जंगलको छेउ, बारीको पाटामा
एउटा सानु कटेरो
जहाँ म सधैं बसिरहन्थें,
जतिबेला त्यहाँ मकै छरेको हुन्थ्यो
बिचरा त्यो बाँदर कटेरो !
त्यो मकै रुङ्ने कटेरो
मान्छेले किन भनेनन् मकै कटेरो ?
भन्छन् बाँदर रुङ्ने; किन भन्दैनन् मकै रुङ्ने भनेर ?
दिचर्या उस्तैत छ नि !
त्यहाँ पनि दिनभरि बस्नु पर्ने
यहाँ पनि…….
सम्झिन्छु कुनै दिन;
एउटा बुढो बाँदर ….
मसँग लुकामारी खेल्न आउँथ्यो
घरि रुएको अभिनय गर्थ्यो
घरि ङिच्च गरेर हाँसिदिन्थ्यो
सेता दाँत देखाएर…..
त्यो बुढो बाँदर
कटेरासम्म आउने जमर्को भने गर्दैनथ्यो
ऊ मभन्दा पर बस्थ्यो
जब म त्यहाँ हुन्नथें
ऊ त्यही कटेरामा हुन्थ्यो
बस्थ्यो उपखुट्र्टी लाएर
मेरै नक्कलमा बस्थ्यो
पल्याक पुलुक हेरेपछि
ऊ पस्थ्यो मकैबारीमा
वर्ष धेरै बितेको छ ।
त्यो बारीको धनी पनि फेरिएको छ
सायद बुढो बाँदर पनि मरिसक्यो होला
सिकुवाको खाटमा एकदिन
देखें उही बुढो बाँदर
हेर्दै थिएँ नियालेर,
ठम्याउन गाह्रो गाह्रो हुदै थियो
म छक्क परेर हेर्दै थिएँ
काहाँबाट आयो त्यो बुढो बाँदर ?
म अँझै नियालेर हेर्न खोज्दै थिएँ
नातिनीले उठाएर लगिदिई
हरायो बुढो बाँदर
त्यो ऐनासँगै
हरायो
बुढो बाँदर
हरायो बुढो बाँदर
