जस्तो थिएँ, उस्तै भएँ


कुनै बेला म यस्ती थिएँ:
मनभरी निश्चल भाव,
नयनमा सपनाको भारी
‘कुहु कुहु’ गाउने कोईली सरी
सानै कुरामा रमाइ दिने किँवदन्तीय किशोरी,
कमिलाको ताँतीको पछि लागि हिँड्ने,
ऐँशेलु, चुत्रो, काफल र सल्लाको सिम्टाले नै पेट भरुँला झैँ गर्ने,
कुलेशालाई बिशाल नदी सरह ठान्ने,
हलुवावेदको टोड्काबाट सुटुक्क चिहाएर
अपरिमित सौन्दर्य प्रदर्शन गर्दै
भर्खरै फक्रन लागेकी
रँगीन सुनाखरीको जस्तै उत्सुक भएर
सन्सार चिहाउन चाहने किशोरी!
थाहै नपाई आँधि आएछ!
वर्डस् वर्थकी लुसीलाई उनको बाबुले
हिमआँधीमा लालटेिन बोकाएर बाटो देखाउन पठाएझैँ
वावुको आज्ञा पालन गर्न टाउको निहुराएर जाने किशोरी,
दाम्लामा बाँधिएकी कोरली गाई
लुरुलुरु मालिकको पछि लागेझैँ,
निशब्द, जिन्दगीको मालिकको पछि लाग्ने विचरी,
अनजान ब्यक्ति, नौलो व्यवहार, असमान कानून,
ईज्जतको ठेक्का, घरव्यवहारको चटारो,
उमेर कम, बोझ ज्यादा|
‘कठै’ कम कठोरताको भूमरीमा जकड्याउन तत्पर ब्याधा,
मेरो सपना,
मजवूत किल्ला,
बन्न गएछ, तासको महल!
जीवनले कोल्टो फेर्दा,
लाग्यो देवकोटाले मेरै लागि लेखिदिएका रहेछन्,
‘म शून्यमा शून्य सरी विलाएँ!’
रक्तिम सूर्यले पनि जिन्दगीमा रँग भर्न सकेनछन्!
फेरि एक दिन,
दन्त्यकथाकी राजकुमारीलाई ‘जादुको छडी’ ले छोइदिए झैँ,
सुमधुर वचनले विउँझाईदियो,
शनैः शनैः मन उज्यालियो!
हाँसोमा बहार आयो,
स्वाभिमानको शिर उचालियो,
जमिनमा गाडेको बिजनबाट
टुसाएको विरुवा झैँ,
खुसीको अँकुर पल्हाउन थाल्यो|
अनि फेरि म, उस्तै भएँ
जस्तो थिएँ, उस्तै भएँ|

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *