Skip to content

सानो मुसा र ढाडे बिरालो


आँखामा निद्रा थिएन । घरि यता फर्कन्छु घरि उता फर्कन्छु । जिरोवाटको बल्ब बलिरहैको छ । निभाउन जान पनि अल्छी लागिरहेछ। बेड स्वीच नभएकाले कहिलेकाहीँ त्यत्तिकै पनि सुतिदिन्छु बत्ती ननिभाइकनै। सधै झैँ आज पनि टेबुल मुनी खस्र्याक-खस्र्याक गरेको आवाज मेरो कानमा पर्दछ। जिरोवाटको मधुरो प्रकाशमा राम्ररी ठम्याउदैन आँखाले । सुतिसुति टर्चलाईट बाल्छु र हिजोअस्ती जसरी नैँ रमिता हेर्छु म । मलाई खुब रमाइलो लाग्ने गरेको छ यो दृश्य। सधैँ यही समयमा यो दृश्य हेर्ने बानी नैँ परिसकेको छ म मा। हुँदाहुँदा यो दृश्य नहेरिकन निदाउनैँ नसक्ने भैसकेँ म । एउटा सानोसानो रहर लाग्दो, हेरिरहुँ लाग्ने रातोरातो कालोकालो रंगको मुसा मेरो कोठाको टेबलमुनी आउँछ र त्यहाँ भएका कागजको टुक्रा मुखले च्यापेर घिसार्दै अलिपरसम्म लान्छ । फेरी यताउता हेर्दै गुरुर्र कुद्छ । फेरी आउँछ । अघि परसम्म लगेको कागजको टुक्रा फेरि टेबुलमुनी ल्याउँछ। किरिक् किरिक् पार्दै ससानो टुक्रा पार्छ। मुखबाट चिँचिँ आवाज निकाल्दै कराउँछ । पल्याक्पुलुक हेर्छ। कोही आयोकी भनी सतर्क हुन्छ। नियमित क्रिया हो यो उसको । लगभग१५दिनदेखि म उसको यो दृश्य हेर्दै आएको छु। मलाई खुब रमाइलो लाग्छ यो दृश्य। दिउँसो कहाँ जान्छ?,के गर्छ?, के खान्छ?, केके विगार गर्छ?,त्योसँग मेरो सरोकार रहदैन। तर बेलुका जब म सुत्नकालागि ओछ्यानमा पल्टन्छु, तब त्यो सानो मुसा सधैँ आउँछ र मलाई मनोरञ्जन दिलाउँछ। यसरी मनोरञ्जन गराउने क्रममा छ आज पनि उ। म रमाइलो मानीमानी उसको गतिविधि चाख मानेर हेरिरहन्छु। हेर्दाहेर्दै त्यहाँ एउटा ढाडेबिरालाको प्रवेश हुन्छ। एक्कासि झम्टन्छ ढाडेबिरालो विचरा त्यो सानो मुसा माथि। म जुरुक्क उठ्छु ओछ्यानबाट बिरालो धपाउन । म ओछ्यानबाट उठी नसकी त्यो सानो मुसा चिँचिँ गर्दै अत्तालिएर ढोका बाहिर भाग्छ । ढाडेबिरालो पनि मुसाको पछिपछि दगुर्छ। म बाहिर निस्कन नपाउँदै न मुसा हुन्छ त्यहाँ, न ढाडेबिरालो। मन खिन्न पार्दै आएर पल्टिन्छु ओछ्यानमा । । भोलिप्ट पनि त्यही समयमा म मुसाको बाटो हेर्छु। अँहँ त्यो मुसा फेरि कहिल्यै देखा परेन । बरु त्यो ढाडेबिरालो भने दिनहुँ म्याउम्याउ गर्दै पो आउन थाल्यो।
२०७१/०८-०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *