टहटह जून । चारैतिर हिमालै-हिमाल । मनै पुल्कित पार्ने हिमाली दृश्य । राति नै माछापुच्छ्रेबाट अन्नपूर्ण आधार शिविरतिर लाग्यौं । बाटैभरि हिउँले ढाकेका रूख अनि सिउँसिउँ गर्दै हिँडेका पदयात्री सबै हिउँले रंगिएका थिए । माछापुच्छ्रे आधार शिविरमा बसेर हामीले जुनेली रातमा हिमाली उकालो चढ्ने निर्णय गरेका थियौं । माछापुच्छ्रे गेस्टहाउसमा सुतेका पर्यटकहरू राति २ बजे नै हिमाली उकालो चढ्न थाले । माछापुच्छ्रे आधार शिविरमा जमेको हिउँको थुप्रो देखेर पदयात्री दंग थिए । उनीहरू हिउँ खेल्न र फोटो खिच्न थालिहाले । आँखै अगाडिको माछापुच्छ्रे अनि केही परको अन्नपूर्ण हिमालले पर्यटकलाई उत्साहित पारिरहेको थियो । जुनेली रातमा हिमाल हेर्नुको मज्ज्ाा नै बेग्लै हुन्छ, कोरियन गाइड उक्साइरहेका थिए, ‘म जुनेली रातमा हिमाल हेरर मोहित हुन्छु ।’ कुमारी हिमाल माछापुच्छ्रेको काखमा बसेर यी तन्नेरी हिमालको वर्णन एकनासले गरिरहेछन् ।
माछापुच्छ्रे आधार शिविरमा बसेर हिउँ खेल्न मस्त थिए, असिना परेपछि फूलचोकी र नगरकोट दौडिरहने हाना ट्राभल्सका अशोक बानियाँ । उनी लडिबुडी गर्थे र फोटो खिचिदेउ भन्दै क्यामेरा तेस्र्याउँथे । संसारकै सुन्दर र कसैले पनि नचढेको हुनाले कुमारी भनिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालको आधार शिविरसम्मको यात्रा फत्ते गर्न एकहुल पदयात्री बाटो लाग्यौं । पोखराको फेदीबाट सुरु भएको हाम्रो यात्रा धम्पुस, पोथना, लान्द्रुक, छुम्रुङ, सिनुवा, ब्याम्बु, दोभान र देउराली हुँदै हिउँ खेल्ने ठाउँसम्म पुगेको थियो ।
मौरिस हर्जागले उनान्साठी वर्षअघि आरोहण गरेको अन्नपूर्ण हिमालको काखतर्फ जनवरीको पहिलो साता लागेका थियौं । पान्सका यी साहसी आरोहीले संसारकै आठ हजार मिटरमाथिको हिमाल पहिलोपटक आरोहण गरेकाले पनि अन्नपूर्णको चर्चा संसारभरि चम्केको थियो । यस्तो रेकर्ड भएको अन्नपूर्णको नामसम्म नलिई तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको स्वर्ण महोत्सव मनाएर मानवले आरोहण गरेको जेठो हिमाल अन्नपूर्णलाई हेला गरेको पर्यटनविद झलक थापा आरोप लगाउँछन् । उनी भन्छन्- सरकारले जेठो हिमाललाई वास्ता गरेन ।
झलक दाइको आक्रोशले मलाई अन्नपूर्ण आधार शिविर पुग्ने अभिलासा जगाएको थियो । त्यही रनाहाले एकैपटक दुई हिमालका आधार शिविरतर्फ हिँड्न सुर्यायो । म त्यसतर्फ हान्निएँ । सगरमाथाको फेदीतर्फ घुमिरहने भएकाले पनि मलाई हिमालतिर हिँड्न कठिन थिएन । मनमा आँट भएपछि अप्ठयारा काम पनि फत्ते हुनेरहेछ ।
माछापुच्छ्रे आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा पर्ने देउरालीदेखि नै हिउँले पछयाउन थाल्यो । माछापुच्छ्रेको काखमा करिब चार घन्टा सुतेर राति नै हामी अन्नपूर्ण शिविरतिर उकालो लाग्यौं । बिहान पाँच नबज्दै अन्नपूर्ण आधार शिविर पुग्यौं । राइबहादुर गुरुङको अन्नपूर्ण गेस्टहाउसको तातो चियाले मात्र केही न्यानो महसुस गरायो । हिमालमा घामको झुल्को पर्नुअघि नै ४ हजार १ सय ३० मिटर अग्लो अन्नपूर्ण आधार शिविरमा विजयको झण्डा लुङदेर टाँग्यौं र फोटो खिच्न थ्ााल्यौं ।
हानाका अशोक बानियाँ फोटो खिच्न छाडेर औंला झर्न थाल्यो भन्दै होटलतिर दौडे । तर आधार शिविरबाट र्फकंदा बाटोमा एक बेलायती पर्यटक हिउँमा बल्डयाङ खाँदै झर्दै थिए । उनको त्यो सनक देखेर उनीसँग परिचय गरियो । उनी बेलायतका ट्रक ड्राइभर रहेछन् । क्या उत्साहित मानिस रहेछन् भने । उनी बेला-बेला बल्डयाङ खान छाड्थे र जोक भन्थे- ‘हस्वीकी इज रिस्की ।’ र्फकने सबै यात्री उनको सन्की ताल देखेर मरिमरि हाँस्थे । ती बेलायती अरू हाँसेको देखेर खित्खिताइरहेका थिए ।
हाम्रा नेपाली सहयात्री अशोक बानियाँ पनि के कम ? अन्नपूर्ण आधार शिविरबाट ओरालो झर्दा गुन्टी खेल्न थाले । उनले लगाएको स्की खेल्ने शैलीको जुत्ता निकै रोमाञ्चकारी थियो । उनी हिउँमा लड्थे, अनि उठेर दुःखेको शरीर सुमसुम्याउँथे । सेराप जाङबु र उनको टिम पनि कम थिएन । उनीहरू स्लिपिङ ब्याग लिएर त्यो चिसोमा बाहिरै सुत्थ्ो । छोमरुङबाट सुरु भएको त्यो टिम ब्याम्बुमा पनि त्यसैगरी खडा भयो । हिउँदे सिरेटोमा उनीहरूको चाला गज्जबकै लाग्थ्यो । किम्रुङको उकालोमा निकै थाकेका हामी भेज/ननभेज जोकको रापमा पर्यौं । अरू बेला शान्त देखिने साथी पनि थाकेका बेला जोक कोक्याएर ओकल्ने रहेछन् । अशोकले मुखफोरे पनि, यो उकालोमा सुन्दरी साथ्ाी भएको भए मचाहिँ उकालो काटेको पत्तै पाउन्नथेँ । टे्रकिङमा अन्यत्र बोल्न नपाइने कुरा उन्मत्त भएर गर्न पाइन्ो रहेछ है, उनी यात्रामा मजैसँग खुले पनि ।
छुमरुङबाट उकालो लागेपछि ब्याम्बु, देउराली, माछापुच्छे्र र अन्नपूर्ण आधार शिविरमा बास बस्न भने निकै समस्या पर्यो । जहाँ बस्ो पनि सिन्डिकेट प्रणाली रहेछ । एउटामात्रै होटल खुल्ला गर्ने चलन निकै पुरानो भएको ब्याम्बुका छत्रबहादुर गुरुङले बताए । छुमरुङबाट सुन्दर हिमाली गाउँ घान्द्रुकतिर लाग्यौं हामी । किमरुङ खोलाको उकालो निकै कठिन लाग्यो । दुई घन्टाको उकालो हिँडेपछि गुरुङ जातिको सुन्दर बस्ती घान्द्रुक पुगियो । राजधानीका डान्स रेष्टुराँ चहारेर रम्ने लतलाई पदयात्रातर्फ मोडेर साहसिक पर्यटक बने प्रकृतिलाई नजिकबाट चिन्नमात्र होइन, बोसो जमेको शरीरलाई फुर्तिला पनि बनाउन पाइन्छ ।
