“माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको विषय थियो– देशको समसामयिक समस्या । “यसलाई गोली र बलको प्रयोगले समाधान गर्नुपर्छ’ यो थियो भीमको गर्जन । अर्जुन किन चूप लाग्थे । उनले आफ्नो राय दिए– “वार्ता पनि गर्नुपर्छ, बल पनि सञ्चय गर्दै जानु राम्रो हुन्छ ।”
“दुवैले हातहतियार छाडेर टेबलमा कुरा गर्नुपर्छ–अहिलेको समाधानको बाटो यही हो ।” सहदेवले केही शान्तभावमा भने ।
“गणतन्त्र नआई यस समस्याको कुनै सम्भावना छैन । आजको युगमा राजतन्त्र तासको पत्तीमा मात्र राख्नुपर्छ ।” जोशिलो आवाज निस्क्यो नकुलको ।
म चाहिँ आफूलाई पत्रकार ठान्छु । यौटा स्थानीय पत्रिकासित केही वर्षदेखि सम्बन्धित छु ।
महाभारतका पाँच पौराणिक व्यक्तित्वहरूको नाम दिएर म यो कथा अगाडि बढाउन चाहन्छु । आफूलाई पुरानो कृष्णको रूपमा चिनाउनुभन्दा आधुनिक पत्रकार भन्नु उपयुक्त लाग्यो । गर्मीमा बिहान ४ः०० बजे र हिउँदमा बिहान ५ः०० बजे हाम्रो प्रातः यात्रा अर्थात् ‘मर्निङ वाक’ सुरु हुन्छ र लगभग ७÷८ बजे समाप्त हुन्छ । यसबीच के विषयको चर्चा हुँदैन– शहरको राजनीतिदेखि विश्व राजनीतिसम्म । टोलको वेश्यावृत्तिदेखि समलिङ्गी यौन प्रकरणसम्म । भोकको पीडादेखि सेक्सको अन्तरपीडासम्म । साहित्यबाट सुरु भएर लोकल कुखुराको सुरुवामा बहस
कहिले टुङ्गिन्छ, कहिले फेसन र सिनेमाले पूरा सडक नापिन्छ ।
यो टोलीको संक्षिप्त परिचय भने यस्तो छ–‘युधिष्ठिर’ सरकारी सेवाबाट निवृत्त । उमेर ६० वर्ष । जीवनभर ‘स’मन्त्रालयको मात्र विशेषज्ञ, अर्थात् सञ्चार मन्त्रालय, स्वास्थ्य मन्त्रालय’, शिक्षा मन्त्रालय र स्थानीय विकास मन्त्रालय । रुचि–समाजसेवा ।
भीम–बैंक सेवाबाट अवकास लिएको । उमेर ५८ वर्ष । उचाइ ६ फिट २ इञ्च । पाकेटमा क्यालकुलेटर लिई हिंड्ने । हरेक समस्याको समाधान हिसाबका अङ्कबाट गर्ने ।
अर्जुन– फाइनेन्स कम्पनीको नोकरी । उमेर– ४० वर्ष । उचाइ ५ फिट मात्र । कमिसनतन्त्रमा अगाध विश्वास राख्ने । पत्र–पत्रिका पढ्नमा धेरै रुचि ।
नकुल– जिन्दगीभर टाइपिष्ट । उमेर ३२ वर्ष । उचाइ ५ फिट ६ इञ्च । साहित्यमा रुचि । यौटा कविता सङ्ग्रह प्रकाशित । नकुलको जस्तै सहदेवको खास परिचय छैन, अर्थात् फरक छ । मुख्यतः ऊ बेरोजगार छ । नेपाली भाषा, साहित्यमा डिग्री लिएर पनि उसले कतै पढाउने काम पाएको छैन । क्याम्पसमा जहाँ–तहीं सहदेवका लागि ढोका बन्द छ । यसैले ऊ निराश छ, अविवाहित छ र पाएमा सधैं विदेशमा काम गर्न जाने कुरा गर्छ ।
यौटा चिसो बिहान थियो । तराईमा कुहिरो पनि दहीजस्तो बाक्लो र जमेको हुन्छ । पाँच पाण्डवको टोलीले भने न गर्मी भन्छ न जाडो । न साउने झरीलाई टेर्छ न बाक्लो कुहिरोलाई । प्रातः भ्रमणलाई यस टोलीले सानु– तिनो, युद्धमा गएको ठान्छ । त्यसमा उपस्थिति नहुनुलाई कसैले गम्भीर अपराधका रूपमा लिन्छ । विश्वको कुनै यस्तो ‘इस्यु’ हुँदैन जसमा टोलीले छलफल नगरेको होस् । पाँचै जनाको विचार नमिल्न सक्छ तर प्रत्येक बिहान पूरा जोशका साथ अन्तक्र्रिया हुन्छ । आ–आफ्नो तर्क र विचार राख्ने छुट सबैलाई छ । यस्तो लाग्छ– यो हरिप–
गरिब देशको सानु संसद् हो ।
हिउँदको यौटा चिसो बिहान थियो । यो टोली ‘मर्निङ्ग वाक’को सिलसिलामा छिमेकी राष्ट्रको सीमाछेउ पुगेको थियो । बाटोमा मालसामानले भरिएको यौटा ट्रक देखियो– जसलाई सुरक्षाकर्मीहरूले रोकेका थिए । अनि ट्रकको ड्राइभर नोटको बिटा सुरक्षाकर्मीलाई दिइरहेको थियो भने ऊ लिन मानिरहेको थिएन । सडकको दृश्य सफा र स्पष्ट थियो– हामी सबैले राम्ररी बुझेका थियौं । अब मैले नै कुरा राखें– यो के भइरहेछ ?‘।
“यो घुसखोरी– हाकाहाकी भ्रष्टाचार भइरहेछ डाकागिरी भइरहेछ‘” नकुलको तत्काल प्रकृया आयो ।
“यो शासन नै भएन । पञ्चायत धेरै राम्रो थियो बा !” युधिष्ठिरको भाषण सुरु भयो –“बोल्न नपाए पनि देशमा शान्तिसुरक्षा र विकास त थियो । राजा सक्रिय नभए यो राष्ट्र नै रहन्न है ।”
“शासन लूज भयो– कडा छैन । जसले जे गरे पनि हुने भयो । साँचो प्रजातन्त्र आउन समय लाग्छ नै अहिलेको प्रजातन्त्र त नेतालाई मात्र आयो, जनता भने बेखबर छन् । यो कमेन्ट थियो– अर्जुनको ।
एकैछिन वातावरण मौन देखियो । त्यो ट्रक ड्राइभर र पुलिस सबै कुहिरोमा कत्तै हराए । हाम्रो टोलीले एकैसाथ सोच्यो– देशमा भ्रष्टाचार हटाउने जति नै कुरा भए पनि त्यसलाई ढाकछोप गर्ने कुहिरो धेरै बाक्लो र शाक्तिशाली छ ।
रमाइलो लाग्छ–बिहानै उठ्नु, दैनिक क्रियाकलाप अर्थात् बाथरुममा आफू निवृत्त हुनु । केही कप तुलसी चिया खानु अनि टी.भी.मा बीबीसी हेर्नु । न्युयोर्कको जुम्ल्यहा धरहरा क्षणभरमा समाप्त, अफगानिस्तानमाथि भयङ्कर आक्रमण, भारत र पाकिस्तानको सधैं चिसो सम्बन्ध । कतै तेस्रो विश्वयुद्ध त हुने होइन ? सशङ्कित भई सडक–भ्रमणमा हिंड्नु । लगभग यही दिनचर्या हो– हाम्रो ।
गजब छ– हाम्रो प्रातः भ्रमण । कुनै दिन एकाबिहानै सडकमा रोइरहेकी कुनै युवती भेटिन्छे । पूर्वी पहाडबाट कसैले भगाएर ल्याएको रहेछ । सीमाको कुनै लजबाट मजनु हरायो र लैला सडकमा परी । यस्ता कुरामा हामी सहदेव वा नकुललाई अगाडि बढाउँछौं ।
सहदेव छेउमा पुग्यो र सोध्यो– बहिनी ! तपाईं किन यहाँ रोइरहनुभएको ? के भयो ?
उसले कुनै जवाफ दिइन । न रुवाइ नै रोकियो । अब नकुलको पालो आयो ऊ छेउमा गयो र अलि कडा स्वरमा भन्यो–ए बहिनी ! तिमीलाई पुलिसको जिम्मा लाइदिउँ कि कसो ? आफ्नो कुरा भन्छ्यौ भने भन– तिमी को हौ, कहाँबाट आयौ ? युवतीले अब बल्ल टाउको उठाई । एकपल्ट वरिपरि हेरी र उल्टो सोधी– तपाईंहरू पुलिसको मान्छे हो ? म त्यहींबाट आएकी ।
“हामी कसैको मान्छे होइन । अहिले धेरै मान्छे जम्मा हुन्छन् । आफ्नो साँचो कुरा भन– हामी सहयोग नै गर्छौं ।” अर्जुनले आश्वस्त गराए ।
उज्यालो खस्न लागिसकेको थियो । भर्खरै प्रचण्ड गर्मी समाप्त भएर हावामा केही चिसोपन थियो । उसले आफ्नो परिचय यसरी दिई– “हामी दुईजना मन मिली घरबाट भागेका थियौं । उसको आसाममा कोही छ रे ! त्यही काम गरी जीवन बिताउन हिंडेका । तर हामी अभागी ‘।”
ऊ फेरि रुन लागि । युवतीका चिम्सा आँखा फेरि एकपटक राम्ररी रसाए । ऊ शायद भक्कानिएर रुन चाहन्थी । ‘आफ्नो कुरा बिस्तारै सुनाउन‘’ भीमले ढाढस दियो । मलाई भने महाभारतको द्रौपदीको सम्झना भयो–अनायास ।“पुलिसले भागी आएका भनेर पक्रियो । उसलाई कहाँ लग्यो थाहा छैन‘ मलाई दुई रात ठानामा थुनेर राखे ।
अहिले यहाँ सडकमा ल्याएर छाडीदिए । मेरो जाने ठाउँ कतै छैन ।” ऊ फेरि रोई– “रगत रोकिएको छैन‘ शायद मर्छु होला । मेरो कर्म‘ ।” हामी सबैले एकैपटक कुरा बुझ्यौं– पहाडबाट प्रेममा फसेर केटाकेटी भागे । साना–ठूला जातका हुनसक्छन् ।
केटालाई पुलिसले समातेर भगाइदिए, अनि यसलाई बलात्कार गरे, मर्छे भनेर सडकमा ल्याएर फ्याँकिदिए ।
“पत्रिकामा पढिन्थ्यो– आज आफ्नै आँखाले देख्नुपर्यो । देख्नुभयो बहुदल–भोग्नुभयो त प्रजातन्त्र ।” युधिष्ठिरले व्यङ्ग्यपूर्ण मुख खोले ।
स्थिति निक्कै सङ्कटमा थियो । हामी अनायास डरायौं । त्यहाँबाट भाग्नु उत्तम हुन्थ्यो । मैले बाटोमा आइरहेको रिक्सा रोकें र तिनलाई लिएर हस्पिटल जान चाहें । वास्तवमा तिनी रगतले लत्पतिइसकेकी थिइन् । मैले भनें– साथीहरू ! मेरो आजको ‘मर्निङ्गवाक’ समाप्त । म यिनलाई हस्पिटल पुर्याउँछु‘आगे देखा जाएगा ‘।
हस्पिटलमा कर्मचारीहरूको हडताल थियो । त्यहाँ डाक्टर मात्र होइन, अरू पनि कोही थिएनन् । मैले तिनको नाम यसै लेखाइदिएँ–‘लैला के.सी.’ र इमरजेन्सीमा पिउनको जिम्मा छाडेर आएँ ।
भोलिपल्ट बिहान भेट्नासाथ सबै साथीहरूले एकै स्वरमा सोधे– हिजोको महिलालाई के भयो ?
“हस्पिटलमा मुसा पनि थिएन, उनलाई इमरजेन्सीमा छाडें । अरू के गर्ने ?‘” मैले आफ्नो विवशता जनाएँ ।
एकैछिनमा सबैले स्थानीय अखबार ब्लास्टमा सानु समाचार बाटोमा नै पढें– अज्ञात युवतीको रहस्यमय मृत्यु । सबैजनाले यसलाई साधारण रूपमा लिए, मानौं केही भएको छैन । भीमले भने– कृष्णलाई काम भयो‘यौटा न्यूज भयो । अरू केहोला ‘?
यसरी चाखलाग्दो छ– हाम्रो प्रातः भ्रमण । कसै न कसैबाट केही नयाँ कुरा आउँछ । प्रसङ्ग चल्छ । खुल्ला कुराकानी हुन्छ । कहिलेकहीं सानोतिनो झगडाजस्तो पनि हुन्छ । हात नै हालाहाल होला भन्ने डर । फेरि एकैछिनमा म कुराले मिलाउँछु वा युधिष्ठिरले कूटनीतिक– वार्ता गर्छन् । एकैछिनपछि सबै सामसुम हुन्छ– वर्षाको खहरे खोलोझैं ।
यौटा स–सानो मेलाजस्तो हुन्छ– प्रातः भ्रमण । सबै समूह र उमेरका, सबै जात–जातिका, नारीपुरुषहरू, युवा– युवतीहरू त्यहाँ दौडिरहेका हुन्छन्, लमक–लमक पाइला बढाइरहेका हुन्छन् । यौटा असाधारण वातावरणभित्र हामी पनि हरेक बिहान पाइला बढाइरहेका हुन्छौं । यौटी अधबैंसे महिलामा हामी सबैले ‘मार्क’ गरेका रहेछौं । ‘मार्क’ गर्नाको कारण पर–परसम्म पुगेर पनि त्यसले हाम्रो समूहलाई फर्की–फर्की हेर्नु हो । ‘किन त्यो महिला हामीलाई फर्की–फर्की दोहोर्याई–तेहर्याई हेर्छे हँ ?’ एक बिहान यही कुरा उठ्यो ।
“म हिरोजस्तो छु– मलाई हेरेकी होली‘” नकुलले आफ्नो छाती फराकिलो बनाए ।
“म अलि सम्पन्न र धनीजस्तो छु । मेरो ट्रयाकसूटका कारण मलाई नै हेरेकी होली ।” सहदेवले आफ्नो प्रतिक्रिया यसरी व्यक्त गरे ।
“तिमीहरू आलाकाँचालाई किन हेर्थी त्यस अधबैसेले । आफ्नो लोग्नेजस्तो लागेर मलाई दोहोर्याएर हेर्छे ।” अर्जुनले ठोकुवा गरे ।
अब भीमले चूप लाग्ने कुरा थिएन । उनले पनि आफूलाई वार्तामा प्रस्तुत नगरी छाडेनन् – तिमीहरू के कुरा गर्छौ मेरा अगाडि । अहिले केटाकेटी नै छौ । म साँचो भनिदिउँ– त्यसले मेरो यो सुडोल शरीर हेरेकी । मेरो ठूलो छाती र बलिष्ठ पाखुरा हेरेकी ‘।” त्यहाँ हाँस्नुबाहेक अरू उपाय केही थिएन । मैले उकासें– युधिष्ठिरबाटै यसको निर्णय होस् । युधिष्ठिर सधैं कम बोल्छन् । बोल्न थालेपछि बन्द नहुने ‘अफ’ बिग्रेको टेप रेकर्डरझैं हुन्छन् । युधिष्ठिरले गम्भीरतापूर्वक आफ्नो न्यायिक निर्णय यस्तो दिए– “तिनले तिमीहरू कसैलाई हेरेकी होइनन् । तिनी र मैले सँगैजसो जागिर छाडेका थियौं । बिचरीको लोग्ने ‘हर्टएटाक’ भएर भर्खरै खस्यो‘ वर्षदिन पनि पुगेको छैन होला । फेरि तिनी मेरो छिमेकी पनि हुन् । तिनले मलाई हेरेकी हुन् । नचाहिंदो फटाहा कुरा गर्न कति आएको हाम्रा साथीहरूलाई । तिमीहरू जत्रा त उनका जुँगे छोराहरू छन् तर तिनको आत्मा अतृप्त भने पक्कै छ ।”
फेरि हाँसोबाट समाप्त हुन्छ ।
कुनै दिनको प्रातः भ्रमणको मुख्य ‘इस्यू वा प्रसङ्ग’ अब यसरी समाप्त भयो– हाम्रो ऐतिहासक र चर्चित ‘प्रातः भ्रमण’, अथवा आधुनिक फेसनको । गर्मीको महिना थियो ।
माओवादी आतङ्कले सारा सहर त्रसित थियो । थाहा थिएन कहाँ कुन बेला के हुने हो ? घरबाट बाहिर निस्कन कोही चाहँदैनथे । बारुद, गोली र बन्दुकको छायाँले हामी सबै त्रसित थियौं । यौटा अजङ्गको क्रूर राक्षस देशभित्र पसेको थियो र राष्ट्र समाप्त हुने दिशामा थियो ।
हामी सन्त्रासपूर्ण आँखा लिएर अलि ढिला ‘मर्निङ्ग वाक’ गर्न लागेका थियौं । ख्यालठट्टा र रमाइलो वातावरण त्यस्तै भए पनि हत्या र आतङ्कको समाचारले धेरै मात्रामा ‘सिरियस’ हुन्थ्यौं । त्यस बिहान युधिष्ठिर गयल थिए ।
प्रातःभ्रमणको टोलीमा पाँच जना मात्र थियौं ।
हाम्रो हिँडाइको क्रमलाई यौटा ठूलो आवाजले एक्कासि रोक्यो । हामी सबै दौडेर त्यहाँ पुग्यौं । यौटा सरकारी कार्यालय ध्वस्त भएको र त्यहाँ आगो लागिरहेको थियो । निश्चित थियो– त्यहाँ बम फुटेको हुनुपर्छ । हामी सबै डरायौं र के गर्ने हो ? अलमल्लमा पर्यौं । टाढा कत्तै गाडीको आवाज आयो । मान्छेहरू दौडेको र आत्तिएर कराएको स्वर सुनियो । इमरजेन्सीको साइरन बज्यो । हाम्रो किंकर्तव्यविमूढतालाई पुलिसको भ्यानले एक्कासि भङ्ग गर्यो –‘तपाईंहरू पाँचै जना यो भ्यानमा बस्नुहोस् ।”
हामीले किन भनी सोध्न पाएनौं । पुलिसको अर्को कडा आवाज आयो –“के हेर्छौ केटा हो ? कोच पाँचै जनालाई यस भ्यानमा । बम हान्नमा यिनीहरूकै हात हुनसक्छ । यस घटनाको पहिलो र प्रत्यक्षदर्शी यिनै त हुन्– यिनलाई नछाड“मुन्ट्याएरले ।”
हामीहरूको समूह अर्थात् त्यस बिहान पाँचैजना चूपचाप पुलिसको भ्यानमा चढ्यौं । हामीले त्यहाँ बोल्नुको केही अर्थ थिएन । पुलिसको भ्यान तुरुन्त अगाडि बढ्यो– हामीले एक अर्काको अनुहार हेर्यौं र रुन्चे हाँसो हाँस्यौं ।
सडकमा मान्छे र गाडीहरूको भीडले बाटो पाइसक्नु थिएन ।