Skip to content

अमृता लम्साल भर्सेस अमृता बाँस्कोटाको रामकहानी


‘लौ सुन म भन्छु मेरो राम कहानी त्यो एकदिनको घाम सयौं दिनको पानी….’
यी हरफहरू नेपालका ख्यातिप्राप्त धरोहर गोपाल योञ्जनका शब्द, संगीत र अर्का धरोहर नारायण गोपालको स्वरमा गुन्जिरहने सदाबहार गीत, तर आज म यो गीतको बारेमा लेख्न गइरहेकी छैन बरु ती हरफहरू सापटी लिएर आफ्ना कुराहरू राख्ने प्रयास गर्दैछु।
लौ सुन म भन्छु, मेरो रामकहानी, अमृता लम्साल भर्सेस अमृता बाँस्कोटाको कहानी, केही समय अगाडि एउटा कार्यक्रममा भेट भएकी एउटी बहिनीले एक्कासी प्रश्न गरिन,’आम्मोई नि दिदी, किन सम्बन्ध विच्छेद गरेर बस्नुभएको?’ उनको प्रश्नले दिमागलाई यस्तरी ततायो कि, दिमागभित्र पानी उमाल्न मिल्ने विधि वा भाँडो भैदिएको भए त्यो पानी उम्लने मात्रै होइन, त्यो पोखिएर कसैको शरीरमा फोका समेत उठाउँथ्यो होला। तर आफूलाई सकेसम्म शान्त देखाउँदै उल्टै प्रतिप्रश्न गरें, ‘कमसेकम तपाईंले त यस्तो प्रश्न नगरिदिनुभएको भए हुने थियो।’
उनी कुनै दुर्गम स्थानमा बस्ने अशिक्षित ब्यक्ति थिइनन्, जसलाई कसैको ब्यक्तिगत जीवनको बारेमा सार्वजनिक स्थानमा यस्ता प्रश्नहरू राख्नु सभ्य होइन भनेर सिकाउनु परोस्। उनी त अमेरिकाको समाजमा रहिरहेकी थिईन जहाँ मानिसहरू सकेसम्म अर्काको ब्यक्तिगत जीवनमा नाक गाड्न जाँदैनन् मात्र होइन, त्यस्ता ब्यबहारलाई ‘असभ्य’ नै ठान्दछन्। त्यसमाथि पनि त्यो दिन उनीसँग मेरो पहिलो भेट थियो। मलाई पछि मात्र थाहा भयो, उनी त उनको पतिको दोस्रो श्रीमती रहिछन, जुन पतिले पहिलो पत्नीसँग सम्बन्ध बिच्छेद नै नगरी उनीतर्फका बच्चाहरूलाई यत्तिकै अलपत्र छाडेर उनीसँग दोस्रो घरजम गरेका रहेछन।
हुन त, मेरो यो लेखको उद्देश्य कसैको जीवनचर्या खोतल्नु होइन, मेरो आफ्नै ‘राम कहानी’ अगाडि ल्याउनु मात्रै हो। किनकि, म यो ‘हिप्पोक्र्याट’ समाजको एउटा सदस्यको नाताबाट मुक्ति पाउन चाहन्छु, आफ्नो मुखमा लगाएको वा लगाउनु पर्ने ‘मुखौटा’ बाट मुक्त हुन चाहन्छु, त्यसैले म भन्छु, मेरो राम कहानी।
हो, मैले सम्बन्ध बिच्छेद गरेर बसेको आठ बर्ष भैसक्यो र एक्लै बसेको बाह्र बर्षभन्दा बढी भैसक्यो किन? र कसो? भन्ने प्रश्नको बारेमा म घरको चारदिवारी वा कोठा भित्रका कुरा छरपष्ट गर्न चाहन्न र यसको जरुरत पनि देख्दिन।
यदि कसैलाई मेरो यो ‘अस्तित्व’ स्वीकार्य छैन भने मसँग पूर्ण रुपमा नाता सम्बन्ध तोडेे हुन्छ, जीवनको झन्डै आधाभन्दा बढी उमेर काटिसकेकी म, सँधै अरुलाई खुशी बनाएर बाँच्नुपर्छ भन्ने मान्यताबाट मुक्ति पाउन चाहन्छु। मैले मेरो ‘अस्तित्व’ लुकाएर बाँच्नु पर्ने कुनै आबश्यकता छैन र म समाजका ‘हिप्पोक्र्याट’हरूका नजरमा मेरो ब्यक्तिगत जीवनमाथि गरिने प्रश्न र ठड्याइने औंलाबाट आजित भैसकेँ। ‘श्रीमती’को पदवी झुण्ड्याएर बाँच्न नचाहेकै कारणले मेरो जीवनको अमूल्य तेइस बर्ष खर्चिएर बनाएका थुप्रै ब्यक्तिहरूको सम्बन्धलाई पानी बाराबारको स्थितिमा पुर्या्उनु पर्योु। हुन त, त्यस्ता सम्बन्धहरू जो ‘मानवीयताको’ या ‘मानवीय’ सम्बन्धको ‘कपुरी ‘क’ समेत चिन्दैनन् या नचिनेको बहाना गर्दछन् भने मेरो जीवनमा त्यसको कुनै अहमियत बाँकी रहेको पनि छैन।
ती सम्बन्धहरू मेरा लागि केवल गीतका निम्न हरफहरूलाई चरितार्थ गर्ने नै भईदिए,
‘म उठ्दा आकासले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोए यो आँसु रित्याऊँ भनेर
तर आँसुले नै मलाई नै बगाउँछ……’
त्यसैले एकपटक ‘हलेदो’ भनेर चिनिसकेपछि कोट्याउनुको कुनै अर्थ पनि रहेन। त्यसैले चिच्याउनु पर्ने भए चिच्याएरै भन्न चाहन्छु, कुनै बेला अमृता बाँस्कोटाको नाममा पत्र–पत्रिकामा लेख्ने ब्यक्ति मै हुँ, जो आज अमृता लम्सालको नामले लेख्दैछु्र केही महिना अगाडि, मैले एक पीडित महिलाको कुरालाई सार्वजनिक गर्ने प्रयाश गरें। उनको कुरा धेरै अगाडिदेखि थाहा हुँदाहुँदै पनि म उनलाई पत्र–पत्रिकामा जानुभन्दा आफू मानसिक, कानूनी तथा आर्थिक रुपले सक्षम हुने कोसिसमा लाग्नुपर्दछ भनेर सल्लाह तथा सुझाव दिने गर्दथें। एक दिन परिस्थिति यस्तो बन्यो कि, बाध्य भएर उनको कुरा पत्रिकामा ल्याउनु पर्योथ। तत्पश्चातका दिनमा मैले धेरै मानसिक तनाव भोगें। हुन त, लेखेका कुराले तनाव भोगेको त्यो पहिलो घटना पनि होइन र अन्तिम पनि हुने छैन तर त्यसपछिका दिनमा ती महिलालाई समेत मसँग संगत नबढाउन सल्लाह दिइएछ किनभने, म आफ्नै घर राम्ररी चलाएर बस्न नसकेकी ब्यक्तिले अरुको पनि घर बिगार्छु रे! यहाँनिर यो पनि उल्लेख गरिहालौं, ती महिलालाई सल्लाह दिनेहरू मध्ये मानव अधिकार र महिला अधिकारको वकालत गर्ने ब्यक्तिहरू समेत थिए। अब आफैं छुट्ट्याउनु होसर खुट्ट्याउनु होस हाम्रो ‘समाज’ र कथित ‘अधिकारकर्मी’हरू कति धेरै मुखौटा ओडेर हिंड्न सक्दा रहेछन्? हुन त, निमुखा भीडले अपमानित गर्दा र नाङ्गै पार्ने अवस्था समेत आइसक्दा हात बाँधेर हेर्न सक्ने समाजको अगाडि ‘बली दिन ठीक्क पारिएको बोकाले’ रुन्छे स्वर निकालेर ‘म्याँ’ गरेर गिडगिडाउँदैमा बली दिन नरोकिने हो र?
यसै सन्दर्भमा अर्को एउटा प्रसँग पनि उल्लेख गर्न मन लाग्यो करिव डेढ दशक अगाडिको कुरो हो, एक जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमै स्थापित नेत्रीसँग आफ्नो जीवनका ब्यक्तिगत केही कुराहरू खोलेकी मात्रै थिएँ, उहाँको तत्काल प्रतिक्रिया आयो, ‘हामी महिला आन्दोलनमा लाग्नेहरूले यस्ता कुराहरू अगाडि ल्याउनु हुन्न। उसै पनि समाजले हामीलाई राम्रो दृष्टिकोणले हेर्दैन, झन यस्ता कुरा थाहा पाए भने त झनै राम्रो ठान्दैनन्।’ समाजको यो दृष्टिकोण आज पनि उत्तिकै कसिलो रुपमा रहेकै छ, चाहे आफन्तको नाममा या साथी/सँगी कुटुम्ब जोसुकै हुन अनुहार अगाडि एउटा कुरा गर्छन पीठ घुमायो कि जिब्रो फट्कार्दै मजा लिन थाल्दछन। आखिर, दुःख परेको समयमा तिनका तीता/मीठा कुराले जीवन थेगिने त होइन? बरु गोपाल योञ्जनका शब्दहरूमा उल्लेख गरिएझैं आकाशले थिच्ने र धर्तीमा खाल्डो खनेर गाड्ने काम पल पलमा गर्न हिच्किचाउंदैनन्। त्यसैले महिला भएकै नाताले या कति गुम्सिएर बस्नु पर्ने? कतिसम्म इज्जत जाने नाममा हुतिहारा या डरछेरुवा भएर आफ्नो कुरा लुकाउनु पर्ने? अनि ‘इज्जत’ कसको जाने? पीडितको कि पीडक बनाउन तम्सिने समाजको ?
जब मैले बाह्र बर्ष अगाडि देश छाड्ने निर्णय गरेँ, त्यो कुनै सुखको खोजीमा गरिएको वा बिदेशमा बस्ने लालसाले लिएको निर्णय थिएन, त्यो त नेपाली समाजमा एक्लै बस्दा भोग्नुपर्ने समाजको र आफन्त भनिनेहरूको तीखो बचन बाण र अनेक खालका दवावबाट मुक्त भएर जीवन जिउने चाहना थियो, चाहे कसैले यसलाई ‘पलायन’को सँज्ञानै किन नदेओस्।
त्यति हुँदा पनि क्रुर समाजले शान्तिको सास फेेर्न दिएन दूरदराजको देशमा खबर आइपुग्यो, ‘ल फलानो त घर बेचेर, भएभरको पैसा लिएर नेवार ब्वाईफ्रेन्डसँग भागेकी रे!’ त्यो हल्ला चलाउने अरु कोही नभएर पेशागत समक212ीमध्येेकै कोही थियो, आफूलाई महिला हिंसाको बिरुद्ध लड्दै हिंड्ने सिपाहीको नाममा चिनाउँदथ्यो र चिनाई राखेकै छ। साँच्चै त्यस्तो सोच र हिम्मत भएको भए देश छाडेर हिंड्ने निर्णय लिनु पर्दथ्यो होला र? हल्ला चलाउने धूर्त दिमागले त्यति पनि सोच्न भ्याएनछ! आफू माथि घटेका त्यस्ता मानसिक हिंसाको न्याय माग्न कता जानु?
जे होस, आज मैले खुलेर आफ्नो राम कहानी सुनाएकी छु र यहाँहरू कसैलाई ‘श्रीमती’को पद बिनाको मेरो अस्तित्व स्वीकार छैन भने म यहाँहरूको उक्त निर्णयलाई खुला दिलले सहर्ष स्वागत गर्दछु। तर म कसैको स्वार्थका लागि या कसैको खोक्रो इज्जत जोगाउन ‘हिप्पोक्र्याट’ भएर बाँच्न कुनै पनि हालतमा तयार छैन र म कुनै हालतमा पनि अबका दिनहरूमा मेरो ‘अस्तित्व’लाई नस्वीकार्ने समाज, आफन्त र नजिककै नाता–कुटुम्बका ब्यक्ति किन नहुन, उनीहरूको ‘इज्जत’जोगाउन ‘हिप्पोक्र्याट’ भएर बाँच्न कदापी तयार छैन।
त्यसैले कसैलाई पनि सम्बन्ध बिच्छेदकै कारणले मेरो जीवनको मूल्यांकन गर्ने अधिकार छैन, यसको बाबजुद, कसैलाई चित्त बुझे पनि नबुझे पनि म, मैले अन्याय ठानेको विषयमा बिरोध जनाई नै रहनेछु।
अन्त्यमा फेरि पनि सोही गीतका सुन्दर हरफहरू साभार गर्नचाहन्छु जुन मेरो जीवनको हरेक क्षणसँग हुबहु मेल खान्छ,
‘तेरो आश्वासनमा मैले बाँची हेरें
मैले आगोमाथि पनि नाची हेरें
जीवनलाई चारैतिरबाट हेरें
केवल म पुरानो, सबै नौलो पाएँ
यही गीत साँचे, पछिलाई निसानी
त्यो एकदिनको घाम सयौं दिनको पानी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *