मेरो माया चौरस्तामा लिलामी भो जबदेखि
मैले आशा गर्न छोडेँ तिमीबाट तबदेखि ।
धरधर्ती मेरा आँसु धरतीमा खसिबस्दा
तिमी चाहिँ धार्नी पुर्याई माया बेच्न जोखी बस्दा ।
मेरो छाँया लखेटेर टाढाटाढा धपाउँदा
मैले मन मार्न थालेँ तिमीलाई नपाउँदा ।
प्रतीक्षामा निँद ओच्छ्याई आँखा पाले बस्यो
औडाहाको पैरो चल्यो आँखाबाटै आँसु खस्यो ।
उर्लिएको नदीमाझ भेल बनी बगेको छु
लहरलहर तैरी हिँड्ने कसिङ्गर पो बनेको छु ।
-पेशल आचार्य
(रचनाः २०६६ बैशाख १०)
