मन न हो कहिलेकाहीं कल्पनामा डुबिदिन्छ, कहिलेकाहीं भावनामा बगिदिन्छ, कहिलेकाहीं सोचमा उडिदिन्छ, यो परिवर्तनशील मन । त्यसैले होला यी सोच विचारहरू पनि परिवर्तन हुन्छन समयसँगै । मान्छेहरू पनि परिवर्तन हुन्छन समयसँगै आफ्नो रुप रंग आकार परिवर्तन भएसरी ।
त्यसैले मलाई दुख लाग्दैन जबसँगै विद्यालय जीवन पार गरेको मेरो साथीले मलाई वास्ता गर्दैन। हामी जति मिल्ने साथी थियौँ त्यत्तिकै झगडा पनि गर्थ्यौँ। खाली पिरयडमा ऊ मसँग निहुँ खोजिरहन्थ्यो र म कुनै प्रतिक्रिया जनाउदिनथेँ । ऊ ममाथि मुक्का बर्साउँथ्यो र बदलामा म पनि । तर जहिले म हार्थेँ र सरलाई गुहार्थेँ। ऊ सारा कक्षामाझ सरको कुटाई खान्थ्यो । ऊ बहादुर भएर कत्ति नदुखेझै एक पछि अर्को हात थाप्दै जान्थ्यो तर मलाई सार्है दुख्थ्यो।
अर्को दिनदेखी म पछिल्लो बेन्चमा गएर बस्थेँ, ऊ पनि त्यहीँ बसाइँ सर्थ्यो। कहिलेकाहीं मैले सरबाट कुटाइ खाइरहँदा ऊ मुख छोपी छोपी हाँस्थ्यो। सोच्थेँ मरो सबैभन्दा ठुलो दुश्मन ऊ नै हो। तर ‘सोझो केटो’ को परिचय बनाएको मसँग कोही निहुँ खोज्ने आँट गर्दैनथ्यो- कारण ऊ नै थियो। आफू नखाएर भएपनि मलाई खानेकुरा दिन्थ्यो। उसको घरमा कुनै शुभ अशुभ कार्य हुँदा मैले आउनै पर्ने र मेरोमा हुँदा मैले बोलाउनै पर्ने। कक्षामा ‘बेस्ट फ्रेन्ड’ शिर्षकमा निबन्ध लेख्नुपर्दा उसको कापीमा मेरो नाम हुन्थ्यो-हुन्थ्यो। लाग्थ्यो मेरो सबैभन्दा ठुलो साथी ऊ नै हो ।
‘डाक्टर’ र ‘इन्जिनियर’ संसारका सबैभन्दा ठुला मान्छे हुन भन्ने हाम्रो बुझाई थियो। हामीलाई पनि ठुलै हुनु थियो – ऊ डाक्टर बन्न चाहन्थ्यो र म इन्जिनियर ।
बेलाबेलामा होमवर्क नगर्दा, सरले “होमवर्क नगर्ने पनि कहीं डाक्टर हुन्छ?”भन्दा शरिरका आधा दर्जन अंग फुलाएर ऊ भन्थ्यो -“सर, डाक्टरले कहिल्यै होमवर्क गर्दैन।” मलाई लाग्थ्यो संसारको सबैभन्दा ठुलो मान्छे- ‘डाक्टर इन्जिनियर’ हुनलाई पढाइमा अब्बल हुनुपर्छ म जस्तै। उसलाई लाग्थ्यो धनी हुनुपर्छ ऊ जस्तै ।
करिब रातको १२ – १ बजेसम्म नै स्वर्णचोक व्यस्त हुन्थ्यो। नाम स्वर्ण चोक भएपनि त्यहाँ भएका सम्पूर्ण कुराहरू इँट सिमेन्ट र फलामका थिए। सधैँ झै खाना खाइसकेपछि म त्यही चोकमा उभिन्थेँ र नियाल्थेँ थुप्रै केही नयाँ उर्जाशील र केही थकित अनुहारहरू ।
एकदिन सधैँ झै म त्यही चोकमा एकतमासले उभिरहेको थिएँ । जिन्दगीबारे वृहत सोचिरहेको थिएँ । मान्छेहरूका बथान आ- आफ्नै गन्तव्यमा पुग्न हतारिरहेका, यसरी कि भोलिको दिन कहिल्यै आउँदैन, देखिन्थे। धेरै थोरै मात्र थिए जो मजस्तै गन्तव्यविहीन भएर उभिरहेका थिए वास्तविक स्वर्णचोकमा र जिन्दगीको स्वर्णचोकमा ।
सडकको पेटीमा एउटा करिब तीन वर्षको बालक खुबै चिच्याइरहेको दृश्यले मन तान्यो। नजिकै उसको बाबुजस्तो देखिने अधबैशे पुरुष – जो आफ्नो उमेरको करिब दोब्बर देखिन्थ्यो- पुरानो आसकोट जिउँमा झुन्ड्याएको, अलि ठुलो साइजको पाइन्टलाई पुरानो बेल्टले बेसरी कसेको, र शिरमा नेपाली टोपी जिङरिङ् पारिएको- बसिरहेको थियो। रसँगै कपाल बिजुकाजस्तै देखिने र कहिल्यै नधोइएको जस्तो देखिने लुगा लगाएकि एउटी महिला थिइन -सायद उनी त्यो बालककी आमा थिइन। म नजिकै गएँ उनीहरूको दुख नियाल्न, अरु त म के नै गर्न सक्थेँ र? बालक एउटा गुडियाको लागि रोइरहेको रहेछ- हुनसक्छ संसारको सबैभन्दा ठुलो खुसी उसलाई त्यही थियो । बाबु उसलाई भोलि किनिदिन्छुँ भनेर फकाइरहेको थियो, सपना देखाइरहेको थियो। उसलाई लाग्यो होला भोलि ऊ गुडियाबारे बिर्सनेछ र जिद्दी गर्नेछैन। उसले चकलेट किनिदियो, बालक चुप लाग्यो। किन उनीहरू अबेरसम्म बसिरहेका थिए जान्न चाहिन, सायद उनीहरूको बेग्लै कथा थियो- गहकिलो संघर्षको। किनकि त्यो युवकको अनुहारमा आसाका केस्राहरूका थोरै भएपनि छाप बाँकी थियो ।
त्यो बालकले जस्तै हामीले पनि सपना देखेका थियौँ र केही भोलि पार नगर्दै बिर्सियौँ। सायद चकलेटको गुलियोमा बाटो मोडियो कि? या त हामी हकिकतसँग अपरिचित थियौँ- जसरी त्यो बालकलाई थाहा थिएन कि उसको बाबुले त्यो महंगो गुडिया किन्ने क्षमता राख्दैन। लाग्यो असफलता नै सफलताको प्रतिक भन्ने भनाई गलत हो, असफलता अर्को असफलताको बलियो प्रमाण हो। जिन्दगी एउटा खेल हो जहाँ हरेक व्यक्तिहरू प्रथम यानकि सफल हुन सक्दैनन्, सकिन्छ त केवल आफ्नो यथास्थितिमा खुसी हुन सकिन्छ, बस मनबाट आशा निभ्नु हुँदैन।
एस एल सी परीक्षाको केही महिना पहिले हामी शैक्षिक भ्रमणमा विद्यालयबाट इलाम जाने निश्चित भएको थियो। “म त जान्न यार, घरमा बुवाले नजाने भन्नु भाको छ” मैले ऊसँग यसो भनिरहँदा उसले भनेको थियो- “त्यसो भा म नि नजाने, बरु अरु साथी इलाम गा बेला हामी चिसापानी घुम्न जाम न, रमाइलो गरम्ला।” “भैगो नजाम के” मैले अस्विकृति जनाएँ। “जाम न जाम, हामी भविष्यका ठुला मान्छे नि, अलि अलि दुनियाँ देख्नपर्छ के।” उसले जोड दिएको थियो।
अलि धेरै सोचेर म बोलेँ- ” तँ त ठुलो मान्छे भै हाल्छस यार, तेरा बुवाले तँलाई पढाइहाल्छन नि, मलाई कोले पढाउला र?”
“म पढाउछुँ नि दोस्त, अलि ठुलो हुन त दे, बुवाको सबै सम्पति मेरो भै हाल्छ नि।” दाँत ङिच्च पार्दै ऊ बोलेको थियो।
घर नफर्केको पनि दश वर्ष भैसकेको थियो। म हरेक दिन स्वर्णचोकमा उभिन्थेँ र नियाल्थेँ नविनतम घटनाहरू र नयाँ अनुहारहरू। तर तिँ मध्ये कसैको अनुहार मेरो साथीसँग मिल्थेन। उसको नाम शिशिर थियो। गोरो वर्णको, मिलेका दाँत, कपाल जहिले जेल हालेर ठाडा पार्थ्यो। नाम शिशिर भए नि मान्छे वसन्त जस्तो थियो हरियाली। उसकि बहिनी रमिला भन्थी-” मेरा त दुई जना दाइ, ल भन्नुस कोले बढी माया गर्छ मलाई?” हामी म बढी माया गर्छुँ भन्दै लड्थ्यौँ, झगडा गर्थ्यौँ, बोल्न छोड्थ्यौ र पनि मिल्थ्यौँ। ऊ मलाई खुबै सताउथ्यो, रुवाउथ्यो र पनि फकाउथ्यो- हँसाउथ्यो।
म सोच्थेँ शिशिर कहाँ होला के गर्दै होला, के ऊ अँझैँ त्यसैगरी मुस्कुराउँछ होला? तँलाई कहिल्यै बिर्सन्न भन्थ्यो, के म अँझै उसको सम्झनामा हुँला। म ‘तँ ठुलो मान्छे भइस भने मलाई वास्ता गर्न छोड्छस् ‘भन्थेँ। आखिर मैले भने जस्तै भयो, ऊ एक्लै हामी सबैलाई बेवास्ता गर्दै अघि बढ्यो। सोच्थेँ कुनै दिन फेरि उसलाई भेटेँ भने उसलाई भन्नेछुँ “हेर तेरो साथी प्रेम, अब इन्जिनियर भइसकेँ, धेरै डाक्टर बन्छुँ भन्थिस त – खै भाको?” ऊ फेरि उसैगरी ङिच्च दाँत देखाउँनेछ सायद या जलनले अनुहार कालो पार्नेछ।
बिहानै सात बजे हामी साइकलमा घरबाट निस्किएका थियौँ। “हेर तँ भएर मात्रै घरबाट निस्कन देको है प्रेम, अलि छिटो घर फर्किनु है।” हामी हुन्छको स्विकृतिमा टाउको हल्लाएर बेतोडले भाग्यौँ। घरि ऊ साइकल कुदाउँथ्यो घरि म। करिब आठ बजे हामी लम्किमा पुग्यौँ। अँझ करिव एक घन्टाको बाटो बाँकी नै थियो, हामी अलिअलि भोक लागेको हुनाले होटलमा पस्यौँ। “साउजी तीन प्लेट चाउमिन” ऊ चिच्यायो। “किन तीन प्लेट?” मैले प्रश्न गरेँ। “एक प्लेट मलाई दुई प्लेट तँलाई, अब साइकल तैँले चलाउँछस- बुझिस” नाक फुलाउँदै उसले भन्यो। नास्ता आयो, हामीले मिलेर बराबरी नै खायौँ र मिलेर नै साइकल चलायौँ चिसापानी सम्मै।
बाहिर अँध्यारो थियो, भित्ताको घडीले रातको बाह्र बजेको संकेत गर्दै थियो। सेतो एप्रोन लगाएका दुइजना महिला स्लाइनमा औषधी इन्जेक्ट गर्दै थिए। मैले आँखा खोल्ने बित्तिकै एकजना “होस आयो होस आयो” भन्दै बाहिर दौडिई।
मैले शिशिरलाई भनेको थिएँ “नाइ यार मलाई राम्ररी पौडि आउँदैन, पौडि नखेलौँ।” ” म छु नि डाक्टर- तँलाई बचाउने किन चिन्ता गर्छस?” उसले जिद्दि गर्यो। हामीलेसँगै पानीमा हाम फाल्यौँ। पानीको गतिलो बहाबले मलाई भुमरीतिर हुत्यायो। मैले घुटुक घुटुक पानी निलेँ र छिनभरमै आँखाभरि अँध्यारो छायो।
एक्कासि आमाको घ्वाँक्क घ्वाँक्क रोएको आवाजले।मेरो तन्द्रा बिथल्यो। रमिला सुँक्क सुँक्क रुदै थिई। “शिशिर खै” आँतिदै मैले सोधेँ। “शिशिर भेटिएन” कसैले भीडबाट जवाफ दियो। म फेरि बेहोश भएँ।
शिशिर कहिल्यै भेटिएन। मनमा सधैँ लागिरह्यो ‘के ऊ मलाई बचाउन लाग्दा आफू बग्यो कि? नत्र मलाई बगरमा कसले ल्यायो?’ मलाई नदिको किनारमा बेहोश भेटाइएको थियो। यदि शिशिरले मलाई नबचाएको भए अरु कसले बचायो? यदि शिशिरले बचाएको भए फेरि ऊ कहाँ गाएब भयो। किनारमा उसका लुगा दुरुस्तै थिए रे। “तँ एक दिन वास्ता गर्न छोडछस।” म भन्ने गर्थेँ। साँच्चै नै कहिल्यै वास्ता गर्नै नसक्ने गरी विलिन भयो मेरो साथी मेरो जिन्दगीबाट।
