सपना, बल्छीयुद्ध र रातो डायरी

P


झल्याँस्स ब्युझिएँ । अहो, कस्तो बिचित्रको सपना ! कुनै टेलिशॢङखलाको एकै भाग दिननुदिन दोहोरिएजस्तो किन सधैं एउटै सपना देख्दैछु ? यो कस्तो संकेत हो ? शुभ य अशुभ? अनि त्यो रातो डायरी ? के हो या के होइन त्यो? आखिर कहाँ छ त्यो रातो डायरी ?

यसरी हरेक प्रभातमा म असिनपसिन भएर ओछ्यानमा ब्यूँझिएको हुन्थे। सम्झन्थेँ – कुनै रातो डायरी पढिरहेको बेला उनीहरू आउने, मलाई लखेट्ने, पक्डिने, त्यो डायरीलाई जलाइदिने, मलाई कुट्ने, र लछार्ने पछार्ने ।

त्यसपछि म आफैलाई बिस्ताराबाट पछारिएको पाउथेँ । ब्यूँझेपछि त्यो रातो डायरी सम्झेर रन्थनाउँथे । अनि एकाबिहानै चुरोटसँगै यी सपनाका ह्याङ्ओवर् बिस्तारै चढ्दै जान्थे। सपना पूर्ण सत्य हो भन्ने होइन । सपना पूर्ण असत्य हो भन्ने पनि होइन । सपना न पूर्ण सचेतन हो न पूर्ण अचेतन । कहीं न कहीं अचेतन मनमा रहेका कुराहरू सपनाको रुपमा बिस्फरित् हून्छन् । यसरी हेर्दा लाग्छ कहीं न कहीं सपना सँकेत् हो आफ्ना दमित इच्छा, कामेच्छा र भावनाहरूको । कहिलेकाहूीं सपनाले मनिसलाई आफ्ना जिजीविषाहरूको मुक्तिमार्ग देखाउन पनि सक्छ, नदेखाउन पनि सक्छ ।

चुरोट् सल्काएँ या भनौ आफैलाई सल्काएँ, थाहा छैन । कोठाभित्र हेर्छू छोरो मस्त सङग सुतिरहेको छ । कोठा बाहिर देख्छु, छोरोले बाँसको निगालोमा धागो बेरी-बेरी बल्छी उनेको रहेछ। हरियो बाँसको निगालोमा धागोको बेर्याइ आर्टिस्टिक थियो । हातमा लिएँ । कता-कता बल्छी खेल्न जाऊँ झैँ लाग्यो।

धेरै सोच्नु भनेको काम बिगार्नु सरह हो । त्यसकारण केही नसोची तालतिर लागे । तालको दक्षिण भागमा एउटा सानो फाँटजस्तो देखियो। त्यतैतिर लागे। तालको सोउन्दर्यताले मुग्ध हुँदै आफ्नो अस्त्र अर्थात बल्छी फिट् गर्न थाले। मसिनो धागो निगालोमा अड्किन गाह्रो मान्यो । के मिलेन के मिलेन झै भयो । चुरोट सल्काएँ । पहिलोपल्ट हतियार साफ गर्दा भएको कष्ट सम्झिएँ । सम्झेँ ती दिनहरू जब हामी स्कुलको वार्षिकोत्सब मनाउन लागिपरेका थिएौ । कार्यक्रम सकिनै लाग्दा एउटा ससस्त्र् समुह आएर १० कक्षाका सबै छात्र बल्जफ्ती लिएर गएका थिए । हामीले बिरोध् गरेनौ किनकि बिरोधको मूल्य चर्को थियो । यो खबरले घरतिर निक्कै दिनसम्म रुवाबासी चलेको थियो अरे । लगेको दोस्रो दिनदेखि नै हामीलाई हतियार चलाउन सिकाइयो । हो, जीवनमा पहिलोपल्ट नाले बन्दुक् साफ् गर्दा र बारुद् भर्दा पनि मलाई निक्कै सास्ती भएको थियो ।

औलाको कापा पोलेपछि मैले चुरोट्को ठुटो हुत्याएँ । अनि प्लस्टिक्मा ल्याएको गँड्यौला बल्छीमा उने । लाग्यो कुनै बेला हामी पनि यही गँड्यौलाजस्तै थियौँ – स्वार्थ बस् बल्छीमा उनीएको । न्यूनतम युद्ध-नियम, युद्ध-विज्ञान्, युद्ध-लक्ष्य या युद्ध-कौसल पनि हामीलाई थाहा थिएन । थाहा थियो त केबल रटाइएका युद्ध महात्म्य – साम्राज्यबाद् मुर्दावाद्, बिस्तारवाद मुर्दावाद, सामन्तीहरू मुर्दावाद दलालशाह, नोकरशाह् मुर्दावाद आदि ।

सोचें युद्ध के हो? आवश्यकता ? कर्तव्य? मुक्तिमार्ग? प्रबृति ? प्रतिक्रिया? राजनीति वा अन्य केही? युद्ध आखिर केका निम्ति ? मुक्ति ? स्वार्थ वा राजनीति ? लाग्यो युद्ध महत्वोकांक्षाप्राप्तिको घिनलाग्दो वैकल्पिक बाटो हो । यो राजनैतिक चक्रब्युह हो। युद्ध चेस खेल हो जहाँ प्युसाहरू नासिन्छन् तर राजा कहिल्यै मर्दैन। सायद युद्ध मानव प्रवृति या भनौँ यो सर्बब्यापक, सर्बमान्य् द्वन्दको बिराट रूप हो । डार्विनले भनेझै सायद “इस्त्रगल् फर् एग्जिस्टेन्स्” पनि युद्ध नै हो ।

त्यसकारण, युद्ध नै सब् थोक हो, सब् थोक युद्ध हो ।

झ्वाम्म । बल्छी पानीमा फाले । एकछिन कुरे । सायद अब एउटा ठुलो भुटन् पर्छ । पूर्वतर्फ घाम ब्यूँझिएको रहेछ । लाग्यो, घाम पनि आफ्ना सपनाहरूबाट निस्सासिएर उठेको छ र अब भाग्नेछ, आफ्ना सपनाहरूबाट आत्तिएर !

कुन्नि के सोचेँ, मन त्यसै अमिलो भएर आयो । हाम्रो जीवन पनि कहिल्यै घाम लागेन । युद्धका निम्ति सबथोक् छाडियो – पढाइ, क्यारियर्, वैंश, आमाबाबु, घरपरिवार सबै सबै । आखिर महान बिद्रोहले “महान”हरूलाई मात्रै प्रतिफल दियो । तिनै महान कमरेडरूले हामीलाई “अयोग्य” भनिकन निधारमा कलंकको टीका लगाइदिनुभयो । फलस्वरुप् हाम्रो सिङ्गो जीवन् अयोग्य बन्यो । यस्तो पीडामा आजकाल लाग्छ, म साच्चिकै अयोग्य नै हू । जाबो दुई पेट पाल्न दश ठाउँ धाउनु पर्छ, दश पाउ समाउनुपर्छ । साला युद्धले सबथोक छिन्यो -सबथोक ! साला वाहियत् युद्ध । युज्लेस वार् साला !

हातमा अलिक भार परे जस्तै लाग्यो। बल्छी ताँने, गर्हौ छ। एकछिन् सारा कुराहरू बिर्सिए । एउटा ठुलै सफलताले रक्तनलिमा सुखानुभूति सन्चार् हुन् थाले । अँझै जोड लगाएँ। ताने । अहो! त्यो माछा नभै अन्य केहीरहेछ । हेर्छु, लेदिज् स्यन्डिल् -यसले मलाई स्मृतिको ती पलहरूमा पुर्यायो – जहाँ हामी एउटै टोलीमासँगै थियौँ । उनी अर्थात् माया । एक् दिनको कुरामा हो हामी चिसापानी प्रहरी चौकी आक्रमण गर्न हिडेका थियौँ । समुह समुह बनाएर छुट्टिएपछि हामीले खोला तर्नु पर्ने भयो। सबैले जुत्ता खोलेर हातमा राखी तर्दै थियौँ, मायाको जुत्ता भने खोलाले बगायो । मैले उनको बगाएको जुत्ता सिवाय केही पनि देखिन। अनि पौडी खेलेर निकै तल पुगेर उनको जुत्ता ल्याइदिए । त्यसपछि हाम्रो प्रेम झ्याँगिएको थियो । केही महिनापछि नै उनले हाम्रो प्रेमको सुन्दर उपहार दिइन् – छोरा नरे । यो कुराले हामी पार्टी को अनुसासन कमिटि को कारबाहीमा पर्यौ । हामीले बिहे गर्नुपर्ने भयो- गर्यो । जीवनमा सम्झिनलायक यही एउटा मसिनो खुसी पनि बिहेको एक वर्ष बित्न नपाउदै हरायो – नागस्थान युद्धमा इशको प्यारो भइन । पुरानो घाउहरू मानौ एकपछि अर्को गर्दै आए । केही महिना पछि आमाको मृत्यु, दिदीको रोग आदिले गर्दा नियतिको कठोर प्रहारमा परेँ । फलस्वरूप म पूर्णरुपले बिक्षिप्त भएको थिए ।

अनायसै आँसु बरर्र चुहियो । सायद आँखाका डिलहरूले पनि दुखको ताल थाम्न सकेनन् । आ, कति जानु पूर्वस्मृतिमा ? कति हुनु नोस्टाल्जिक ? त्यही युद्धका घाउहरू बोकी जसोतसो जीवन घिस्रिएकै छ क्यार ! आ, चुरोटको तलतल लाग्यो, सल्काएँ । पीडामा यो चुरोट कस्तो ओखती हुन्छ, त्यो पिउनेलाई मात्र थाहा हुन्छ ।

फेरि झ्वाम्म । के के सोच्दै थिए कुन्नि हातमा हलचल भो। बल्छीको बाँस अलि जोडले तान्छु । देख्छु, बल्छीमा माछा उनीएको छ, माछा अर्थात् सग्लो, कत्ले खगटे माछा । माछा जोड जोडले छटपटायो । सम्झेँ, गाबु आक्रमणको त्यो क्षण जब एक प्रहरी हाम्रो आक्रमणमा परी पानी-पानी भन्दै छटपटाइरहेको थियो । अहिले आएर अपराधबोध भयो ।

सोचें, मैले पनि बल्छीयुद्ध चलाइरहेको छु । बल्छीयुद्ध र जनयुद्ध रुपमा फरक भए पनि सार एउटै थियो । दुवैमा समानता देखियो – बल्छीयुद्धको म अर्थात् जनयुद्धको कमरेड्हरू जो जितारुको अंशियार हुन् । त्यस्तै गँड्यौला योद्धा या लडाकुको ध्योतक् माछा जनताको भने ती तालहरू युद्धभूमि अनि त्यो बल्छी चाहिं हतियार् । आखिरमा हार गँड्यौला र माछा दुवैको हुनेछ । ती दुई जीव जस्तै गरी जनतामा मारिए । फाइदा कसैलाई थियो भने त थियो मात्र जसले स्वार्थको बल्छी हान्दै छ- कसैको निर्दोसितामाथि,कसैको सोझोपनमाथि अनि कसैको सपना अनि विश्वास माथि । मलाई अपराधबोध भयो अनि बल्छीबाट माछा झिके । र त्यसलाई उसकै संसारमा राखिदिएँ । मलाई लाग्यो हरेक युद्ध आफैमा एउटा पाठ हो ।

घिनलाग्दा युद्धका इतिहासलाई बिनिर्माण गर्ने हो भने युद्ध कलात्मक पनि बन्न सक्छ । अत्याचार, शोषण र दमनको बिरुद्ध भएको युद्धहरू इतिहासमा एउटा अनुकरणीय पाठ बन्दछन । क्रान्ति युद्धहरूले नै शान्ति, समता र समानताको बाटो खन्दछ ।

बल्छीयुद्ध क्रान्ति होइन । यसकारण सामान्य रुपमाभन्दा बल्छीयुद्ध कुनै युद्ध नै होइन । यो दमन हो । दमनको चाप बढेपछि ज्वालामुखी फुट्छ, फुट्छ, यो क्रान्ति दर्शन हो । अचानक कहाँबाट सपनाको रातो डायरीको ख्याल आयो । अन्तर्दृष्टिले हेरेँ, अनि देखेँ – त्यही रातो डायरी जसका पृष्ठ-पृष्ठमा कुँदिएका थिए- मुक्ति, संघर्ष, क्रान्ति, मार्क्स्, माओ अनि सपनाका अक्षरहरू । त्यही रातो डायरी जो हरेक अयोग्य लडाकुलाई युद्धले दिएको एक् मात्र सुन्दर उपहार थियो । अनि बल्ल कमरेड्हरूले रातो डायरी जलाउनुको कारण थाहा पाएँ ।

डेरामा फर्किँदै गर्दा अर्को चुरोट सल्काएँ । लाग्यो, यो चुरोटमा आगो होइन क्रान्ति सल्किइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “सपना, बल्छीयुद्ध र रातो डायरी”

  1. Nischal bhandari555

    समय
    समयलाई सित्तैमा पाए पनि महङ्गा काम गर्नुपर्छ अनि आफ्ना लक्ष्य र लम्केका पाइलाहरु सार्थक बन्छन् । समय अनावश्यक खर्चले अवनतिका नमिठो फल हस्तान्तरण गर्ने विडम्बना निश्चय गर्न सकिन्छ । समय बलवान् छ सर्बोच्च छ यस्तो महिमा बोकेको समयलाई आत्मसात गर्दै आफ्ना लक्ष्या तर्फ लगनशील हुने जोसुकै पनि आफ्नो गन्तब्यमा पुगेरै छाड्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *