“किशोर अवस्थाको प्रेम केवल आकर्षण हो” – महापुरूषहरू भन्दछन्।
कहीं कतैका प्रवचन वा स्कुले विद्यार्थीका कार्यक्रमहरूमा यस्तै सुनिन्छ अनि म खिस्स हाँस्दछु।
“तिमीले पनि मन पराऊथियौ कि क्याहो कसैलाई?” – श्रीमानले मतिर पुलुक्क हेरेर हाँस्दछन्।
“म यिनीहरूलाई हेरेर हाँसेकी!” – म आफ्नो दोष आठवर्षे छोरा र छ वर्षे छोरीमा थुपार्ने कोसिस गर्दछु।
“यिनीहरूको त बेला आउँदैछ।”
* * *
म उसलाई ध्यान दिँदिनथेँ, ऊ मलाई कोट्याउदथ्यो । सायद अरूको मन जित्न खप्पिस मानिसहरू यस्तै गर्दारहेछन । जति बेवास्ता गर्न खोजेतापनि मेरो मनलाई आफूप्रति केन्द्रित गराइछाड्यो उसले ।
बिस्तारै हाम्रो सम्बन्ध झ्याङ्गिदै गयो । कलेजमा हाम्रा नामहरू पनि जोडिन थाले – प्रनिल + प्रतिभा ! ‘आहा! कस्तो सुहाएको’
बाहिर बाहिर रिसाएजस्तो गरेतापनि भित्र-भित्र निकै रमाइलो लाग्दथ्यो। सम्बन्ध यतिमा सीमित हुन सकेन – स्तुपाका मूर्ति र पार्कका बुट्यानहरू हाम्रा स्पर्शका साक्षी भए, कति अर्थहिन साँझहरू रहस्यले भरिए, अध्यारा रातहरू रङ्गिन भएर रङ्गिए । आहा, साँच्चै स्वर्ग पाउन मर्नै पर्दैन, मन परेको मान्छेको अंगालोमा घुस्रिन पाए पुग्दछ ।
एकअर्काको ढुकढुकी सुन्दैमा हाम्रो एघार-बाह्र सकियो। घरपरिवार र समाजमा भिज्नका लागि हामीले रोज्ने भविष्यको बाटो फरक हुन पुग्यो। हाम्रो कलेज छुट्टियो, मन भक्कानियो! भविष्यको चिन्ता नहुँदो हो त हामी पक्कै एकैठाउँमा गुजुल्टिएर बस्दथ्यौँ ।
पहिले जस्तो सोचिएको थियो, सबैकुरा त्यसरी नै फेरिँदै गइरहेको थियो। तर नफेरिनुपर्ने प्रनिलको मन पनि । मप्रति उसको भावना फेरिएको आभास पाए मैले। सुने कि – अँहँ सुनेकी होइन, थाहा नै पाएँ कि प्रनिलका प्रेमिल स्पर्शहरू अब अरू कसैसँग समाहित हुदैँछन्। मेरालागि त्यो मर्नुभन्दा असह्य भयो!
मैले प्रनिलसँग जोडिइरहन निकै प्रयास गरेँ । तर अहँ, उसलाई छुट्टिनुमै आनन्द लाग्यो। कसै सिप नलागेपछि मनबाट उसलाई निकाल्न निकै प्रयास गरेँ । तर सकिन । आजसम्म पनि म तिनै पुराना स्मृतिहरूमै बाँचिरहेकी छु। कहिलेकाहीँ लाग्छ – हामी भविष्य कोर्न छुट्टिनु नपरेको भए सायद एकअर्काको अंगालोमै बाधिइरहेका पो हुन्थ्यौँ कि! एक्लोपनामा रहँदा कसैको अदम्य साथ पाएर मात्र पो उसको मन फेरिएको हो कि ?
सायद समाज र भविष्यको चिन्ता नहुँदो हो त धेरैको जीवन सफल हुँदो हो!
साला समाज…
हुन त केटाहरू…साला केटाहरू…!
भो म प्रनिललाई गाली गर्न पनि सक्दिन!
मेरो बिडम्बना, हाम्रो दूरी बढ्नुको कारण मलाई कहिल्यै थाहा नै भएन।
दुनियामा प्रायले आफूलाई धोका दिने व्यक्तिसामु केही गरेर देखाउने अभिष्ट चाहना राख्दछन्। समाजले हेर्दा आज म पनि सफल छु। श्रीमानको नाम सुन्नासाथ सबैले ईज्जत गर्दछन्, बच्चा-बच्ची र घरपरिवार हाँसी-खुसी नै छन् । तर अहँ, म सफल भए भनेर प्रनिललाई जिस्काउने आट ममा छैन। यस्तो लाग्छ कि अब संसारै जिते भनेपनि यसको कुनै अर्थ छैन मलाई, मैले त आफ्नो जीवन नै हारिसकेकी छु । मन आफै- आफै निचोरिन्छ ।
यो कुरा बताउँदा मलाई समाजले थुक्ला, तर उमेररले तीस कटेर दुई बच्चाकी आमा भइसकेकी मैले आज पनि प्रेम गर्ने व्यक्ति मेरो श्रीमान होइन । मेरो श्रीमानका प्रतेक चुम्बनहरूमा म आँखा बन्द गर्दछु। श्रीमानले आफूप्रतीको आशक्ति सम्झेर मलाई अंगालोमा कस्दछन्, तर म पापिनी प्रनिलको स्पर्शको काल्पनिक अनुभूतिमा रमाइरहेकि हुन्छु!
* * *
यी जानकार भनाउँदाहरू जे सजिलो लाग्यो त्यही भनिदिन्छन्। सच्चा प्रेमको अर्थै नबुझि जेलाई पनि भौतिक सफलतासँग तुलना गर्न चाहने उनीहरूलाई के थाह कि वास्तवमा किशोर अवस्थाको प्रेम कुनै वासनाको आकर्षण होइन, निस्वार्थ आत्माको कलिलो मिलन हो। कुमालेको काँचो माटोको बलियो उदाहरण जस्तै कलिलो मिलन नै वास्तविक प्रेमको दर्हो नमुना हो । जुन अटुट रुपमा जीवन्त बनेर जीवनभर गाँसिन सक्दछ। वासनाको आकर्षणमा लठ्ठिने त सायद सोच-बुझका वयस्क ज्ञाताहरू नै हुन्। किशोर अवस्थाको प्रेम अपरीपक्क होइन, यसलाई सफल तुल्याउने बाटोमात्र जटिल हो जसले मेरोजस्तै धेरैको जीवन सदाका लागि असफल तुल्याइदिन्छ ।
