मेरा प्रेरणाका स्रोत जुँगेबा, मेरा हाँस्य कथा र हाँस्य निबन्धका स्रोत जुँगेबा, मलाई यदाकदा व्यावहारिक र चटके विद्याको गुरु जुँगेबा अनि मेरो पहाडको घरका छिमेकी जुँगेबा । यसपालि अमेरिका पुगेर फर्किएपछि उनका ताउमाउर बढेर उनी छोइनसक्ना भएका छन् । केही वर्ष पहिले काठमाडौं गएर फर्किंदा समेत उनको नाक एक बित्ता लामो भएको थियो । उतिबेला काठमाडौंबाट फर्किंदा काठमाडौं यस्तो र काठमाडौं उस्तो भनेर गाउँ भरी डिङ हाँकेका थिए भने अहिले उनी अमेरिका गई ५ महिना उतै बसेर फर्किएपछिको ता के कुरा गर्ने र ? स्वर्गैमा पुगेको र स्वर्गै देखेको बयान गर्न पनि उनी पछि परेका छैनन् । बाको ताउरमाउर भनिनसक्नुको भएको छ । उताबाट आएपछि सबैले उताको कुरा सोधेर उनलाई हैरान पारेका छन् । अलिक लाटासुधालाई ता ‘तँ मुलासँग के स्वर्गको कुरा गर्नु जा पर’ भनेर टार्छन् ।
‘हैन कुन जुक्तीले अमेरिका पसियो हाउ बा ?, कति खर्च लाग्दो रछ आउजाऊ गर्न, अनि कस्तो रछ त त्यो अमेरिका ?’ मैले उनलाई आएो केही दिनपछि भेट्न जाँदा सोधेको थिएँ । मलाई उनले सोझै टार्न सकेनन् । उनले भरसक उताको कुरा गर्दै नगरुँ भनेर टार्नसम्म खोजे तर मैले पनि ढिपी छाडिनँ अनि उनलाई भन्न करै पर्यो र भन्न थाले ।
‘खै हाउ साइँला, उताको कुराको बयान गरेर साध्य छैन । बयान गरुँभन्दा पनि यो नेपाली बोली र यो एक जीव्रोले नै पुग्दैन, हजार जीव्रा चाहिन्छन् हाउ नानी’ उनले भने ।
अमेरिकाको बयान गर्न नेपाली भाषाको कमी हुन्छ भन्ने उनका कथनको सार थियो । अनि त्यसको बयान गर्न हजार जीव्रा भएका शेषशायी भगवान चाहिन्छन् भन्ने कुरासँग उनको एक जीव्रोले नहुने कुराको छाँटबाट बुझिन्थ्यो । ‘पैलो कुरा सुन, अमेरिका जाने भादेखि अब नेपालीले नेपालमा छोराछोरी राखेर काम छैन । भटाभटी पठाउनु पर्छ उतैतिर, त्यो ता स्वर्ग पो हो त स्वर्ग ।’
‘होइन माथि बरबोटेका भँडारीले ता त्यही अमेरिकालाई पाताल भनेको छ । अनि तपाईंचैं त्यही अमेरिकालाई स्वर्ग भन्नुहुन्छ ? के हो कुरा ? मैले ता बुझिनँ नि !’ भनेर मैले के सोधेको थिएँ ‘कुन पाजी रछ त्यो अमेरिकालाई पाताल भन्ने अन्धो’ भनेर भाँडिउँ गर्दै जङ्गिन थाले । अनि साम्य पारेर बाटैमा ल्याएँ र सोधें– ‘किन बा किन अमेरिकामा पठाउनुपर्छ छोराछोरी ?’
‘खैरेहरूले नेपालीहरू भनेपछि निकै मन पराउँछन् । नेपालीहरूलाई उनीहरूकोमा ज्यादै इज्जत पनि रछ । नेपालीहरूको खुब मानमज्र्यादा छ । मेरै छोरी, ज्वाइँ, छोराहरूको पनि ठुलो सम्मान छ ।’
‘खैरेहरूकोमा मात्र कहाँ हो र बाबै, यहीं भारतको बम्बै, कलकत्ता र दिल्ली जस्ता सहरमा पनि ता नेपाली केटाहरू र नेपाली चेलीहरूको खुब मज्र्यादा र सम्मान छ नि भनेर व्यङ्ग्य कस्न मन ता लाग्यो तर बुझ्लान् भन्ने डरले म चुपै लागेर उनैका कुरा सुनिरहें । उनकी छोरी उतैका गोराले धर्मपुत्री पाल्ने गरी उहिल्यै लगेको र त्यहींका गोरासँग बिहेवारी भएको थियो । त्यही स्रोतले उनका छोराहरू उता घुसे, त्यही छोरीको प्रबन्धमा उनी पनि अमेरिका गएका थिए भन्ने मलाई जानकारी थियो ।
‘कता कता डुल्नु भो त ? नातिनातिना कस्ता कस्ता रैछन् ?’ कुरा बटार्दै सोधें ।
‘नातिनातिनाको ता कुरै नगरौं बाबु, जन्मनै पाएको छैन अघि अङ्ग्रेजी बोल्न थालिहाल्छन् । कति जानेको हो कोनि । खानु अङ्ग्रेजी, बोल्नु अङ्ग्रेजी, पढ्नु अङ्ग्रेजी, लेख्नु अङ्ग्रेजी, सुत्नुउठ्नु सबै अङ्ग्रेजी । पड्के नेपालीको बच्चो हो भन्ने ता छेकछन्दै पो छैन त । हाम्रो नेपालमा भने अङ्ग्रेजी पढाउन भनेर बोडिङ्मा खर्च पिटेर हाल्यो २० वर्ख पढाउँदा पनि अङ्ग्रेजी बोल्दैन, जान्दै पो जान्दैन त । कस्तो छुरा हो त्यो देश जन्मदैमा अङ्ग्रेजी बोल्ने !’ आफैं आश्चर्य मान्दै उनले भने । उनको अङ्ग्रेजी सम्बन्धको धारणाबारे उनले जे बुझेका छन् त्यसको वास्तविकता नबुझाउनु र उनको कुरा सुन्नु नै उपयुक्त हो भनेर म चूपै लागेर उनको अमेरिका कैरन सुन्न आतुर जस्तो देखिएँ ।
‘मेरो अमेरिका डुल्ने कुरामा बारेमा पनि सोधेका थियौ क्यारे ।’
‘हो, भन्नु होस् न कहाँ कति डुल्नुभो, केके बुझ्नुभो ?’ मैले भनें ।
‘अमेरिका जम्मै डुलेंभन्दा पनि भो बाबु । यो जुनीमा नदेखिने कुरा देखियो त्यो मुलकाँ । नत्र उहाँकै राष्टपतिलाई समेत त्यो देशको कुनाकानी देख्ने मलाई परेको जति मौका पर्दैन भन्छन् । बढी बढाइचढाइ गरो बूढाले भनौला नानी, धरोधर्म मलाई त्यस्तो मौकाचानस परेको अब । ज्वाइँको पहुँच र छोरीको कारणले गर्दा नै म त्यो मुलुकको कुनाकुनामा पुग्न पाएँ नत्र….’
‘हँ ज्वाइँको पँहुच ? कस्तो पँहुच रहेछ ज्वाइँको ?’ सोधें ।
‘ज्वाइँ ता सेतो बङ्गलाका हाकिमकै आफन्त पर्दा रछन् ।’
‘मैले बुझिनँ नि, यहाँ नेपालमा ता रातो बङ्गलाको नाम मात्र सुनेको थिएँ, यहाँको रातो बङ्गलामा ता नानीहरूलाई पढाइन्छ उहाँको सेतो बङ्गलामा के हुँदो रैछ ? के हो सेतो बङ्गला भनेको ?’ सोधें ।
‘अङ्ग्रेजीमा हुइट हाउस भन्छन् नि, त्यो राष्टपति बस्ने घर । त्यसैलाई उता नेपालीहरूले सेतो बङ्गलाभन्दा रान् । हो त्यसैमा काम गर्ने छन् नि राष्टपति । हो, उनैका आफन्त पर्दा रछन् मेरा ज्वाइँ, उनैका प्रतापले मैले अमेरिका राम्रो गरी डुलें ।’
‘ए ! अनि अमेरिका ता ठुलो मुलुक छ भन्छन् गाडीबाट ता पारै पो पाइन्न अरे । पिलिन नै चढेर देशदर्शन गर्नु भो कि कसो ? राष्टपतिकै आफन्तको मान्छे पर्नु भएछ र पो परेछ त मौका सबकोइलाई यो सुविधा कहाँ पर्छ र बा ।’ मैले भनें ।
‘हो नानी, राष्टपतिका आफन्तको साख्खै ससुरो परेको हुँदा मलाई यो अवसर परो । अब देशको घुमाइको कुरा गरौं न । यता पूर्वको कालोराँडो र कलफोर्नीदेखि लिएर पश्चिमको फिलोडल्फिनसम्म र उत्तरको ओकिलोहामासम्म र दखिनको ट्याक्सी जस्ता सबै ठाउँमा घुमियो । अचम्मै देखियो । मेरो ता जिन्दगी नै सफल भएको छ ।’
‘तपार्इँको जिन्दगी सफल भएकोमा तपार्इँलाई बधाई छ । अघि कुरै कुरामा नेपालीको मानसम्मानको कुरा पनि उठाउनु भएको थियो नि । कस्तोकस्तो मानसम्मान पाउँदा रहेछन् त बा ? यहाँकै जस्तो खादा, माला, अविर बर्को ओढाएर विमोचन शिलान्यास आदि त्यहाँ पनि गरिँदो रहेछ त बा ?’ मैले बुझ्न चाहें ।
‘यहाँको जस्तो होइन नानी । नेपालीहरूको मानसम्मनको कुरा के गर्छौ तिमी ? साँच्चै भन्ने हो भने अमेरिकाको अर्थव्यवस्था नै नेपालीको हातमा रहेछ । त्यहाँका राष्टपतिले हाम्रा नेपालीहरूको इमानदारी र कर्तव्यनिष्ठता देखेर गोर्खा दख्खिनबाँहु दिने र देशको अर्थव्यवस्थाको वाग्डोर नै सुम्पने विचार गरेका छन् भन्नेसम्म सुनेको हुँ, खै भित्री कुरा कसो हो उति बुझ्ने मौका पाइनँ । मैले अङ्ग्रेजी पढ्या भा पो बुझूँ । त्यहाँ भ्रष्टतीन, भ्रष्टचार, भ्रष्टपाँच, भ्रष्टछहरूको ता कुरै छैन । अँझ भ्रष्टसात आठको ता कुरा नै नगरौं । त्यहाँ जोसुकैले चोरी चकारी गर्लान्, त्यहाँ गलत मान्छेहरू घरभित्र पस्लान् भनेर नेपालीहरूले तैनाथी गरेर ठुलो रक्षा गरेका रान् नानी । नेपालीहरूले त्यस्तो जिम्मा लिएर बसेका रान् । ठुलो कुरा हो ।’
‘यो ता राम्रो कुरा पो बुझ्नु भएछ, कसरी हो यो सबै ?’ मैले सोधें ।
‘कसरी भनेपछि ता भन्नै पर्ने भो’ भन्दै उनले भन्न थाले । ‘त्यहाँका खैरे कालेहरूले जथाभावी पेटोल चलाउलान् र नेपालको जस्तो पेटोल डिजेल, मटितेल र ग्याँसको हाहाकार पर्ला भनेर पेटोल र ग्याँसको बाँडचुँड गर्ने ठाउँमा ता नेपालीहरूले अमेरिका भरि कन्टोलै गरेका रछन् । जुन पेटोल पम्पमा गयो उसैमा नेपालीहरूले भाग लगाएर पेटोल बाँडेको देखिन्छ । जथाभावी गर्न उनीहरू दिंदै दिँदैनन् । उनीहरूले कन्टोल नगरेको भए अमेरिकामा नेपालमा जस्तै हाहाकार हुने थियो नानी यो इन्धनको । ठुलो मुलुक कस्तो अभर पर्ने थियो होला । लौ भन त अनि अर्थव्यवस्था नेपालीको हातमा आएको होइन त ?’
‘त्यसै गरी ठुला ठुला डुपाटमेन्ट घरहरूको कन्टोल पनि बाहिर ढोकैदेखि नेपालीको हातमा रछ । कसका बाबुको पिताम अब भित्र त्यसै छिर्न ? डुपाटमेन्टमा भित्रका सामान कसैले चोर्ला भनेर सब नेपाली नानीहरू छोराहरू तैनाथ छन् ए । उता बसेपछि ता अङ्ग्रेजी पनि पो बुझ्न थालिसकेछन् त ।’
‘हो बा, हो है ।’
‘यसै गरी कुर्षि र बन्दबेपारमा पनि नेपालीहरूले अमेरिकालाई थामेका रछन् । यहाँको जस्तो रसान मलको अभाव होला भनेर त्यसको बेपार गर्ने ठाउँको पनि उनीहरूले राम्रो रेखदेख गरेका रान् । नेपालीहरू अमेरिकामा नहुँदा हुन् त कृर्षि र व्यापारको दुरुपयोग भएर त्यो मुलुक नै चौपट हुने थियो । हाम्रोमा जस्तो बेपारीले गोदाम भरेर बजारमा क्रित्रिम अभाव पैदा गराएर कुन समस्या आउने थियो होला । लौ कल्पना गर त । त्यसैले डुपालमेन्टल हाउसहरूमा भित्रै सामानको रेखदेख गरेर मजासँग बसेका छन् हाम्रा नेपालीहरू । सुन्नसम्म के पनि सुने भने हाम्रो देशका पर्फेसरहरू, हिरोहरू, मन्त्रीहरू, उकिलहरू पनि यस्तै डुपाटमेन्टल दोकानको रखवारी गरेर अमेरिकाको रेखदेख गरिराका छन् अरे । तर नानी झुटो कुरा गर्नु हुन्न देख्न ता त्यही एउटा दाहाल उकिल, खनाल हिरो र भूतपूर्व मन्त्री ढकाल जेठोलाई मात्र देखें है । अब भन त नेपालीले अमेरिका थामेका रैछन् कि रैनछन् त ? के छ नानीहो भनेर सोधेको ता अङ्ग्रेजी मात्र पो बोल्छन् ए, बिर्से पनि होला, उहाँ ठुला मुलुकको ठुलो कुरा गर्नु पर्दा यो सानो मुलुकको सानो भाषाको के काम ?’
‘कुरा ता ठिकै हो तैपनि मैले ता राम्रो गरी बुझिनँ नि त बा तपाईंको कुरा ?’
‘खाद्यान्न, लत्ताकपडा, माछामासु, सागसब्जी, हाटबजारका दोकानहरू डुपाटमेन्टहरूको बिक्रीकक्षमा नेपाली जवानहरूले बडो राम्रो गरी खाद्यान्न, लत्ताकपडा, माछामासु, तिहुनतर्कारी आदिको वितरण गरेको देखिन्छ । यसको अर्थ के हो ? जान्दैनौ लाटा ?’
‘बा अलिक बुद्धि ख्याउन सकिएन । के हो त्यसको अर्थ ?’ सोधें ।
‘नेपालीहरूलको इमान्दारी नि, अरु के हुन्छ ?’ उनले भने ।
‘नेपाली भनेपछि अमेरिकामा सबैथोकले मान्दोरहेछ ।’ उनले अँझ थपे ।
‘अर्थात्…..’
‘म जाँदै थिएँ छोरीका साथमा बजारमा । पैसाको अलिकति खाँचो परेछ छोरीलाई । एउटा सानो अटियाम लेखेको घरका बाहिर के उभिएकी थिई नेपाली देखेर त्यस घरको ढोका ता स्वाट्टसँग आफैं पो खुल्छ ए । म तीन छक्क पो परें । छोरीलाई भित्रबाट स्वागत भएछ । भित्र जन्त्रले मेरी छोरीलाई कति डलर चाहिन्छ त्यति लानु होला भन्दै थियो अरे । तर चाहिनेभन्दा बढी लिएर नेपालीको इज्जत बिगार्नु छ र । त्यसैले उसले आफूलाई चाहिने जति डलर भित्रबाट आफैं टक्रयाएछन् । अनि बाहिर आई । म ता चकित नै परें ।’
‘हँ, उसो भए तपाईं पनि भुसै हुनुहुँदो रहेछ बा । आफू पनि भित्र गएर निकाल्नु थियो दुइचार डोका डलर ? के भुत्रो हेर्नुभो ? याँ कत्रो काम लाग्थ्यो !’ मैले भने ।
‘लौ लौ यस्तो मूर्ख कुरा ! नेपालीको इज्जत नै नेपालीहरूको इज्जत हो । यसैले उनीहरूलाई उहाँ सम्मान छ । जथाभावी गरेर हुन्छ ?’
‘अनि बसमा घर जाने विचार गरेर हामी अघि बढ्यौं, बस ता हामीहरूलाई देख्नासाथ उभियो र आफैं ढोका पो खोलिदिन्छ ए । बसको भर्मन उति बढी गरिन नानी । हावाजहाजमा नै बढी भर्मन गरें । त्यसको ता के कुरा गर्नु । एक ठाउँबाट अर्का ठाउँमा जानु परो भने हावाजहाज । कति सस्तो कति सस्तो ! यहाँको रिक्सा बरु महँगो होला, उहाँ हावाजहाज सस्तो छ । जता जान पनि पाइन्छ ।’
‘त्यस्तो सस्तो र बाक्लो हावाजहाज पाइने भएपछि ता हिंडेर जाने दःुख पो कसले गरोस् । हो नानी हो, बाटामा मान्छेहरू हिंडेकै देखिन्नन् । कि बाटामा गाडी फिलिली छन् कि आकासमा हावाजहाज फुइँयँ छन् ।’
‘अनि हावाजहाज बस्न ता अलिक ठुलो ठाउँ चाहिन्छ भन्छन् त्यसरी जहाँसुकै हावाजहाज बस्ने बन्दोबस्त कसरी गरेका रैछन् बा ?’
‘आ के कुरा गर्या होला, नदेख्नु पनि बेकार हो । याँ सुन, उहिले लद्दनले अम्रिकामा पढ्काएका एक सय १० तले टुन टाउर थिए नि, हो त्यस्ता घर ता ठाउँठाउँमा रछन् कति हो कति ! हाम्रो वनका रुखहरूमा काग बसेजस्तो गरी उहाँको त्यस्ता घरका टुप्पाटुप्पामा हावाजहाज, हिलिकेप्टर बसिहाल्छन् नि । उहीं रछन् हावाजहाज मर्मत गर्ने ग्यारेज, पेटोल हाल्ने ठाउँ, दोकान दारी सबैथोक । अब याँ सुन है । त्यस्ता अग्ला घरमा कसरी जाने होला भनेर तिमी परौला छक्क । घरको भुइँतलादेखि नै लफ्टले सरररर माथि लगिदिन्छ । बोल्नु छैन । सररर मान्छेलाई थाप्लामै पुर्याउँछ एकै मिलिटमा । अब के कुरा गर्नु अरु अहिलेलाई यहीं सकौं है ।’ उनले विश्राम लिने विचार गरे ।
मलाई पनि उनको कैरनले निकै हैरानी पारिसकेको थियो ।
‘हुन्छ बा बाँकी कैरन फेरि फेरि सुन्दै गरुँला, लौ त म गएँ’ भन्दै म पनि हिंडें ।
