Skip to content


तिमी विरलै सम्झन्छौ,
म विरलै विर्सन्छु
त्यसैले त,
हरेक पटक शव्दबाट तिमीलाई स्पर्श गर्ने कोसिस गर्छु
तिंमी खुसी हुँदा हर्षले हरिणी झैँ उफ्रन्छु,
जब आत्मसात गर्छु तिम्रा वेदनाहरू
अनायसै जीउँदो लासमा परिणत हुन्छु,
हरेक क्षण यस्तो माध्यम खोज्दै हुन्छु
जसले दूर दराजको समाचार ल्याइदिन्छ
अक्षरमा रमाऊँछु, शव्दमा हराउँछु,
त्यसैलाई आफ्नो पृय साथी ठान्दछु,
कतै उसले मेरो प्रियतमको सन्देश पो ल्यायो कि?
कतै आवाज पो सुनायो कि?
मेरा दिनहरू यसै गरी बित्छन्!
मेरा दिनचर्याहरूले तिमीलाई नै सामेल गराउँछन्!
तर तिमी?
म ‘पत्थर’ पनि त भन्न सक्तिन,
अरुका लागि बग्ने सँवेदनाका हरफहरू पढ्दा
त्यो आरोप नितान्त झुठो ठहरिन्छ
सायद, स्वार्थी छु, तिम्रा मिठा शव्दहरूको पर्खाइमा रहन्छु,
भूल मेरै होलान्, मेरा मनका तरङ्गहरूले
तिम्रो हृृदयलाई झङ्कृत गर्न नसक्नु!
गल्ती मेरै होलान् तिमीबाट धेरै अपेक्षा राख्नु!
तर एक्कासि कतैबाट आएको शीतल हावाको लहर बन्दै
कुनै क्षण तिम्रो मधुर वाणीले
मेरो मनलाई आकाशमा रमाउँदै उड्ने चरी बनाइदिन्छ
मेरो ओठ भर्खर फक्रिन लागेको गुलाफको
कोपीलासित साटिन खोज्छ,
अनि म आफैँसित प्रश्नगर्छु,
ममा पत्थरलाई पगाल्ने शक्तिरहेछ त?
थाहा छैन, त्यसको जवाफ कहिले पाउँछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *