Skip to content

लोडसेडिङ साइडइफेक्टस्


भन्नेले भनून्, कान फूक्नेले फूकून्, ब्रह्माण्ड पुग्ने बिजुली निकाल्न सक्ने देश नेपालै हो भनेर गफ लाउन्; पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन समाचारले नेपालमा यहाँनेर, त्यहाँनेर, हाइड्रोपावर बन्दैछ भन्ने समाचार सुनाउन सम्म किन नभ्याउन्,नेपाल देशले आउने दिनमा टन्नै मेगावाट बिजुली निकाल्ला-ननिकाल्ला, ती कुरा एकतिर, तर कुरो काँनेर भन्नुहुन्छ भने, हिजो आज काठमाडौ खाल्डोको कुरा गर्दा राजधानी भन्नै लजाउँछ ।

यो ठस्स गनाउने शहरमा अत्तर छरेर हिड्नेहरुको बह बेग्लाबेग्लै, त्यसमा पनि यो जवानी आउडेटेड शहरको कुरा पनि त्यस्तै … दुनियाँ जानेको, संसार घुमेको, सबथोक जानिएको, नपरेपनि मेरो यो मगज धेरैपटक काठमाडौमा लोडसेडिङ किन हुन्छ भन्दा पनि असरहरुको असर जान्न खुप घोत्लिन्छ ।

घरभेटिको गफ, साहुजिको चाँसो, पत्रकार र कविको विषय, शिक्षक र विद्यार्थीको बुझाई, अफिसको टपिक, भट्टिको भट्याँइ, भात गिलो हुँदाको गफ, अण्डा काँचो हुदाँको गफ, घरदेखि बाटोसम्म, बाटो देखि मेनसडक, मेनसडक देखि फेरि घरसम्मकै गफमा, कतै न कतै पसेकै छ, बसेकै छ, लोडसेडिङै लोडसेडिङ । अब ससुरा बाले छोरी दिँदा कुन घरमा लोडसेडिङको विकल्प के राखेका छन् भनेर जान्ने इच्छा गर्छन् ।सुक्दो साइबेरे पसलेहरुले, स्टेसनरी फोटो दोकानेहरुले, अनि स्कुल कलेजले ट्वान्टी फोर्स आओर बिजुली भनेर ढोका बाहिरै साइन झुन्डयाउन लागेको गफ नयाँ होइन । अब भुराभुरीहरु मेरो घरमा त लोडसेडिङै हुन्न भनेर फूँइ लाउन जान्ने भइसके । कर्मचारीहरु आज लाइन नभएकाले रेजिस्ट्रेसन हुन्न भनेर भन्ने भइसके । युवाहरुमा मोबाइलमा चार्ज गर्नै नपाइने चिन्ताको कुरो छ । मरेपछि पशुपतिमा यही बिजुलीले आगो लाउने चलन आको उहिल्यै हो, लोडसेडिङ त्यहाँ नगइदियोस् भन्नू छ ।

“पानी हुँडा लाइन नहुने, लाइन हुँडा पानी नआउने” कुरो छदैँछ । बिजुली नहुँदा बिहान पाँच बजे उठ्ने सात बजे सम्म सुत्न थालेका छन् रे भन्ने सम्म सुनिएको छ, बिहान रामदेव पछ्याउने, भगवान् मान्नेहरु तिनै हुन् । लोडसेडिङले असर पारेका तिनलाई नै हुन् । किताब नपढ्नेहरु झन् बत्ती बाली बाली पढ्ने भएका पनि छन् रे, कविहरु मोबाइलकै उज्यालोमा चली चली कविता लेख्छन् रे भन्ने सुनिएको छ । सबैलाई आआफ्नो कुरो, लोडसेडिङ लामो यात्रामा चढेको जड्याहा जस्तै हो, बेला बेला फतफताउँछ, अनि सुत्छ, अनि फेरि फतफताउँछ…

लाईन नआउँदा किन आएन भन्दा पनि लाइन आएपछि किन गएन भन्ने खुब अचम्मको विषय हो परिवारमा । यो देशलाई लोडसेडिङको देश हो भनेर परिचय बाँड्नुपर्छ कि क्या हो भन्ने विषय नेताहरुमा कमै तर परिवारमा खुब विचारणीय विषय बनेको छ । नेता, मन्त्रीहरुको घरमा लाइनै जान्न रे, घरमा इनभरटर, जेनेरेटर वा यी नानाथरीका राख्नेहरुको लाम पनि छदैँछ । तिनिहरु उपल्लो वर्गका नेपाली या त अलिक उपल्लो वर्गमा पर्न प्रयासका नेपालीहरु नै हुन् । ती अर्का थरी आम नेपालीको लोडसेडिङ हुँदाको मजा लिन जान्दैनन् । जोडीलाई मात्र हो र? परिवारै क्यान्डल लाइट डिनर तिर उन्मुख देशले युरोप-अमेरिकालाई यसै कुरामा जितेको छ तर लोडसेडिङलाई पीडा भनिँदा राम्रो भन्दा नि ठिक, उपलब्धि भन्दा नि ठिक, देशको इज्जत भने पनि ठिक, विकाशोन्मुख देश यो नेपालले आगामी दिनमा लोडसेडिङ कम गरोस् ।

जे होस् यो लेखिनु पनि लोडसेडिङकै साइडइफेक्टहो र तपाईले यो पढ्नु भएको हो भने, तपाईलाई कहिँ न कहिँ लोडसेडिङले साइडइफेक्ट दिएकै छ, सम्झनुस् त एकफेर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *