Skip to content


चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!

फुस्फुसाउँदै गरेको सेतो सफा,
तर आफू भित्र कलबिख भरेका
त्यान्द्राहरु; माथि कतै आकाशबाट
कोमल स्पर्शको भान पार्दे,
मैले भोगेका कथित् चोखो माया जस्तै,
मुटु सम्म हान्दै जान्छन्
र उसको आगमनले
संसार श्वेत, सफा भएको नाटक गर्छन्!!

बिहानै गन्तव्यतिर हिँडेका-
ती कुम्लो बोकेका पुरुषहरु,
ती बच्चा बोकेका स्त्रीहरु,
विवस! एक आपसमा टाँसिएर
कुनै कालो ओडारको ओतमा
एक अर्काको टाउकाबाट सेता झाम्टा झार्दै होलान्,
अचानक टुङ्गिएर पूर्णविराम लागेको
मेरो डग्मगाउँदो यात्रा जस्तै!!!

सबैलाई बिहानी गित सुनाउँदै बिउँझाउने
साना साना चरिहरु,
अचानक बल्झिएको प्रलयबाट
टाढा जाने चेष्टामा,
कतै कुनै गुँड भित्र गुँडुल्किएर बसेका होलान्
अनायासै थन्किएका,
मेरा साना साना सपना जस्तै!!!

(डिसेम्बर, जनवरी २००६,२००७, साझा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *