खरेल आमैका दुई जना छोरामध्ये ठुलो नारायण अमेरिका र सानो रोसन क्यानाडामा छन् । पिताको निधन भइसकेको छ । यता आमै मात्र नेपालकाे घरका छिन् । अहिले उनी अलिक बिरामी छिन् । उनको रेखदेखका लागि छिमेकीमा भाडा गरेर बस्न आएको परिवारबाट ठुलो सहयोग छ । यस परिवारबाट सरसहयोग नभएको भए उनी अहिले तंग्रिने पनि थिइन् कि थिइनन् । अघि पछि जस्तो भएन यस पालि । नौनाडी नै गलेर आए । यस पालि उनलाई तातो पानी तताएर खान पनि मुस्किल परिरहेको छ ।
जोडिएकै पल्लो घरमा आएर भाडामा बसेको परिवार र आमैको नातो सारै नजिकैको नभए पनि त्यस परिवारले आमैको सह्यार निःस्वार्थ रुपमा गरिरहेको छ । हप्ता हप्तामा बुहारीचाहिं आएर आमैका लुगाफाटा धोइदिन्छिन्, छोरो आएर आमैलाई चाहिने सौदा गरिदिन्छ । कहिलेकाहीं नाति आएर आमैको टाउको दुखेको बेला मलम लगाएर मालिस गरिदिन्छ । अनि नातिनी आएर आमैको फुलेको कपाल सपक्क पारेर कोरिदिन्छे । नातिनीका कलिला हातको स्पर्शले आमैलाई सुखानुभूति हुन्छ । कहिलेकाहीं आमै बडो गनगन गर्छिन्- “आफ्ना भनेका मेरा यिनै हुन् । जन्म दिएका मोराहरू ता अर्काकोमा भतुवा बसेका छन् । अर्काको भतुवाहरूको के कुरा गर्नु । छि छि…..”
शनिबारको दिन थियो । छिमेकीमा बसेको परिवारका सदस्यहरू दिउसो आमैकोमा आएका थिए । नातिनातिना आमैको कोठामा बसेर टिभी हेरिरहेका थिए । बुहारीचाहिं आमैकै इच्छा अनुसार आमैको चुलामा गएर चिया नास्ता पकाउँदै थिइन् । आमै अलिक तंग्रिएर बस्नसम्म सक्ने भएकी थिइन् ।
“बाबु, यो चिठी खोलेर पढ न । हिजो आएको थियो । के लेखेको छ ? पढेर सुनाऊ त ।” आमैले अघिल्लै दिन आएको चिठी नातिलाई खोलेर पढ्न अराइन् । नातिले चिठी खोल्यो । यसै बेला उसकी आमा पनि चिया नास्ता लिएर त्यहाँ आएर चिठीको बेहोरा सुन्न थालिन् ।
“कसले पठाएको रहेछ ?” सोधिन् फेरि आमैले ।
“पठाउनेको नाम नारायण छ ।” हजुर आमालाई नातिले उत्तर दियो ।
“ए !! के लेखेको रैछ पढेर सुनाऊ त ।” आमैले भनिन् ।
अनि नाति चिठी खोलेर पढ्न थाल्यो । चिठीको बेहोरा सबैले सुन्न थाले ।
“आमा साष्टांग दण्डवत् !!
यहाँ हामी आरामै छौं । हजुरलाई कस्तो छ ? अब यो बुढेसकालमा धेरै दुःख नगर्नू । घरका काम गर्ने स्थायी नोकर नोकर्नी राख्नू । तपाईंलाई चाहिएको जति पैसा म पठाइदिइहाल्छु । अहिले यो आइएमइ गरिदिएको छु । यही साटेर काम चलाउनू । भाइले पनि क्यानाडाबाट पैसा पठाइहाल्छ । पल्लै घरबाट काम गर्नेहरू पाइए अरे भन्ने सुनेको छु । नजिकैका नोकरचाकरहरू राख्ता फाइदा पनि हुन्छ । राम्रै हो । उनीहरूलाई महिनावारी के कतिदिनु भएको छ ? बिचार गरेर दिनू । छिमेकी हौं भनेर चेपारा पारेर घर फोर्न पो पसेका हुन सक्छन् है । नोकरचाकरहरूबाट सतर्क हुनू । फेरि कुनै दिन लटिपटी पारिदेलान् । होस गर्नू । तालाचाबी राम्रो गरी राख्नू । पहिले बडो निःस्वार्थी भएर घर पस्छन् पछि लटिपटी लाउलान् है । होस गर्नुहोला ।
अहिलेलाई बिदा तपाईँको छोरा नायायण
हाल अमेरिका ।”
पत्र पढिसकेपछि अरुको ता अनुहार राम्रो देखिएन । बुहारीचाहिंको आँखामा आएका आँसुका धारा पुछ्दै चियासिया नखाई बाहिर निस्किन् । उनका साथै नाति नातिनीहरू पनि यो ठाउँमा बस्नु उचित रहेनछ भन्ने ठानेर आमाका पछि पछि लागे ।
