एउटा अँध्यारो कुनामा
सलाइको काँटी कोरेर, झ्वास्स
त्यो अनुहारको सम्झना, मुठी भरि राख्दा
कहिले आँशुजस्तै थोपा थोपा चुहिन खोज्छ
कहिले सांस फेर्छ ढुकढुक आवाजमा
यसो मुठी खोल्दा
कहिले चरा जस्तै उड्छ
अनि गाउँभरिको गन्थन सुनेर
साँझ फेरि आइपुग्छ, यही हत्केला मा, बास बस्न
कहिलेकाहीं त धमिलो हुन्छ,
निकै टाढा क्षितिजमा देखेको बादलजस्तो
कहिलेकाहीं सपना जस्तो भएर पनि आउँछ
आँखा खोल्दा भुसुक्क बिर्सिने गरी
बाहिर जाँदा म यसलाई सिराने मुनि लुकाएर जान्छु
पछ्याइरहेको हुन्छ रे, कतै गल्लीमा
यो खुकुरी भएर पनि आएको हो
मुठी कस्दा रगत पनि खसेको हो
एकदिन बिख भएर डस्यो
कात्रो किन्न जाँदा, जीवन बोकेर फर्केछ
कहिलेकाहीं अक्षर हुन खोज्छ
सब्द नबन्दै बिलाउँछ, अनि निरास हुन्छ
एक दिन मृत्यु भएर आयो
अनि धुवाँ पनि भयो, खरानी पनि भयो
नदिको छालसँगै बग्यो पनि
आजकल, अँध्यारा कुनाहरूमा
सलाइको काँटी कोर्दै हिंड्छु
झ्वास्स, कतै जीवन भएर आउछ कि
त्यो अनुहारको सम्झना
