विद्यालयको स्मृति

मेरो छोरा अभय बालप्रतिभा आवसीय स्कुलमा पढछ । संधैको झैं खानापछि हाम्रो उही वार्तालाप चल्दै थियो । छोराको जाँच, रिजल्ट, आउँदो परीक्षा, ट्युसन आदि इत्यादि । छोरा भन्दै थियो,”भोलि पढाई हुन्न तर सघाउन स्कुल जानुपर्छ। ” स्काइपमा छोराको आवाज पछिल्तिरबाट आइरहेको थियो। मैले सोधी हालें,”के भन्दैछ छोराले?” अन्जनालाई थाहा भैसकेको रहेछ, पर्सी स्वरस्वती पूजा ।
२०५१तिर सरस्वती पूजा हुँदा मेरो जस्तो दिन हुन्थ्यो २०७१मा उस्तै छ छोराको आज । छुट्टी त छँदै छ त्यस माथि स्कुल गएर बुनिया, उखु, मेवा, टुक्र्याएको केरा आदि मिलेर बनेको सरस्वती माताको प्रसाद। सार्है मिठो। फरक यती छ उु अहिले राम्रो लुगा लगाएर स्कुल जान्छ, म पुरानो पाइन्ट अनि धोएर चटक्क परेको पुरानो सर्टमा स्कुल जान्थे, पूजा गर्न भनौं या प्रसादको लोभमा ।

शायद २०५३-२०५४ कुनै सालको पूजा थियो, हामी स्कुलको अन्तिम वर्षहरूमा । शायद केटाकेटी बेलाको तँ तँ, म म कम अनि तँबाट तिमीमा सम्बोधनहरू बद्लिएका। ओँठमा कालो रेखिहरू । उमेर १५-१६ वर्ष । त्यो सालको पूजा सम्पन्न गर्ने हाम्रो जिम्मेबारी अन्तीम कक्षाका विद्यार्थीहरूको नाताले । लक्षुकुबीर, उत्तम, अमृत, तेजबहादुर, शिव, निरकुमार, म आदि मुख्य नेत्रित्वमा ।
उत्तम र तेजबहादुरले प्रस्तव गरे,”रोडमा गाडी रोकेर हाम्रो सरस्वती पूजाको चन्दा उठाउने ।“ ३-४ दिन पहिले एक दिन २ घण्टा जति त्यसै गरियो। केही पैसा जम्मा भयो पनि । तल्लो कक्षादेखी माथिल्लो सबैसँग उठेको पैसा ५००० रुँपैया जति भयो होला, ठ्याक्कै भन्न सकिन । तब शुरु भयो पूजाको रौनक।
बजारको किन्मेल भयो। लक्षु, उत्तम लगायतकाले गाडी रिजर्ब गर्ने जिम्मा निरकुमार र मलाई दिए।
गोबिन्द सरसँगै लाग्यौँ इटहरीतिर ।
सरले भन्नुभयो,”म बिराटनगरतिर जानुछ तिमीहरू गाडी मिलाऊ भरै इटहरीमा फेरि भेट्ने,सँगै फर्कने । ”
हामी दुवैले बुझ्दै गर्दा लाग्यो धरान गए पक्का काम बन्छ । त्यसै गर्यौँ। होस हवासमा पहिलो पटक धरान खुत्रुक्क उत्रियौँ। सानोमा मन्दिर जाँदा बा-आमाले लगेको थियौँ भन्थे। उत्रेर नजिकैको कन्डक्टर जस्तो देखिने एउटा मोटेलाई सोध्यौँ,”दाइ, सरस्वती पूजा सेलाउन माई हुँदै कन्याम जान बस रिजर्ब चाहिएको छ।”
भर्खरै १५-१६ उमेरको, जुँगाको रेखी मात्र भएको केटोको मुखबाट त्यति बोली निस्कनु ठुलै भयो।
मोटेले भन्यो,”लौ हिँड इटहरीमा मेरो गाडी छ, त्याहाँ पक्का गर्छु । “,
धरानको धुँवामा रुमाललिएको ५ मिनेट पनि भएको छैन
“लौ यो गाडीमा चढ, यो नि मेरै हो, छिटो गर “, हिँड्दा हिँड्दै गरेको गाडीमा चढेर फेरि इटहरीतिर ।
गाडीमा सोँच्दै फर्केँ,” धरान हेर्ने रहरै मेटिएन। जम्मा ५ मिनेट।“
त्यो मोटेको पछि लाग्दै जाँदा, गाडीको मालिक भनेको निस्कियो खलासी, पख मात्र भन्छ। घुम्दै जाँदा एकैछिनमा गोजीवाट एकजोर मोजा निकालेर फुटपाथको पसलेलाई जबर्जस्ती,” यो किन भन्छ । ”
ताल बुझेपछि हामी सुटुक्क छडकियौँ, मोटेलाई छोडेर । पश्चिम स्टेन्डतिर लागेको मिली हाल्यो गाडी नम्बर ५८१८ पर्सी बिहान ४ बजे, लक्ष्मीमा बि हुँदै ईलाम सरर ।
उही हामी ४-५ जना हेडसरसँग अनुमती लिएर रातभर अफिसमै उखु काटियो, मेवा तासियो, सबै प्रसाद तयार गर्दै बसियो रातभर । ‘प्राचार्य’ स्टाम्प खाली कगजमा लगाउँदै सही पनि गरियो। हेडसरको कुर्सीमा पनि बसियो। हेडसरले थाहा पाउनुभएको भए के गर्नुहुन्थ्यो, सोच्ने गर्छु आज पनि ।
पूजातयारी, लिपपोत, ध्वजा-पताका-तोरण टाँग्ने, मूर्ति स्थापना सबै चल्दै गयो। टीकाको रङ किन्न उत्तम, निरकुमार र म चोकैको दोकानमा गयौँ। उत्तम किन्दै थियो। निरकुमारले देखेछ ‘कालिमेंहन्दी’ ।
निरेले सोध्यो,”के हो यो ? ”
भनें,”कालिमेंहन्दी” । हाँस्दै फेरि सोध्यो,”भोलि फोटो खिच्ने हैन ?”
मैले कुरा बुझेँ। र भने,”लेऊ एउटा।“
स्वरस्वती पूजाको पैसा गोलमाल पार्दै लिइयो ‘कालिमेंहेन्दी’ ।
पूजा सम्पन्न हुँदैँ गयो, सबै भाइ- बहिनीहरू प्रसन्न मुद्रामा आए, पूजा गरे, प्रसाद ग्रहण गरे।
सरहरूले धन्यवाद दिदै भन्नुभयो,”तिमीहरूले सफलतापूर्वक पूजा सम्पन्न गर्यौ, राम्रो । ”
भोलि बिहान पूजा सेलाउन जानुछ। बिहान ४ बजे। ५० रुपैँयाको दरले जानेहरूलाई पैसा उठाएको, गाडीको क्षमता ५० जना, जानलाई पुरै स्कुल तयार। बिस्तारै तल्लो चोकका केटाहरूको धम्की पनि आउन थाल्यो साथमा। टाउको दु:खाई हुन थाल्यो ।
निरकुमारलाई भनें,”अब भोलि जो जो आउँछ जान्छन अब पैसा नउठाउँ ।“
साँझ पर्यो । दिनभरिको ब्यस्तताले थाकित, तिनै जना मलिन अनुहार लिँदै घर लाग्यौँ मेरोतिर। उत्तमले खै के बिर्सियो, फेरि ८ बजे रातमा खोलातार्दै काकुम पुर्याइ छोड्यो । अन्तिम तयारी १० बजे नुहाउने बाँकी थियो। गोजीमा भएको ‘कालिमेंहेन्दी’ निरेले निकाल्यो, पुरिया खोल्यो। आज जस्तो बिजुली थिएन त्यो बेला । अध्याँरैमा आधा पुरिया मेरो हातमा, आधा उसको हातमा । कलको पानी हालेर दुवैको हातमा घोल्दै, तेल लगाए जस्तो लगायौँ कपालमा । बिस्तारै सुक्दै गयो त्यो अँध्यारोमा ।
१५ मिनेटपछि थाहा भयो, आधा-आधा पुरियाले हाम्रो कपाल मात्रा हैन, अनुहार, घाँटी, हात र कपडा लगभग कालो छ, जब टुकिमा बिस्तारै हेर्यौँ एक्-अर्कालाई। धुँदै जाँदा न साबुनले गयो न पानीले। रातको १ बजेसम्म घोटी मात्र रह्यौँ । भोलि जानु छ सरस्वती पूजा सेलाउन, त्यो माघ अन्तिमको चिसो रातमा आफै सेलाउन लाग्दै थियौँ आज । दुवै जना अब कालोबाट निलो हुँदैँ गयौँ। शायद २ बज्यो सुत्दा । १ घण्टा पनि सुतिएन । त्यो चिसो रातमा । आज पनि मलाई चिसोले छिट्टै छुन्छ, त्यही रातको असरले।
भनेकै समयमा गाडी आयो, सरस्वती पूजा माईमा सेलायौँ, झापा हुँदैँ ईलाम, फिक्कल सार्है सुन्दर ठाउँ । दिनभरि घुम्यौँ ।
जब गाडी भिरमा हुइकिँदै थियो रजनी भन्दै थिई, “हेर, निरकुमार डरले निलो भयो।”
मैले पनि भने,”हो हो।“, खै कुन्नि किन म कालो देखीइन ।
फोटो खिच्यौँ, रिलको क्यामेरामा बाँङगो-टिङगो फोटोहरू आएछन, भुइँमा बसेर खिचेको फोटो पनि रुखमा चढेछ । ल्यान्डस्केप पनि पोट्रेट भएछ । सरहरूको ज्याकेट लिएर, लगाएर पनि फोटो खिचेछौँ । सरहरूले सार्है माया गर्नुहुन्थ्यो हामी सबैलाई। नत्र किन दिनुहुन्थ्यो आफ्नो ज्याकेट जाडोमा ? रमाइलो गर्दै बाँकी बुनिया-चिउरा खाएर फर्कियौँ। बिहानको हतार-हतारमा जीतबहादुर हात उठाउँदै कराउँदा-कराउँदै छुटेछ। बेलुकी मन दु:खाउँदै झगडा गर्न थाल्यो । सम्झाएर शान्त पार्यौँ । मन दुख्ने नै भयो त्यतिका दु:ख गरेर उु छुटेकोमा । हामीलाई पनि मनमा नलागेको होइन।

ती दिनहरू स्मृतिमा ताजा छन । आज तिमीहरू सबै कहाँ-कहाँ छौ, न त मसँग तिमीहरू छौ, न ती तस्बिरहरू । छन त केबल तिमीहरूको स्मृति।
साथी
हेम कुमार राई
११ माघ २०७१ (सरस्वती पूजा )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *