सुस्तामा ‘घिड्घिडो’ बाँचेको राष्ट्रियता
कोसीमा बगेको देश-प्रेम
वा पशुपतिमा जितेका मूलभट्टहरू
र हारेको देश हेरेर हाँस्नै सक्दिनँ म
हाँस्नै दिँदैन देश ।
के चाँदनी चोक टू चाइना हेरेर हाँसू म ?
कि घरवाली-बाहरवाली हेरेर नाँचू म ?
कि, ठूलो माछा र सानो माछाको कथा पढेर नाँचू ?
म हाँस्न चाहन्छु, देश-विजयमा म नाँच्न चाहन्छु
तर, हाँस्नै दिँदैन देश ।
घरभित्र
सधैँ औँसी बेचेर भन्छ- हाँस्
कालका दूतहरू छोड्छ
डामेको साँढेझैँ र भन्छ- बाँच्
बाँधेको गोरुझैँ स्वतन्त्रता दिएर भन्छ- दौडी, जा
अरू पनि भन्छ देश : कमली र बट्टाइहरूलाई
मिर्गौला नबेच भन्छ होला
आइते र सिङ्गेहरूलाई छोरीहरू नबेच भन्छ होला
तर, सरकारका साँढेहरू
गाउँ-गाउँ पसेर बेचिखाऊँ भन्छन्
नखाए-बेचिदिन्छु भन्छन् ।
घरभित्र पनि रोई-रोई
घरबाहिर पनि रोई-रोई
साँध-सिमाना र छरछिमेकमा पनि रोई-रोई
बाँचू कति म ? हाँसो खोजूँ कहाँ म ?
किन बुझ्दैन यो देश ?
भूगोलको
अवैध लालपुर्जाजस्तो मात्र ठानेर आफूलाई
किन निम्छरो हुँदै गएको छ मेरो देश ?
किन शरणार्थीझैँ हुँदै गएको छु म ?
मलाई देशको निधार चिरेर
भाग्यरेखा बदल्न मन छ
देशको छाती चिरेर मुटु बदल्न मन छ
म मुटु चढाउन चाहन्छु मेरो देशलाई ।
प्रत्येक युद्धका लागि
तयार छन् छातीहरू
बलिदान र उत्सर्गका पहराहरूबाट
हाम फाल्न तयार छौँ हामी
हामीलाई छाया मन पर्दैन
कसैको ओत र ढोँग मन पर्दैन
हामीलाई बाँच्न नसिकाऊ
हामी बाँच्दैनौँ बरु
यो देशबाट ती छायाहरू हटाऊ
हाम्रो आफ्नो आकाशमुनिको
त्यो अर्को पापी आकाश हटाऊ
हामी तयार छौँ
हामी बाँच्दैनौँ बरु ।
