दुख्यो छाती चर्कीचर्की भूकम्पमा थर्कीथर्की
गर्नु विनास गरेपछि किन आउनु फर्कीफर्की ।
घरसँगै मन भत्क्यो भत्क्यो सारा संसार
विपत्तिमा पनि किन भिन्ना भिन्नै विचार?
दुरदराज गाउँबस्ती वेहोसीमा रुन्छ
छैन उस्को सहारा कोही कस्ले कुरा सुन्छ?
दुर्गन्धित छ गाउँबस्ती थुन्नु पर्छ नाक
यसो गर्यौँ उसो गर्यौँ सुनिदैछ धाक
गिठ्ठा भ्याकुर सिस्नो खाई अडेको छ सास
पाखाभित्ता खुला आकाश कैलेसम्म बास।
हरायो कि मानवता मानवीय भाषा
पुनर्ब्याख्या गर्नु पर्ने भो कि परिभाषा
अँझै पनि खुकुरीको धारमाथि जीवन
विपनीमै ऐठन् हुन्छ सम्झदा नि त्यो दिन
देवीचरण भण्डारी
