Skip to content


यतिखेर
तिम्रो निषेधित क्षेत्रमा
कफ्र्यू लागेको छ,

मौन छन्
ज्ञानेन्द्रियहरू
वाचाल भए
कर्मेन्द्रियहरू
असन्तुष्टिको तराजु
कहिले
तिमितिर
कहिले
मतिर
ढल्किएको छ,

हल्ला छ सहरभरि
अब कू हुन सक्छ
बैँसबाट,

उत्तेजनाको पोखरीमा
तिमीले ढुङ्गा फेँक्यौ
जतिखेर
मैले
अनुहार हेर्ने
जमर्को गरेको थिएँ,

आँखाको यात्रा
जतिसुकै
लामो किन नहोस्
त्यसलाई
ओठले ट्राफिक बनेर
रोक्दोरहेछ,

निधारमा
झुन्ड्याएर गोडाहरू
हामी साष्टाङ्ग दण्डवत मुद्रामा
सलामी भाकिरहेछौं
या विचार अमलेखका खातिर
ओरालो लागिरहेछौं ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *