दूर नभमा देखिने इन्द्रधनुषको रङले कुनै दिन कसैलाई लोभ्याएरै होला,
कसैले सुरु गर्‍यो, जीवनमा रङ छर्ने प्रयास!
कसैले मनायो रङको पर्व,
कसैले लेख्यो, सिँहिका र भक्त प्रल्हादको जीवनशैली भित्र,
असत्यको नाश र सत्य दीगो भएको कथा।
तर, समय सदा उस्तै कहाँ रहँदो रहेछ र!
जव मानवरुपी पात्रहरुले जीवनमा रङ भर्ने कोशिस गरे,
सुरु भयो, सप्तरङ्गको बदलामा
ईर्ष्या, लोभ, स्वार्थ्य र छेपारोले रङ फेरे जस्तै
हरपल छल गर्न सक्नेहरुका सफल जीवन गाथा
मनभरी विचारका यस्तै यस्तै विस्कुन सुकाउँदै
सुरु भएको रङको बहावलाई
कहीले हुरीले बत्याउँदै
कतै लगेर रगताम्य हुनेगरी ठोक्काइदियो।
त्यहाँ पनि, रङ त थियो
तर त्यसले बहार होइन, ब्यथा दियो।
रातो रगत बग्दै गयो,
र समय पहेँलिदै गयो!
हुनत, पहेँलो रङ उदाउँदो सूर्यको रँग रे!
‘अरस्तु’ को सोधले त्यसै भन्थ्यो!
त्यसो भए त त्यो सुखद हुनुपर्ने!
तर त्यो पहेँलो रङले जीवनमा
‘जन्डिस’ को भूमिका पो खेल्यो!
अनि कसरी रमाउने होला रङहरु सँग?
नीलो रङलाई शान्तिको प्रतीक मानियो
तर पीडाले निचोरिएर नीर रँङमा परिणत
पारिदिएको देख्ने नजरहरुको अनिकाल लाग्यो!
अझै पनि भन्छन,
रङ्गले वहार ल्याउँछ!
त्यसको लागि सदियौँ कुर्न परे पनि,
रङ परिवर्तनले ल्याउने
भाव परिवर्तनको तरङ्गमा रमाउन पाए त!
धूपले तपतपाएको मरुभूमिमा
अविरल वर्षाले दिने हर्ष भन्दा कम होला र?
इन्द्रधनुषको सात रङमा रमाउन, डुबुल्की मार्न पाए,
जीवन, ‘न्युटन’ ले ‘प्रिज्म’ द्वारा सेतो रङलाई
सातवटा रङमा परिभाषित गरे जस्तै,
‘प्रिज्म’ कै खोजिमा जीवन भौँतारिँदा
इमानको काँचुली फेर्दै नाकमा ठोक्किन आउने भिडहरुसँग,
शरीरको रगत भित्र बग्ने स्वार्थ्यको भेलहरु सँग,
बच्दै, बच्दै,
कति लामो बाटो तय गर्नु पर्ने हो!
तर पनि आँखाहरुले रङ्गीन दृश्य खोजि रहन्छ,
मनले रङ्गीन सपना भरिरहन्छ,
आखिर, जीवनको अर्को रुप परावर्तन नै त हो!
त्यसैले रङको मोह कसरी छुटोस्!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *