कस्तो मेरो जन्म रैछ कस्तो मेरो कर्म
कोही बुझ्न चाहदैन मेरो मनको मर्म
पिँजराको मैना जस्तो मेरो यस्तो जीवन
दुखै दुख परिरहन्छ मनमा छैन चयन
मेरो पनि चाहना छ घुलमिल हुन
इच्छा हुन्छ मेरो पनि आकाशलाई छुन
मनका सही कुरालाई पोख्नै नपाउने
जीवनका चाहनालाई दवाईराख्नु पर्ने
खुकुरीको चोट यहाँ परेको छ कति
अरुलाई के थाहा होला अचानोलाई जति
म भित्रको वेदना यो कसो गरी पोखौँ
उर्लिएका आँसु मेरा कसो गरी रोकौँ
साथीभाइसँग हास्छु वेदनालाई दबाई
वेदनामा हास्नु पर्ने किन यस्तो मलाई
पीर बोकी मन भरी मुटु भरी ब्यथा
वर्णन गरुँ कसो गरी जीवनको कथा
मर्म बुझ्ने मेरो कोही संसारमा छैन
मन हुन्छ व्यथा पोखौँ सुन्ने कोही छैन
आँखा भरी आँसु बोकी यात्रा गरुँ कता
दुखै दुख भरिएको जीवनको कथा
2015-08-19 08:58:13 +0100
