरसम्म केके गरे कसैलाई पत्तै भएन । उजेलीका आँखाबाट झरेका मोतींदाना सइलाले पुछिदियो । उजली अँझै रोइरहेकी थिई । साइलो बरा बिचरा धर्मसंकटमा परो । अब के गर्ने उजेलीलाई लिएर कहाँ जाने ? उसले उजेलीलाई फकाउँदै भन्यो । “ तिमी नआत्तेउ म कतै गएर हाम्रो लागि बस्ने ठाउँको चाँजो मिलाएर आउँछु अनि मात्र हामी दुवैजना यो ठाउँ छोडेर हिड्नु पर्छ—” । आपसमा यही कुराको निर्णय गरेर उनीहरू छुट्टिए ।

“बिलौंना गरेर वेदना कस्लाई कहनु ?
तिमी त गै हाल्छोउ नि कान्छा नौ डाँडा काटेर
खुत्रक्कै पारिदेउ, यो मेरो दुखी जीवनलाई
फर्केर फेरि नहेर यो मेरो मुहार ”

केही पर पुगेको सइलाले उजेलीको सुरिलो स्वर सुन्यो, फेरि पनि उसको हृदयको फाहोरा छुटेर दुवै आँखाका नानीलाई भिजाउँदै सहस्र धारा भुइमा खस्न थाले । साइलाले मन थाम्न सकेन ऊ घाप्टो परेर रुनसम्म रोयो तैपनि उजेली गीतै गाइरहन्छे ।

“गाउँला झ्याउरे रनन रन्को पारेर,
बजाउँला थोत्रे मादल थर्काइ पहाड
गाउँले झुप्रामा साग र सिस्नु खाएर
बसुँला हमी नेपालमा, योगित गाएर ”

उजेली अँझै बिरहको गीतै गाइरहन्छे, साइलाको हृदय छियाछिया भएर अब केगर्ने भन्दै धर्मसंकटमा परिरहेको छ ।

२०३६।३।२
तुम्लिङटार, संखुवा सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *