कोड नम्बर ०१७ को उत्तरः प्रभु मोबाइल हुन पाऊँ


सानो उमेरको भएर पनि आकाशको सोचाइ बडो उच्च थियो । उसलाई उनका आमाबुबाले बोर्डस गरेर राखिदिएका थिए सहर भन्दा अलिक एकान्तको बोर्डिंगमा । अहिले ऊ कक्षा ८ मा पुगेको थियो । कक्षामा ऊ कहिल्यै पनि कोही भन्दा पनि पछि पर्दैनथ्यो । उसका विद्यालयको वार्षिक कार्यक्रम मनाइँदै थियो । यस सन्दर्भमा कक्षाशिक्षकले आफ्ना आफ्ना कक्षाका विद्यार्थीहरुलाई सहभागिताका लागि जोड दिइरहेका थिए । आकाशका कक्षाशिक्षक पनि आफ्ना कक्षाका विद्यार्थीहरुलाई यस कार्यमा सरिक गराइरहेका थिए ।

एक दिनको कक्षामा उनले बोर्डमा शीर्षक लेखिदिएः “ठुलो भएपछि म ……. हुने विचारमा छु ।” अनि उनले भने “नानी हो, लु यसै विषयमा तिमीहरु आफ्ना विचार लेख । शीर्षक यही भयो । तर यसको गोप्य मूल्यांकन हुने हुनाले कसैले पनि आफ्नो नाम भने नलेख्नू । मैले दिएको कोड नम्बर मात्र लेख्नू । जसलाई ठुलो भएपछि जे हुन मन लागेको छ त्यही कुरा खाली ठाउँमा भर अनि त्यही अनुसार निर्धक्कसँग लेख । जसको रचना सर्वाेच्च हुन्छ उसलाई विद्यालयका र मेरो निजी तर्फबाट समेत गरेर पहिलोलाई पाँच, दोस्रोलाई चार र तेस्रोलाई तिन हजार रुपियाँ पुरस्कार दिइनेछ । लौ तयार परेर लेख । तयार छौ ?” सोधे । “तर परीक्षण भने तिमीहरुकै आमाबाबुहरुबाट भोलि नै हुनेछ है । उनीहरु यस विद्यालयको अभिभावक दिवसको दिन भोलि आउनेछन् । अनि उनीहरुले नै यसको परिणाम घोषणा गर्नेछन् । तर हेर यो कक्षा आठको विद्यार्थीहरुका माझको प्रतियोगिता मात्र हो । अति गोप्य रुपमा यसको चेक जाँच हुन्छ । तयार छौ ?”

“तयार छौं सर ।” सबैले एकै स्वरमा भने । कक्षाका शिक्षकले दिएका उक्त विषयमा सबै विद्यार्थीहरुले समर्थन गरे अनि यसमा सामेल भएर बडो प्रयत्नका साथ फटाफट लेख्न थाले । आकासको कोड नम्बर ०१७ परेको थियो । ऊ भने निकै बेर घोरियो अनि मात्र लेख्न लाग्यो, कक्षा शिक्षले दिएको खालिठाउँमा भरेर लेख्न थाल्यो ।

“भगवान, मलाई अरु केही हुनु छैन, जे भएको छु यसैमा ठिक छु । केही हुनका लागि मैले भविष्यसम्म पनि पर्खनु परेको छैन । किन मैले भविष्यसम्म पर्खनु ? वास्तवमा मलाई भविष्यसम्म पर्खनु नै छैन । तपाईं जे पनि बनाइदिन सकिहाल्नु हुन्छ नि । सक्नु हुने भए मलाई तत्कालै र अहिले नै बनाइदिन सकिहाल्नु हुन्छ क्यारे त्यसैले मलाई मोबाइल बनाइदिनुहोस्, मोबाइल । हो आजभोलि प्रत्येकका हातहातमा र गोजीगोजीमा बस्ने मोबाइल बनाइदिनु होस् । कसैले के हुन पाऊँ भन्लान् कसैले के हुन पाऊँ भन्लान् तर मलाई मोबाइल हुनु छ । मोबाइल हुन पाए पुग्यो । मोबाइल बनाइदिनुहोस् । बनाइदिइहाल्नुहोस् ।

सबैको हात हातमा गोजी गोजीमा, पर्स र मनी ब्यागमा र कसैको ता घाँटीको कण्ठसिरीको रुपमा समेत झुन्डिने अवसर पर्छ मलाई । हामी विद्यार्थी भएर के भो ? एक छाक मिठो मसिनो खान पाउन्नौ, आमा बुबाको कर कर । उनीहरुको मायाबाट सधैं वञ्चित हुनुपर्छ । सधैं यो पढ र त्यो पढ भनेर हैरानी । हाम्रो मनमा के हुन्छ भन्ने कुराको सोचाइ मानौं उनीहरुको मनै हुँदैन, मानौं हामी बालकहरु भनेका आमाबुबाका यन्त्र हौं । यसैले बरु मोबाइल हुन पाए सुरक्षा, स्याहार सम्भार, खान्की र खुराकको कमी हुन पाउन्न । बाबा मलाई जतनका साथ चलाउनुहुन्थ्यो । ममीको ता कुरै छाडौं । ममाथि नित्य निगरानी हुन्थ्यो । यसरी कहाँको अनकन्टारको विद्यालयमा फालिनु पर्ने थिएन । भाइले मलाई नै खोज्ने, दिदीले मलाई नै रोज्ने, सबैले म भनेपछि मरिहत्ते गर्ने, हुरुक्कै हुने । हुनै चाहने हो भने ता यस्तो पो हुनु त । सबैका कानकानमा सबैको काख काखमा, सबैका खोकिलामा सबैका गोजी गोजीमा, सबैका हातहातमा । एकैछिन भोकाउन पाएको छैन फुल चार्ज गरिहाल्ने । सधैं टन्न । यसो केही तलमाथि हुन पाउन्न तुरुन्त उपचार । सधैं टिलिक्क । घामपानीबाट सधै बच्न पाइने । सधैं राम्रो परिधानमा सुशोभित हुने अवसर । सधैं न्यानोको बास । सधैं सुरक्षा, सधैं माया, सकैं ममता । कोही भन्दा कोही कम हुनै नपर्ने । पुरानो हुन पाउनु छैन नयाँ नयाँको मोह । यो भन्दा अरु के हुन चाहनु म । सबैको प्यारो, सधैंको काखमा सधैंको हेरचाह सधैं एकान्तमा भएर पनि हरेकका हातहातमा । एकान्तमा सधैं मैमाथि हिरिक्क भएर खेलाइरहने । गाउँ, सहर, पाखा पखेरा, बस्ती टोल जता भन्यो उतै सबैको प्यारो । सबैको मायाको केन्द्र । मनोरञ्जनका लागि म, गोप्यताका लागि म, प्रेमी प्रेमिकाका लागि म, मोजका लागि म, मस्तीका लागि म खै के मात्र भनौं सर्वत्र म नै म । म नै म……

यसैले भगवान मलाई अरु केही हुन मन छैन । चाहिएन केही । डाक्टर हुनु छैन मलाई । इन्जिनियर हुनु छैन मलाई । मन्त्री र नेता हुन मन छैन मलाई । मलाई ता मोबाइल हुनु छ । तिमी साक्षात् छौ भने मलाई आजै र अहिल्यै मोबाइल बनाइदेऊ । मलाई अरु केही हुन मन छैन । आफ्नै आमाबाबुको माया नपाएको म जस्तो केटाकेटीका लागि सबैको माया पाउनु छ । यसैले भगवान मलाई तुरुन्त मोबाइल बनाइदेऊ चाँडै गर । ढिलो हुन लाग्यो । पर्खिरहेको छु भगवान……………!”

सबैले जसरी नै समयभित्रै आकासले पनि आफ्नो इच्छाएको कुरा लेखिसक्यो । अनि कक्षाशिक्षकलाई बुझायो ।

भोलिपल्टको कुरा हो । उपस्थित अभिभावकहरुका हातमा कक्षा आठका विद्यार्थीहरुका तिनै अघिल्ला दिन लेखाइएका सामग्री परीक्षणका लागि पठाइयो । सबै अभिभावहरुले एक एक उत्तरको परीक्षण गर्न थाले । कुन उत्तर कसका छोराको हो भन्ने सूचना उत्तरमा लेखिएको थिएन । परीक्षकले म कसको र कुन कक्षामा पढ्ने विद्यार्थीको उत्तर परीक्षण गर्दैछु भन्ने कुरामा कुनै सुइँको पाएनन् । तर सोच, विचार र कथनको बठ्याइँले अरुको भन्दा आकाशको लेखन उच्च थियो । उही प्रथम पनि भयो ।

आकासको उत्तरका परीक्षक उसको कुराको महत्व बुझेर सारै नै आहत भए । पुरस्कार दिने बेलामा आकासको उत्तर उच्च ठहरेकोले त्यसका परीक्षकलाई नै त्यसको उच्चता र प्रथम हुनाको कारण सहित केही मन्तव्य राख्न लगाइयो । अनि उनले मञ्चमा भने—“मैले परीक्षण गरेको उत्तर पुस्तिकाको नानी जो होस् ऊ उच्च र महान् सोच भएको छ । आफूले ईश्वरसँग आमाबाबुको माया नपाएकोमा गुनासो गरेर बरु हातहातमा रहन खेलाइने सबैको प्यारो मोबाइल हुन पाऊँ भनेर घुमाउरो पाराले बडो मार्मिक कथन पेस गरेको छ । म ता विद्यालय तहका विद्यार्थीहरुले पनि यस तहका विचार पोख्न सक्लान् के त भनेर एकछिन ता जिब्रो टोक्नु पर्ने अवस्थामा पुगें । सोच्तासोच्तै आफ्नै छोराको याद पनि आयो । तुरुक्क आँसु झर्न खोजे । यस्तो उच्च विचार राख्ने त्यो विद्यार्थी महान् छ र त्यसका मातापिता पनि महान् छन् । हाम्रा छोराछोरीलाई हामीले मायाममता कति गर्दा रहेछौं र उनीहरु मातापिताको मायाका कति भोका हुँदा रहेछन् भन्ने भाव यसबाट खुलस्त भयो । यसै बोर्डिंगमा बोर्डस गरेर राखेको मेरै छोरालाई मैले कति माया गरेंछु त भन्ने कुराको सोच पनि यो सामग्री पढेर मेरा मनभरि आयो । हामीले आफ्ना नानीहरुलाई माया ममताबाट कति पर राखेका रहेछौं भन्ने कुरा ता यो उत्तर पुस्तिका पढेपछि मात्र पो मैले पनि थाहा पाएँ । धन्य छ यो उत्तर लेख्ने नानी जसले यो उच्च सोच राखेको छ !!” यति भनेपछि उनी मञ्चमा बसे ।

पुरस्कार लिनका लागि आकासको नाम नलिइकन कोड नम्बर ०१७ को विद्यार्थीलाई बोलाइयो । विद्यार्थीहरुका माझबाट आकास जुरुक्क उठेर मञ्चतिर लाग्यो । अनि पो उत्तरका परीक्षक चख्ल्याँस्स भए । उत्तर ता आफ्नै छोराको पो रहेछ ।

पुरस्कार दिँदादिंदै ती धुरुधुरु रोए । सभामा बडो सन्नाटा छायो ।

२०७१ साललाई समर्पित गरी चैत्र ३० गते साँझ लेखिएको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “कोड नम्बर ०१७ को उत्तरः प्रभु मोबाइल हुन पाऊँ”

  1. कथा रमाइलो रुपमा प्रस्तुत
    कथा रमाइलो रुपमा प्रस्तुत गरिए पनि मार्मिक छ । केही दिनअघि प्रकाशित “निबन्ध” कथाबाट प्रेरणा मिलेको जस्तो देखियो । https://www.majheri.com/node/16514

  2. पक्कै पनि
    सि‌खडाज्यू पक्कै पनि म त्यही कथाबाट प्रभावित भएर लेखेकाे हुँ । अरु काेही पाठकले याे भेद पत्ता लगाइहाल्लान् कि भनेर पर्खेकाे थिएँ । तपाइँले नै पहिले पक्डनु भयाे । म कृतज्ञ भएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *