Skip to content

हामी आविष्कारक हौँ अन्धकार युगको

  • by


‘फटाहाका गलामा माला सुहाउँदैन’
‘दुर्जनलाई सम्मान कहिल्यै गर्नुहुँदैन’
‘श्रोता बन्नु सधैँ असल गुरुको’
‘खराबहरूको संगत गर्नुहुँदैन’
पुर्खाले सिकाएका यी सत्वाणीहरू
सबै झूटो बनाइदिएका छौँ
विद्या बंग्याइदिएका छौँ
अर्थहरू सबै भत्काइदिएका छौँ
हामी सर्जक हौँ नयाँ पाठको
गुरु हौँ नयाँ अभ्यासको, बधाई दिन्छौँ हामी आफैँलाई
आविष्कारक हौँ नयाँ नेपालको ।

उसै पनि क्षणभंगुर यो मानव-चोला
झनै क्षणिक बनाइदिएका छौँ
मर्नलाई काल पर्खनै पर्दैन कसैले
जताततै काल पल्काइदिएका छौँ
जनतालाई अकालमा मर्नबाट जोगाउन सकेनौँ त के भो ?
मरसिकेपछि हरेकको नाममा गोहीको आँसु चुहाइदिएकै छौँ
वचन पूरा गर्न सकेनौँ त के भो ?
प्रतिबद्धता पटकपटक दोहोर्‍याइरहेकै छौँ
डाडुपन्यू आफ्नो हातमा परेको यो बेला
अलिकति मनपरी गर्‍यौँ त के बिगार्‍यौँ ?
सबैले जे गर्दै आ’थे त्यही न दोहोर्‍याइदिएका हौँ π
बधाई दिन्छौँ हामी आफँैलाई
राजनीतिको लाज बचाइदिएका छौँ
नीतिबिनाको राज गर्ने सूत्र नयाँ पहिल्याएका छौँ
जनतालाई नयाँ नेपालको
अनुहार राम्रो देखाइदिएका छौँ ।

परविर्तन भनेको यही त हो
रूपान्तरण भनेको यही त हो
शान्तिसुरक्षा पूरा खलबल्याइदिएकै छौँ
मन लागे जसले जहाँ जे गरे पनि हुने
बाटो सबै खोलिदिएकै छौँ
जनताको अधिकार हनन भइरहेको छ त के भो ?
अधिकारका लागि लड्न सबैलाई सिकाइदिएकै छौँ ।

समय त्यो पछाडि कहिल्यै फकर्ंदैन
बढिरहन्छ निरन्तर अघिअघि
प्रकृतिशास्त्रको यस निर्धारणलाई
भत्काउन सफल भएका छौँ
घुँडा टेक्न समयलाई बाध्य हामीले पारेका छौँ
बत्ती निभाइदिएका छौँ, धारा सुकाइदिएका छौँ
ढुंगेयुगको झझल्को दिने
दिनहरू जनतालाई देखाइदिएका छौँ
हामी सर्जक हौँ नयाँ युगको, गुरु हौँ नयाँ अभ्यासको
अन्धकार वर्तमानको, अन्धकार भविष्यको
अन्धकार ! अन्धकार !!
बस् अन्धकार युगको
बधाई दिन्छौँ हामी आफैँलाई
आविष्कारक हौँ हामी अन्धकार युगको !

नेपाल साप्ताहिक ३२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *