Skip to content

तिम्रो खराब सिद्धान्त


म हसियाभन्दा थोरै
बाङ्गो र धारिलो बनेको छु
तिम्रो सिद्धान्तको कुरा काट्न,
किन छोरा नजन्मिएसम्म छोरी जन्माइरहन्छ
तिम्रो जनसङ्ख्या व्यवस्थापन सिद्धान्त ।

देखेको छु विचार र कलमको राजनीति
माघे सक्रान्ति पर्व त्यो गोरु जुधाइ र
गोरुको सिङ्ममा बाघको गन्ध टाँसे जस्तै
बारुद र पैसाको गन्धले
स्वाच्छ विचार कहिलेसम्म
दुर्गन्धित बनाइरहन्छौ तिमीहरू?
या
गहिरो अँध्यारो कुरमा बस्ने माछा
अन्धो भए जस्तै
कुर्सीमा पुगेपछि भ्रष्ट हुने
वैज्ञानिक प्रमाण छ तिमीहरू संग!

तिमी केवल यही चाहन्छौ
म तिमी जस्तो बनु र
अरुलाई म जस्तै बनाउँ
जसको कारण तिम्रो खराब सिद्धान्त र तिमी
युगौयुग अमर रहन्छौ,
मलाई थाहा छ
एउटा मारेर सयौं बचाउनु पुण्य हो,
तिमी आफै भन
म कसरी लाखौ विचार
तिम्रो सिद्धान्तले विस्थापन गरौं ।

सहरको भीडमा
उच्च आवृतिको ध्वनिमा
बालअधिकार नारीअधिकार
प्रष्ट्याउछन् अनि
आभा हराउने बित्तिकै
घरकि पतिब्रता श्रीमती छाडेर
वेश्यालय धाउने र
सितन नमिठो भन्दै छोरी कुट्ने
वा क्या गज्जब तिम्रो सिद्धान्त ।

ए सिद्धान्तका पुजारी
बलि नचढाउ भो कलिला जनभावना
हामीले पूजा गर्न छाडि सक्यौ तिम्रो मन्दिरमा
किनकि तिम्रो मन्दिर भुत घर जस्तै
डरलाग्दो देखिन्छ हेर त ऐनामा ।

सक्छौ यस्तो सिद्धान्त बनाउ
जो गरिब भएर नि खुसी हुन्छ
जो धनी भएर नि दुखी हुँदैन
जसरी छोरा छोरीलाई
पेटभरि खुवाएर भोकै
मन भरेर सुत्छन् बाबू आमा ।

बाङ्गो बाटो हिड्दैन प्रकाश
स्याउ पाकेपछि जमिनतिर खस्छ
घडीको काँटा रोकिए पनि चल्छ समय
बृद्ध कहिल्यै बालक हुँदैन
सिद्धान्त त्यो हो जे चल्छ
जे चलाइन्छ मान्दिन म ।

मलाई नधकेल
तिम्रो कालो सिद्धान्तको भुमरीमा
म बाङ्गो हुन चाहन्न
म धारिलो हुन चाहन्न
मलाई नेपाली भएर जिउनु छ
बुद्ध शिष्य बनेर जिउनु छ
अह म शिकार हुन चाहन्न
तिम्रो खराब सिद्धान्तको ।

२०७१-११-१०
नबराज पाण्डे विकिरण
बोर्लाङ्-१, गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *