मान्छेहरूले कुल्ची हिंड्ने
बाटोमा म उम्रन सकिन
र
यै कान्लोमा उम्रिएँ- बाटो नजिकै
उम्रंदा उम्रंदै फुलें – म
र
फुल्दा फुल्दै चुँडिएर
देउताको थानमा चढाइएँ
देउताले पनि देखेन-
म रोएको
यै जाबी केशशुल्का सरस्वती
फूलको आँसुले
शिवलिङ्ग भिज्यो
र
मान्छेहरूले
शृष्टि शुभारम्भको उत्सव मनाए
या मेरै योनीको रगतले
फागु मनाए
म विवश भएर हेरिरहें-
मेरो अवसान पछिको अनुष्ठान
या यो
मेरै समयको आहुति
मान्छेहरू हिंडिरहें
मलामी मनको
तीरै तीर
मेरो आँसुले उनीहरूको
बाटो छेकेन
मेरै अगाडि धमाधम
ती मान्छेहरू देउता भए
र
देउताहरू ढुंगा भए –
स्कन्धयात्रामा
म मृत्यु झैं जीवन
बाँचेका –
ढुंगाहरूमा पछारिएँ
मेरा चोटहरूको
इतिहास
मेरै रुप -लावण्य औ यौनको
आगोमा डढाइयो
र
मान्छेहरूले मेरो सपनाको युगान्त
नगरा बजाए
या मेरै ओठका मुर्छनाहरूको स्पर्शले
खुसी मनाए
यद्यपि
म यै साक्षी किनाराकी सरस्वती फूल
बेरोकटोक
तृष्णाहरूको बजारमा बेचिएँ
र
मैले
मेरै स्तनको मुन्टो देखाएर पीप
चुसाउन सकिन –
मेरो नानीलाई
