सगरमाथाको देश मेरो लालीगुराँस फुल्दछ
बयेली खेल्दै तराई फाँटमा धानबाला झुल्दछ
नौरङ्गी डाँफे रमाउदै हेर्छ मयुर नाँचेको
कोईली गाउँछे पहाडी भाका हिमाल हाँसेको
छङछङ गर्दै झर्दछन् झर्ना संगीत धुनमा
गर्व र खुशी दुवै छ मलाई नेपाली हुनमा
मेची र काली गण्डकी कोशी बग्दछन् सुसाई
न जाडो भन्छन् न गर्मी भन्छन् न बस्छन् बिसाई
अमृत समान महत्व यिन्को छ थोपाथोपामा
गर्व र खुशी दुवै छ मलाई नेपाली हुनमा
पुर्खाको नासो न बनोस् पासो होस् गरौँ सबैले
यो देशभन्दा ठूलो हुँ भन्ने नसोचौँ कसैले
धर्तीको स्वर्ग यै देशमा छ बनाउन सकेमा
गर्व र खुशी दुवै छ मलाई नेपाली हुनमा
(राष्ट्रभक्ति गीत)
देवीजी सारै राम्रो लाग्याे ।
देवीजी सारै राम्रो लाग्याे । राष्ट्रिय भावले अाेतप्रोत गीत ।