शान्त्र्यै शिवजी हिमालयतिरै बस्थे नि कैलासमा
पत्नी थिन् पहिले प्रजापतिसुता बस्थिन् सती साथमा
के के कारणले यतातिर झरे श्रीशम्भु नेपालमा
दक्षैले अपमान धेर शिवको गर्दा भए यज्ञमा ।
त्यस्तो त्यो अपमान खप्न नसकी त्यो यज्ञको कुण्डमा
हाम्फालिन् सहसा विचार नगरी बल्दो त्यसै अग्निमा
बोकेरै तिनको शरीर शिवले सर्वत्र घुम्दा भए
तिन्को देह गलेर फत्फति झरे ती शक्ति-पीठै भए ।
दोस्रोचाहिँ बिहा हिमालयतुता श्रीपार्वती साथमा
आइन् शाम्भव तेज खप्न नसकी भागेर नेपालमा
मिर्गी भैकन पार्वती चरिरहिन् ती वाग्मती तीरमा
खोज्दाखेरि नपाइएर शिवजी सारै परे पीरमा
ध्यानैदृष्टि लगाउँदा त शिवले देखे मृगी पार्वती
आफ’ मिर्ग बनी तुरुन्त शिवजी आई मिले दम्पती
धेरै काल बसे उमा र शिवजी नेपाल रक्षा गरी
आजैसम्म यहाँ बसेर दुइटै गर्छन् कृपा बेसरी ।
आस्था हुन् दुइटै समस्त जनका मातापिता नै सरी
मिर्गी रूप लिएर नै छल गरी भागिन् उमा बेसरी
लप्सीको वनमा उमङ्ग मनमा राखेर घाँसै चरी
आएका त्यस कारणै शिव यहाँ मिर्गीवशैमा परी ।
मधुपर्क पुष, २०६५
dherei ramro
dherei ramro