विश्व शिखर सगरमाथा क्षेत्रमा चैतदेखि नै पत्कली फुलेर सेताम्मे छ । बुढाबुढीहरू आँगनको डिलमा बसेर लोकलयमा पुरानो गीत गुनगुनाउन थालेका छन्-
पत्कली मेन्दोक स्यार्सुङ्
ग्याकुतु वेला लेप्सुङ् …
जंगलको एउटै पात नभएको रूखको हाँगाले थाम्नै नसक्ने गरी सेताम्मे फुलेका ठूल्ठूला फुलबारे सोद्धा दाँत फुक्लेकी सेर्पिनी वृद्धाले गाएको गीत हो यो । उनको मुहारमा एक्कासि आएको चमक र चिम्सा आँखाको हेराइले लाग्थ्यो, यो गीत अर्थपूर्ण छ । नभन्दै गीतले असी नाघेकी आमैलाई गाउँदा गाउँदै १६-१७ वर्षे उमेरमा फर्काइ दिएको रहेछ । नहाँसुन् पनि किन ? उनी त गाउँदै गर्दा बाला उमेरको रोमाञ्चकारी क्षणमा पो पुगिन् । ढुंगो खाए पनि पच्ने, जेसुकै देख्दा, सुन्दा र अनुभूति गर्दा पनि हाँसिरहन मन लाग्ने बेला ।
उमेरले चार बीस नेटो काटेर गाउन थाल्दा पनि काउकुती लगाउने गीतको अर्थ रहेछ, पत्कली फुल्यो, अब बिहे गर्ने बेला आयो । मुहारभरि मुजा परेकी सेर्पिनी बज्यैको चाउरी तन्काएर हाँसो भर्ने गीतको अर्थले कसलाई पो कुतकुती नलगाउला ? आफ्नो सोह्र वर्षे जोवन सम्झेर दिख खोलेर फेरि हाँसिन् उनी । उनलाई हाँसोमा साथ दिँदा दिँदै मनमा पुरानो भनाइ याद आयो, चैत महिना नै यस्तै हो । बुढापाका भन्थे, लौरो टेकेर भए पनि पोइल जान मन लाग्ने !
पत्कलीमात्र होइन, डाँडाभरि लाली गुराँस यौवन प्रदर्शन गर्दैछ । अनेक रंगीबिरंगी फूल, हिमाली हावाको मनै फुरुंग पार्ने वासना र चरा-चुरुंगीको चिरविरले हर प्राणीलाई मत्याइरहेको छ । झन् नाम्चे बजार पुग्नै लाग्दा देखिएका नौरंगी डाँफेको बथानले त्यहाँ हिँड्ने मानवहरूलाई पनि कम कुत्कुत्याएन । भाग्यमा भयो भने कस्तुरी र झारल नजिकै चरिरहेका देखिन्छन् । दायाँ, बायाँ र अगाडि ठडिएका चाँदीजस्ता हिमालले विगत बिर्साइ रहेको थियो । धेरैपल्ट ‘माउन्ट एभरेस्ट’ देशको मान्छे भनेर चिनाइएको मानिसले त्यो शिखर देखेको छैन भन्दा कति लज्जा बेहोरियो । त्यसैले जीवनको अन्तिम इच्छा नै मर्नु अघि सगरमाथा दर्शन गर्नु बनेको थियो । यस्तो लाग्थ्यो, यदि मरिहालियो भने पनि यमराजले सगरमाथा नहेरी आएछ भनेर फेरि नरलोकमा नै फिर्ता पठाउन के बेर ?
सफा, स्निग्ध लुक्ला विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ लाग्दादेखि नै पृथ्वीको उत्तरी र दक्षिणी धु्रव नपुगे पनि आफ्नै देशमा रहेको तेस्रो ध्ुव -पृथ्वीबाट सूर्यसम्मको सबभन्दा नजीकको भूक्षेत्र) पुगेको उमंगले मन प्रफुल्ल थियो-केटोले सगरमाथा नचढे पनि त्यसको फेदिसम्म भ्याउने भयो । उमेरले दुई बीस काटेर केही उकालो लागेको ममा के स्फूर्ति थियो र ? ६०-७० वर्ष नाघेका विदेशी बुढाबुढीको चालढाल पो हेर्न लायक थियो । पदयात्रा मार्गमा सुस्ताइरहेका बेला परिचय भएका विदेशीहरू नेपाली भन्ने चिनेपछि छक्कै परेर सोधे, साँच्चै तिमी नेपाली हौ ? नेपाली पनि पदयात्रा गर्छन् र ? के जवाफ फर्काउनु ? हाँसेर टारें । किन आफ्नै आङ कन्याएर छारो उडाउनु !
‘हुनेखाने’ नेपाली पदयात्रा होइन, हवाई यात्रा रुचाउँछन् । युरोप-अमेरिका घुम्छन् । देशलाई सिंगापुर र स्विटजरल्यान्ड बनाउने गुड्डी हाँक्छन् । डान्स रेस्टुरेन्ट र मसाज पार्लरमा सुरा, सुन्दरी-सुन्दरमा थुपै्र खर्च गर्छन् । तर आफ्नै देश डुल्दैनन् । ‘हुँदा खाने’ नेपालीहरू विदेशीको भारी बोकेर भए पनि ‘गोरे साहेब’ पुगेका ठाउँसम्म पुगेका छन् । तेन्जिङले त्यसै गरी सगरमाथा चढे । अरू कैयौंले त्यसैबाट विश्व कीर्तिमान कायम पनि गरे । सेर्पा जातिले आफ्नै बुताले आफूलाई विश्वभर चिनाए । तर, शासनमा बस्ने, त्यसको वरिपरि परिक्रमा गराइरहनेहरू आफ्नै देशबारे हेक्का छैन । थाहा पाउन् पनि कसरी ? कन्चटबाट पसिना बगाएर उनीहरूले देश दर्शन गरेका छैनन्, न आफूले गरेका छन् न त सन्तानलाई नै आफ्नो देशमा पसिना बगाउनु पर्छ भन्ने संस्कार दिएका छन् । त्यसैले नेपाल घुम्नुपर्छ भन्ने पाठ्यपुस्तक पश्चिमेली गोराहरूले पढाए पनि आफ्नै देशमा त्यसबारे पत्तो छैन । सरकारमा बस्नेहरू, युवा- देशदर्शनमा खर्च गर्नै पर्ने निर्णय गर, आफ्नो विदेश भ्रमणमा होइन । विद्यार्थी उमेरका युवायुवती ‘ठमेल संस्कृति’ मा रम्नुको साटो ‘एक्सकर्सन टुर’ को व्याख्या गरी नेपालकै गाउँबस्ती, दूरदराज जाने व्यवस्था गरे कति ज्ञान बढ्थ्यो होला भोलिका देश निर्माताको ।
नर्थफेस होटल -लुक्ला) का सञ्चालक नुरी शेर्पा भन्छन्, नेपालीलाई सगरमाथा क्षेत्रमा स्वागत गर्न पाउँदा खुसी लाग्छ । तर के गर्नु ? स्वदेशी दाजुभाइ नगण्यमात्र आउँछन् । तर विदेशी ? ओहो, आफ्ना केटाकेटी, परिवारलाई सँगै पदयात्रामा ल्याउँछन् । विश्व सम्पदा सूचीमा परेको संसारकै उच्च भूभागमा आफूले गर्वानुभूति गरिरहँदा परिवारलाई पनि सँगै राख्छन् । खुसी बाँड्छन् । तर हामी नेपाली ? यदाकदा आइहाले पनि हामी होटलमा आइपुग्नेबित्तिकै मासु, छ्याङ, रक्सी नै खोज्छौं ।
यो वास्तवमै शान्ति क्षेत्र हो, जहां काटमार हुंदैन । होहल्ला र मासु पोलेर दुर्गन्ध फैलाइयो भने बुद्ध भगवान रिसाउछन् भन्नेमा लामाहरुको विश्वास छ । जताततै सुगन्धित धुप मगमगाइरहेको हुन्छ । यस्तो रहस्यमय पवित्र भूमिमा आइपुग्दा प्राय नेपालीले एउटा पुस्तक समेत पढेका हुदैनन् । नेपाली भाषामा पदयात्राको एउटा रहर लाग्दो पुस्तक पनि प्रकाश्ाित भएको छैन । तर धेरैजसो पर्यटक नेपालीले तीर्थस्थलको जल ल्याए झैं खुम्बु आइसफल वा आफू पुगेको सबैभन्दा उच्च ठाउको जल लिएर र्फकदा रहेछन् । त्यो जल उनीहरु भरियालाई होइन आफैं बोकेर आफ्नो देश पुर्याएर तीर्थे भोजमा इष्टमित्रहरलाई प्रदर्शन समेत गर्दा रहेछन् नेपालको पवित्र जल ।
महँगो छ । कसरी नेपालीले धान्न सक्छन् सगरमाथा क्ष्ाेत्रको पदयात्रा ? यो त गोराहरु निम्तिमात्र हो नि ! तर यो भनाइ स्वीकार्न एउटै शेर्पा तयार छैन । न त शेर्पा वर्चश्व तोडेर विश्व प्रसिद्ध पदयात्रा मार्गमा विस्तारै ठाउँ बनाइरहेका शेर्पा बाहेक अन्य व्यवसायी नै यो भनाइलाई पचाउँछन् । सबै व्यवसायी एक मतले भन्छन्, यहाँ त्यस्तो महँगी कहाँ छ र ? यो महँगो हुँदै होइन ।
काठमाडौं, मुग्लिङ, चितवनमा सय रुपैयाँ पर्ने दाल भातलाई यहाँ एक सय चालीस-पचास पर्छ । दस-बाह्र दिन लगातार भरियाले बोकेर पुर्याएपछि पकाएको ताजा खाना एउटा नेपालीले धान्नै नसक्ने महँगो हैन । फेरि हिमाली क्षेत्रको यात्रामा सबैभन्दा राम्रो खाना दालभात हो, गत कात्तिकमा मनाङ जांदा हिमालयन रेस्कयुका क्यानेडियन डाक्टरले सुनाएका थिए ।
अनि बसाई ? बसाई त ढाड सेक्ने छ नि ! नेपालीलाई प्रायः शेर्पाले बास पनि दिँदैनन् । आफ्नै जिल्लाको सिडियोलाई आधारातमा निकालेर गोरो छालालाई बसाएको उदाहरण रहेछ नि ? कसरी आउनु यस्तो ठाउँमा नेपालीले ? जाडोमा विचल्ली पर्यो भने ?
फाक्दिङ स्टार लजका मालिक ग्याल्जेन नुरु शेर्पाले यो आरोपलाई ठाडै नकारे । ‘हाम्रो मनमा दैव छैन र ? कुनै एक बेलाको उदाहरण दिएर त्यसो भन्न मिल्दैन । नेपालीलाई पनि हामी उत्तीकै सम्मान गर्छाैं । के नेपाली हाम्रा ग्राहक होइनन् र ?! उनीहरु पैसा दिँदैनन् र ?! तर, विदेशीहरु हाम्रा अतिथि हुन् । उनीहरुलाई हामीले राम्ररी स्वागत गरेनौं भने पर्यटन व्यवसायमाथि नै धक्का लाग्छ ।’
हेर्नुस्- ग्याल्जेनले औंला उठाएर भने, म पनि नेपाली हुँ । हामीले पनि आफूलाई केही कुरामा सुधार्नुपर्छ । नेपालीले असाध्यै फोहोर पारेर कोठा छाडिदिन्छन् । सिरक डसनाले जुत्ता पुछिदिन्छन् । मोजा गनाएर होटल नै दुर्गन्धित पार्छन् । चुरोट जथाभावी ठुस्छन् । जाँड रक्सी खाएपछि हल्ला मात्र गर्दैनन््, छोरीचेली जिस्क्याएर अरुको हुर्मत लिन्छन् । यस्तो बानी सुधार्दा हामी नेपालीलाई के बेफाइदा हुन्छ, हैन र ?
विश्वको सबभन्दा उचाइमा रहेको होटल भनेर गिनिज बुकमा लेखिएको ‘एभरेष्ट भ्यु होटल’ का म्यानेजर आङ नुरु शेर्पा भन्छन्-नेपालीहरुलाई यात्रामार्गका होटलले कम पैसा नै लिएका छन् । राम्रो व्यवहार पनि गरेका छन् । तर, नेपालीले पनि के कुरा मानिदिनुपर्छ भने टुरिष्ट सिजनको मारामार टाइममा आउनुको बदला अलिकति त्यो समयलाई छलेर आउन सक्यो भने धेरै सस्तोमा रोमाञ्चकारी र अविस्मरणीय यात्रा फत्ते गर्न सकिन्छ ।
कुन बेला उपयुक्त होला नेपालीलाई सगरमाथा क्ष्ाेत्रको भ्रमण ? समय बुझेर पदयात्रामा निस्कने हो भने उचित मूल्यमा सगरमाथा क्ष्ाेत्र भ्रमण गर्न साधारण नेपालीले पनि सक्छ, नसक्ने होइन । तर यसको लागि वैशाखदेखि असोज उपयुक्त समय हो । यो बेला असाध्यै रमाइलो हुन्छ । धेरै जाडो पनि हुन्न । हरियालीले ढाकेको हुन्छ । फुल फुलेर बाटो नै ढाकेको हुन्छ । झरनाहरु झरिरहेका हुन्छन् । चराचुरुङ्गी र वन्यजन्तु प्रसस्तै देख्न पाइन्छ । भन्नुस् फोटो कति खिच्नु हुन्छ ? तर यसको लागि सबभन्दा पहिले तपाईंलाई विश्व शिखर क्षेत्र भ्रमण गर्ने इच्छा हुनुपर्यो । त्यसको तयारी गर्नुपर्यो र यात्रा निम्ति घरबाट पहिलो पाइला चाल्नु पर्यो ।
