Skip to content


खोला मौन थियो
शरद पूर्णिमाका जुलेनीहरू
खेल्न पाएनन् छातीमा
नीर निलिमायुक्त आकाश
अटाउन पाएन वक्षमा
खोला निःशब्द थियो, क्लान्त थियो
खोला व्यथित थियो, मरणान्त थियो ।

विकृतिहरूले पत्रपत्र भएर छोपिदियो
यसको छाती
बिसड्डतिले थुप्रा थुप्रा भएर ढाकिदियो
यसको वक्ष
मधुर सुुसेली हरायो, मिठो बोली हरायो
जीवन्तता हरायो, प्रसन्नता हरायो
लक्ष्य हरायो, मिठो बोली हरायो
जीवन्तता हरायो, प्रसन्नता हरायो
लक्ष्य हरायो, गन्तव्य हरायो
चञ्चलता हरायो, गतिशीलता हरायो ।

एकदिन बाढी आएर सबै छताछुल्ल भयो
दुर्गन्धहरू वगे, फोहोरहरू वगे
खोलाले फेरि सुसेल्यो
खोलाले फेरि मिठो बोली बोल्यो
खोला स्वच्छ भयो, खोला सुन्दर भयो

तर मलाई थाहा छ
जब वर्षा थामिनेछ
फेरि लामो समयसम्म खोला मौन रहनेछ
ऋतुहरू फन्को मार्दै जानेछन्
खोला छातीभरि भरि दुर्गन्ध बोकेर
हस्स गन्हाउँदै निःशब्द हुनेछ
मौन हुनेछ
त्यसैले खोला स्वच्छ हुन
खोलाको कलकल गीत सुन्न
खोला छोपिनु हुँदैन महत्वाकांक्षाका
रासहरूले
खोला पुरिनु हुँदैन आशंका र अविश्वासले ।

वेदना साहित्यिक त्रैमासिक
पूर्णाङ्क ६५, वर्ष २९, अंक १,
असार २०५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *