Skip to content

मझेरी भलाकुसारी, अंक १७ (रामकृष्ण पौडेल अनायास)

20141207_RamKrishnaPoudel-Interview-01


मझेरी भलाकुसारीमा स्वागत छ रामकृष्णजी ! पहिले त आफ्नो परिचय दिनुस् न!

धन्यवाद कुमार सर । मैले आफ्नो बारेमा भन्नु पर्दा आफूलाई साहित्यप्रेमी, साहित्यको बारेमा केही सिक्दै गरेको विद्यार्थी हुँ भन्न रुचाउछु । स्कुल जीवनदेखि साहित्यलाई माया गर्दै आएँ र सारिक हुदै आएँ । गाउँ समाजमा कुनै व्यक्तिको दुख समस्या देख्न नसक्ने हुनाले धेरै संघर्ष पनि गर्दै आएँ । म कहिल्यै असत्यको पछाडि लागिन । सधै सत्यलाई साथ् दिदै पनि आएको छु । हुन सक्छ मलाई त्यसैले धेरै कुराले भावुक बनाएर पनि होला फाट्ट फुट्ट साहित्यमा कलम चलाएको । आँखाले देखेका कुराहरूमा थोरै घुमाएर कलात्मक तवरले मझेरी र अन्य पत्र-पत्रिकामार्फत पाठक सामु पुर्याउन कोसिस गरेको छु ।

मैले हालसम्म गजल विधा, कविता, कथामा कलम चलाउदै आएको छु । पछिल्लो समयमा चितवनबाट पहिलो भन्नु पर्छ गजलमा सवाल-जवाफ ”धमिलिएका डोबहरू ”कृति बजारमा आएको छ पाठकले निकै रुचाइदिनु भयो खुशी पनि छु ।

स्थायी बसोबास भरतपुर -१३, कविडाँडा कैलासनगर चितवनमा जन्मिए र कविडाँडाको माहोल साहित्यमा निकै नै तातिरहेकोले मलाई त्यो माहोलले छुटाउन सकेन । त्यसैले पनि चितवनका सामाजिक र साहित्यिक बिबिध संघ-संस्था
– गजलमन्च चितवन
– कविडाँडा साहित्य समाज
– समर्पण साहित्य परिषद
– अभिब्यन्जना साहित्य प्रतिष्ठान
– हाम्रो मझेरी साहित्य परिषद,
आदिमा संलग्न छु । र बिगत ११ वर्ष अगाडिबाट आफूलाई साहित्यको महायज्ञमा पुजारीको रुपमा सरिक गराएको छु ।

यो साहित्यिक नाम “अनायास” किन रोज्नुभयो?

साहित्यिक नाम अनायास रोज्नुको कारण मेरो मस्तिष्कमा अनायासै रचनाहरू फुर्ने भएकाले जुनसुकै समयमा पनि कहिलेकाहीँ शब्दहरू फुर्ने गर्छन् । त्यसैले मैले आफ्नो नाम पछाडि अनायास राख्न रुचाएको हो ।

गजलको क्षेत्रमा जल्दोबल्दोसँग लागिरहनुभा’छ; त्यो ऊर्जा कसरी आउँछ?

वास्तवमा जल्दो बल्दोसँगभन्दा पनि साहित्यले नकारात्मक सोचलाई परिवर्तन गर्छ । त्यसैले साहित्यमा लाग्नु ठिक हो । अनि साहित्य भनेको हृदयको कलात्मक अभिव्यक्ति हो । आफूले गरेका रचनालाई बाहिर ल्याउन वा साहित्यको सम्रक्षण गर्नका निम्ति पनि हो र साहित्य क्षेत्र भनेको सकारात्मक सोचको विकास गर्ने एउटा सत्संगत् वा महायज्ञ हो । त्यसैले पनि आफू र समाज विकासका निम्ति रचना मार्फत नै केही गर्न सकिन्छ कि भनेर प्रकृतिमा भएका कुराहरू टपक्क टिपेर देश र जनताले भोगेका, अनि देश दुखेका माया प्रेम मिलन बिछोडका कुराहरू आदिलाई शब्दका मार्फत सानो क्रान्तिको थालनी गर्न खोज्दा यो क्षेत्रमा जल्दोबल्दो तरिकाले लागेको देख्न सक्नुभएको हुनसक्छ । सायद ऊर्जा कसरी आउँछ भन्ने कुरामा चाहिं यिनै बिबिध गतिबिधि, जहाँ अन्याय हुन्छ, जहाँ समस्या पर्छ, जहाँ पीडाको अनिभूति हुन्छ र खुशीको पल हुन्छ यस्तै पलहरूले नै शब्द भोर्ने ऊर्जा प्रधान गर्दछ ।

के कस्ता साहित्यिक गतिबिधिहरू गरिरहनुभएको छ?

बास्तवमा चितवन र कविडाँडा साहित्यको उर्वरभूमि हो । यहाँ साहित्यको भेल चैत बैसाखको खडेरीमा पनि उत्तिकै उर्लिरहेको हुन्छ । त्यसैले हरेक दिन हरेक हप्ता हुने विभिन्न कार्यक्रममा विशेषत आयोजकको भूमिका पनि निर्वाह गर्दै आइरहेको छु र अन्य कार्यक्रममा उपस्थिथि पनि जनाउदै आइरहेको छु । त्योभन्दा पनि हाल साहित्यमा एउटा नराम्रो बिकृति हाबी भएको छ – साहित्यमा गुट, उपगुट र राजनीतिक भातृ संगठन जस्तो बन्दै गइरहेको छ । यस्तो बिकृतिबिरुद्ध म साहित्यिक क्रान्ति पनि गरिरहेको छु । साहित्यमा पैसा भएका व्यक्ति मात्र अगाडि बढ्ने जस्तो देखिन थालेको छ । आर्थिक रुपमा कमजोर श्रष्टाका राम्रा सिर्जनाहरू अगाडि ल्याउन म भरपुर कोसिसमा छु ।

हाल बजारका महंगा होटलमा रक्सीको मातसँगै कार्यक्रम हुन्छन । सम्मान पुरुस्कार एक आपसमा साटासाट, ऐचो, पैचो गरे जस्तो गरी विभिन्न गतिबिधिहरू भैरहेको छन् । यस्ता गतिबिधि रोकेर नव-सर्जकदेखि लिएर ठुला श्रष्टासम्म पच्ने प्रकारका गतिबिधि गरी साहित्यलाई सुद्ध रुपले अगाडि बढाउन अग्रजप्रति विनम्रता गर्दै एउटा राम्रो सिर्जना र श्रष्टाको उचित मूल्यांकन गर्दै साहित्यको जगेर्ना गर्न अनूनय गरिरहेको छु अग्रजप्रति ।

पाठकहरूले कस्तो लेखकको रुपमा आफूलाई चिनून् जस्तो लाग्छ ?

पाठकले आफूलाई कस्तो रुपमा लिन्छन भन्दा पनि म आफै राम्रो पाठक बन्न सकुँ । अन्य पाठकले यो कुसल पाठक हो भनेर चिन्दा नै म सन्तुष्ट हुने थिएँ । श्रष्टा र सिर्जनाको लागि भगवान भनेको पाठक नै हो ।

मनपर्ने र प्रेरणादायक लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?

साहित्य सिर्जना, लेख, विचार, बिश्लेषण कसैको नराम्रो हुँदैन ।त्यसैले केही त केही कुरा दिइराखेको नै हुन्छ । यदि उक्त सिर्जनाबाट रस स्वाद लिन सक्यो भने सबै सिर्जना उत्कृस्ट हुन् जस्तो लाग्छ । तर आफैले चिन्न बुझ्न र स्वाद लिन जानेन भने त्यसको गुण बारे अनभिज्ञ हुन्छ । त्यो उसको लागि नराम्रो हुन्छ । त्यसैले सबै श्रष्टाका सबै लेखकका कृति रचना उत्तिकै उत्कृस्ट लाग्छ मलाई । अनि एउटा लेखकले आफ्नो लेख कृति उत्तिकै माया पनि गरेको हुन्छ । त्यसैले मैले एक दुई जना लेखकको नाम लिए भने अन्य लेखकमाथि अन्याय हुनेछ । त्यसैले मेरो प्रेरणा भनेको सबै लेखकका राम्रो सृजना र राम्रो सिर्जनाका लेखक नै हुन् ।

अबको ५-१० वर्षपछि कस्तो लेखक/साहित्यकर्मीको रुपमा आफूलाई उभ्याउन चाहनुहुन्छ ?

मैले अगाडि पनि कुरा उठाइसकेको छु र यही कुरा भगवानसँग पनि भन्छु मलाई पहिला कुसल पाठक बन्ने शक्ति प्रदान गरुन । त्यसपछि मात्र अरु कुरा सोच्ने छु । सर्बप्रथम एउटा कुशल पाठक नै बन्न सक्दैन, अध्ययन र साधना गर्न सक्दैन भने त्यो व्यक्ति कहिल्यै लेखक बन्न सक्दैन । यी कारणहरूमा म पोख्त भए भने म समाजको चित्रण गर्न सक्ने विम्बका रुपमा उभिन चाहन्छु ।

चितवन तथा नेपालभरि कस्ता साहित्यिक कार्यक्रमहरूमा सरिक भइरहनुहुन्छ ?

आफूलाई प्रेरणा मिल्ने खालका र व्यक्ति, गुट, राजनीतिक विशेष कार्यक्रम बाहेक जुन कार्यक्रमले एउटा सही साहित्य, सही रचना र स्रस्टाको सम्मान गर्छ त्यस्ता कार्यक्रममा जान रुचि लाग्छ ।

आफू नजिकका अन्य स्रष्टाहरू को हुनुहुन्छ ?

मेरो लागि टाढाको कोही पनि हुनु हुन्न मैले यति धेरै अग्रज, सहकर्मी सहपाठी श्रष्टाबाट माया पाएको छु । त्यो नै मैले साहित्य जीवनमा कमाएको सम्पति हो । त्यसैले म कसैलाई टाढाको सोच्दिन ।

इन्टर्नेट तथा मझेरी जस्ता साहित्यिक पृष्ठहरूको आवतले तपाईंको लेखलाई के-कस्ता परिवर्तन गरेको छ, हामीसँग अनुभव बाँढ्नुहुन्छ कि!

विश्वलाई नै अगाडि बढाउनको निम्ति इन्टरनेटलेठुलो भूमिका खेलेको बेलामा हामीले प्रयोग गर्न जानेनौ भने हामी धेरै पछाडि पर्छौ । त्यसैले नि म प्राय इन्टरनेटमा धेरै समय बिताउछु । यदि इन्टरनेट नभइदिएको भए सायद अचेल दिन बिताउन पनि सक्दिन थिएँ होला जस्तो लाग्छ । वास्तवमा मेरो पहिलो प्रेरणाको स्रोत पनि ई पत्रिका र यसमा कार्यरत मित्रहरू नै हो । हामी जस्ता साहित्यप्रेमीका लागि उचित स्थान र उचित सम्मान दिने एउटै थलो हो र समालोचक पनि हो ईपत्रिका ।

त्योभन्दा पनि मझेरी मेरो प्रमुख माध्यम हो । मेरो नभएर नेपाल र बिदेशमा बस्नुहुने सम्पूर्ण साहित्यिक स्रस्टाको उचित सम्मान र स्थान दिन सफल एक ईपत्रिका मझेरी नै हो । मझेरी सबैको प्रेरणाको स्रोत स्रस्टाको समालोचक पनि हो । यहाँ आजसम्म ३०१३८ जना श्रष्टाको जम्काभेट छ । ती श्रष्टाको सृजनामा आफ्नो रचना कुन स्थानमा छ त्यो जान्ने अवसर प्रधान गरेको छ ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले कसरी उपयोग गरिरहनुभएको छ ?

सबैसँग नजिक हुने मौका पाएको छु, मेरो लागि अगाडि बढ्ने स्रोत बनेको छ ।

भविष्यमा केही साहित्यिक योजना छन् भने बताइदिनुस् न !

भविष्यमा साहित्यिक योजनाभन्दा पनि समयले साथदिएको खण्डमा एउटा साहित्यिक ट्रस्ट खोल्ने र आर्थिक रुपले कमजोर श्रष्टाका कृति प्रकाशन गरी उचित सम्मान दिने सोच हो । आफूले पनि कृति प्रकाशन गर्ने र साहित्यिक सस्थामा बसेर केही साहित्यका लागि टेवा पुग्ने राम्रा गतिबिधि गर्ने ।

तपाईं गत करीब चार वर्षदेखि मझेरीमा करिब १२० रचना प्रकाशित गरिसक्नुभएको छ । यी रचनाहरूलाई पुस्तको रुपमा आकार दिने बारे सोच्नुभाछ?

चितवनबाट नै पहिलो भन्नु पर्छ गजलमा सवाल जवाफ कृति ”धमिलिएका डोबहरू”प्रकाशित गरेका छौ मैले र सहकर्मी जमुनाजीले भएर । अबका दिनमा पनि एउटा कथा र कविता कृति प्रकाशित गर्ने सोच छ मेरो ।

मझेरीलाई कस्तो रुपमा हेर्नुभएको छ ? यसलाई अँझ प्रभावकारी हुन के गर्नुपर्ला ?

मझेरी सबै साहित्यकार, श्रष्टाको साझा थलो र माया प्रेम मिलन बिछोड अनि कतै मन दुखेका कुरा त कतै मुटु साटेका कुरा एक आपसमा साटासाट गर्ने हाम्रो अभिभावक बनेको छ । अँझ त झन् नव सर्जकका लागि एउटा प्रमुख भूमिका नै खेलेको छ र मझेरीलाई आझै प्रभावकारी बनाउन वर्षको एउटा साहित्य संग्रह निकाल्ने अनि जेष्ठ अग्रज स्रस्टाको सम्मान गर्दा मझेरी सबैको मन मस्तिष्कमा अमिट छाप बनी बसी राख्ने थियो ।

मझेरीमा विशेष गरी कुन लेखकहरूको रचना पढ्ने गर्नुहुन्छ ?

मझेरीका प्रत्येक पाना र विधामा डुल्ने बानी छ मेरो त्योभन्दा पनि सबैका रचना उत्तिकै उत्कृस्ट लाग्छ र सबैको रचनामा आँखा पुगेकै हुन्छ ।

पहिलेको तुलना अलि पातलो रुपमा देखिन थाल्नुभएको छ । केही विशेष कारणहरू पनि छन् कि?

विभिन्न साहित्य संघ-सस्थामा कार्यरत छु र कार्यक्रम निकै नै गर्दै आएका छौ । त्यसैले पनि त्यतातिर बढी समय दिनुपर्ने र म वैवाहिक जीवनमा पनि प्रवेश गरेँ । अनि समय बाँडिदा हजुरलाई त्यस्तो लागेको पनि हुन सक्छ । तर मझेरी हेर्ने भने छुटाउदिन ।

संसारभरि छरिएर रहनुभएका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ।

निस्वार्थ भावानाले उत्प्रेरित भएर साहित्य लेखनमा लाग्नु होला । हजुरहरूका लेख रचनाको लागि नेपाली साहित्यको प्रतिनीधि मझेरी छँदैछ । रचना प्रकाशनका लागि मझेरीलाई आफ्नो सम्झेर पठाउनु होला । सही रचना र सही श्रष्टाको मूल्यांकन गर्नु होला । सधै साहित्यलाई माया गर्नु होला सक्नुहुन्छ साहित्य सिर्जना गर्नुहोला सक्नुहुन्न संरक्षण गरिदिनु होला ।

अन्त्यमा केही छ भने बताउनुहोला ।

नेपाली साहित्यका लागि मझेरीले खेलेको भूमिका निकै प्रसंशायोग्य छ र सबैलाई समेट्न सफल होस् । कुमार सरप्रति आभारी छु । अनि कविडाँडामा रहनु हुने सम्पूर्ण मेरा अग्रज, चितवनका सम्पूर्ण साहित्यकारज्यू, मेरो परिवार प्रति धेरै आभार प्रकट गर्दछु। मलाई यो क्षेत्रमा सहयोग गर्ने सम्पूर्ण मित्रलाई सम्झन चाहन्छु । साहित्यलाई सबैले माया गरिदिनु होला ।

धन्यवाद !!!!

रामकृष्ण पौडेल अनायासका रचनाहरू : यता
रामकृष्ण पौडेल अनायासका रचनाहरू (संक्षिप्त अंशसहित): यता
रामकृष्ण पौडेल अनायासको फेसबुक पेज : यता

9 thoughts on “मझेरी भलाकुसारी, अंक १७ (रामकृष्ण पौडेल अनायास)”

  1. राम कृष्ण सरको बारेमा जान्ने
    राम कृष्ण सरको बारेमा जान्ने मौका मिल्यो । मझेरी र रामकृष्णजीलाई बधाइ र सुभ कामना ।

  2. रामकृष्ण जी को साहित्यिक
    रामकृष्ण जी को साहित्यिक गतिबिधि र संलग्नता प्रशंस योग्य छ | हाम्रो चितवन पनि साहित्यिक गतिविधिमा धेरै अगाडी पुगिसकेको छ यस्मा हामि चितवन बासीको हर्षको कुरा हो अझ भन्नु पर्दा मेरै क्षेत्रबाट रामकृष्ण जी जस्तो साहित्यकारका रचना र गतिबिधि पढ्न जान्न पाऊनु हाम्रो गौरबको कुरा हो |

  3. रामकृष्ण जी को साहित्यिक
    रामकृष्ण जी को साहित्यिक गतिबिधि र संलग्नता प्रशंस योग्य छ | हाम्रो चितवन पनि साहित्यिक गतिविधिमा धेरै अगाडी पुगिसकेको छ यस्मा हामि चितवन बासीको हर्षको कुरा हो अझ भन्नु पर्दा मेरै क्षेत्रबाट रामकृष्ण जी जस्तो साहित्यकारका रचना र गतिबिधि पढ्न जान्न पाऊनु हाम्रो गौरबको कुरा हो |

  4. रामकृष्ण जी को साहित्यिक
    रामकृष्ण जी को साहित्यिक गतिबिधि र संलग्नता प्रशंस योग्य छ | हाम्रो चितवन पनि साहित्यिक गतिविधिमा धेरै अगाडी पुगिसकेको छ यस्मा हामि चितवन बासीको हर्षको कुरा हो अझ भन्नु पर्दा मेरै क्षेत्रबाट रामकृष्ण जी जस्तो साहित्यकारका रचना र गतिबिधि पढ्न जान्न पाऊनु हाम्रो गौरबको कुरा हो |

  5. समय मिलाएर उत्तर दिनुभएकोमा
    समय मिलाएर उत्तर दिनुभएकोमा रामकृष्णजीलाई धेरै धन्यवाद छ । पाठकहरूले वहाँका कुराहरू जान्ने बुझ्ने मौका पाउनुभयो होला भन्ने आशामा!

  6. Pachhillo bhalakusari ajha gatilo
    Sundar bichar……

    Paripakwa writerlai majherile chhanechha dhanyabad….

    Aba hom sirlai pani susta susta….kurakanima lyauda bes hola ki kumar sir ?

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *