जीवनको उत्तराद्र्घमा मलाई आफू एक्लो भएको र बाँच्नका लागि सामाजिक सुरक्षा आवश्यकता महसुस हुन थाल्यो । आफ्नो बिगतका कृयाकलाबहरूको एक पटक समिक्षा र गल्तीहरूका प्रायश्चित गर्नु आवश्यक ठाने मैले । महानास्तिकताबाट माथि उठेर ईश्वरको अस्तित्व नियाल्ने चाहना हुन थाल्यो । मृत्यु पछिको लोक खोज्ज मन लाग्यो । पुराना परम्परा, रीति, संस्कार आदि तोड्नु नै आनो जीवनको उदेश्य बनाएको म आज त्यही परम्परा जोगाउने प्रयास गर्दैछु ।
सायद मनिसको उमेरले पनि उस्को धारणा परिवर्तन गराउँदो रहेछ । आफन्तहरूका माया ममताको न्यानोमा पुनः गडुल्किन पाउने आशाले यो अपार्टमेन्ट मैले अमेरीका छदै किनिसकेको थिए । अमेरीकाबाट फर्केदेखि नै मेरा दिनहरू प्राय आराध्यदेव पशुपतिनाथका सेरोफरोमै बित्दछन् । पशुपतिनाथ मन्दिरको पछाडिरहेका ढुङ्गाका सिँढी उक्लदै विश्वरुप पट्टी जाँदै गर्दा प्राय म अव्यक्त रुपमा भक्कानिने गर्छु । सिँढिका प्रत्येक ढुङ्गा तथा जंगलका बाँदरहरूसँग नाता गाँसिए झै लाग्छ, प्रिय लाग्छन् । मैले उनीहरूमा बाँड्ने बिस्कुटका स्वाद चाखिसकेका बाँदरहरूको हुल मलाई घेर्न आइपुग्ने गर्छन् । उनीहरूको व्यवहार मेरोभन्दा अलि पाको लाग्दछन् । म प्राय बिहीनीलाई साथ लिएर जाने गर्दछु । बहिनी माथि भने बल्ल तल्ल आनो अधिकार जमाए मैले । त्यो पनि दिउँसो घुम्न निस्किनको लागि मात्र । बेलुकी पुनः काकाको घरमा छोडी दिने शर्तमा । बहिनीलाई छोडेर म अपार्टमेन्टमा फर्किए पछि त्यसै झोक्राएर बस्छु । दिउँसो किनेर ल्याएको कर्न लेक्स डेरीको दुधमा ढड्याएर खान्छु र सुत्छु ।
चार दशकभन्दा बढी समय पछि देशको माटो छोए मैले । एयरपोर्टबाट ओर्लिए पछि ट्याक्सी चडेर सिधै यही अपार्टमेन्टमा आएँ । भोलि पल्ट दिउँसो गएर गाडी किनेँ । नम्बर समेत नलेखी सिधै काकाको घर खोज्दै गँए । आफूले बाल्यकालमा कुदेका खेतका गहराहरू सबैमा भौतिक संरचनाहरू कोचाकोच गरी अस्तव्यस्त रुपमा खाँदिएका रहेछन् । पुराना काँचा इँटाका घरहरूको बस्तीलाई स्मृतिको कुनाबाट उघारेर काकाको घर खोज्न थाले । जंगलका सस्याना रैथाने बुट्यानहरूलाई बिदेशी झार बनमाराको डसाईबाट आनो अस्तित्व जोगाउन मुस्किल परे जस्तो अवस्थामा रहेको काकाको घर पत्ता लगाउन हम्मे हम्मे पर्यो । बल्ल तल्ल फेला पारेँ । डोर बेल थिचे । एउटी बैंसालु विवाहिता बाहिर निस्कीइन् । को हुन् मैले लख काट्न सकिन ।
“ काका हुनुहुन्छ ?,” मैले सोधे । “को काका…..?” विवाहिताले मेरो उमेरको अन्दाज लगाउँदै प्रश्न गरिन् ।
“को हजुरबा…..?” मैलो अँध्यारोमा गोलि चलाँए “हो …हो ।”
म विवाहिाताको पछि लागेँ । डुब्ने बेलाको घाम तापेर तमाखु तान्दै हुनुहुदोरहेछ काका । बत्ती कात्दै गरेकी काकीसँगै पँलेटी मारेर बसेकी बहिनी अगाडि पछाडि हल्लिरहेकी थिई, केटाकेटी देखिको बानी बुढेसकालसम्म अँझै गएको रहेनछ ।
“हजुर बा ! हजुरलाई भेट्न मान्छे आउनु भाछ,” टाउकामा धोती चढाएकी विवाहिता तुरुन्तै फर्किइन् ।
मैले पनि समयमै बिहे गरेको भए यस्तै बुहारी भित्रिई सक्ने रहिछन् । म काका अघिल्तीर गएर टाउको निहुराए ।
“ चिन्न अलि गाह्रो पर्यो नि बाबु ।” काकाको जिज्ञासालाई समाधान गर्नु अघि काकी अघिल्तीर पनि निहुरिए ।
“काका…म…ठुले !” काकाको अनुहारमा क्रोधाग्नी प्रज्वल्लित भयो ।
“थुक्क कुलङ्घार……के खोज्न आइस् यहाँ…..म्लेच्छका देशाँ गाडीन छोडेर ?” बहिनीले अनुहार रुँला रुँला जस्तो पारी ।
हुत्तिएर आइपुगेकी बुहारीले काकीलाई साँङ्केतिक प्रश्न गरिन् ।
“के खोज्न आइस्…. आनो अंश खोज्न ?…. लैजा तँ जस्ता कुलङघारको सम्पत्ती कसैले छुदैन यहाँ…. दाजुकै नाममा छ, जा गएर नामसारी गर ? ” काकाको रौद्र रुप थामिइने लक्षण देखिएन ।
अनुहारमा झल्किएको मातृ बात्सल्यलाई काकाको अगाडि लुकाउने प्रयास गर्दै हुनुहुन्थो काकी । काकीले साङ्केतिक भाषामा म उस्को दाजु भएको कुरा बताई दिनु भयो बहिनीलाई । काने टोपीले मोरिएको टाउको हल्लाउदै बोली नफुटेको बच्चा जसरी कराउदै खुसी हुँदै मसँग टाँसिन आइपुगी बहिनी । बहिनीका बाल सुलभताले काकालाई पगाल्यो ।
“ खबरदार यस माथि पनि अधिकार खोज्लास्……..कुलद्रोही ।” गह भरी आँसु पार्दै काका तमाखु बोकेर कोठा भित्र पस्नुभयो ।
कान नसुन्ने, बोल्न नसक्ने, सुस्तमनस्थिति भनेर पुरै सुस्त पनि होइन यस्ति छ मेरी बहिनी । आमा बित्नु हुँदा दश वर्षकी मात्र थिई यो बहिनी । म तेह्र वर्षको । क्षयरोगले थलिनु भएकी आमाका नजिक कसैलाई पनि जाने अनुमति थिएन । बहिनीले अटेर गरेर नजिक जान खोजे पनि आमाले दिनुहुन्न थियो, नजिक भएका बस्तुहरूले प्रहार गरेर बाली खान पसेको बस्तुलाई झै लखेटेनुहुन्थ्यो । आमाले मन बाँधी सक्नुभएको थियो ।
“बहिनीको विचार गर्नु है बाबु…… यस्को तँ बाहेक को छ र ?” आमा सम्झउने प्रयास गर्नु हुन्थ्यो ।
बहिनीका भाषा आमा, बुवा, काका, काकी फुपूहरू सबै जना राम्ररी बुझ्नु हुन्थ्यो । तर मैले कहिल्यै बुझिन वा बुझ्न चाहिन । मलाई पटक्कै मन नपर्नेहरूमा यो बहिनी पनि पर्दथि । सबैलाई पिर्न जन्मिएकी जस्तो लाग्दथ्यो । मेरी बहिनी लाटी छ भन्ने थाहा पाएका सथिहरूले हल्ला फैलाइदिएलान् भन्ने त्रास सधैं रहिरहन्थ्यो । मेरा मनमा मानवीय संवेदना पलाउनु भनेको ढुङ्गा टुसाउनु जस्तै थियो ।
“बहिनीलाई माया गर्ने तँपाईहरू हुँदै हनुहुन्छ नि ! मैले किन माया गर्नु पर्यो ?” म काँचो जबाफले आमालाई प्राहार गर्थे ।
मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले आँसु पुछ्नु हुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भए देखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् ।
सानै उमेर देखि मेरो स्वभाव एकलकाट्टे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिन मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुदा पटक पटक सिँघौरी खेलेकोछु मैले । उमेरमा साना ठुला सबै साथीहरू, फुपूका छोराछोरीहरू, मामाका छोराछोरीहरू मेरो नजिक पर्न डराउथे । उनीहरूसँग पैसा भएको गन्ध आएमा फकाएर हुन्छ कि तर्साएर हुन्छ जसरी पनि म फुत्काएरै छोड्थे । परिआएमा मुक्का प्रहार गर्नमा पनि हिच्किचाउने बानी थिएन मेरो । चढ्दो उमेरसगै मेरो महत्वाकांक्षामा पनि बृृद्घि हुन थाल्यो । महत्वाकांक्षा र घमण्डको कुहिरो भित्र भूल्नमा आनन्द लाग्न थाल्यो । आई यस्सि पढ्न थाले देखिनै कमाउन थालेको मलाई कहिल्यै घर कसरी चलिरहेको छ भनेर बुबालाई सोध्ने आवश्यक्ता महसुस भएन । बरु बुवाले धार्मिक कार्यमा गर्नुहुने खर्चहरू, बहिनीका उपचार तथा पढाईमा गरीने खर्चहरू, यदाकदा गरिब निमुखाहरूलाई दिइने दानहरू तथा जंगलका बाँदरहरूमा बाँडिने बिस्कुटहरू सबै फजुल खर्चहरू हुन् भन्ने मेरो धारणा थियो । धेरै कुरामा बुवा प्रति मेरो राय बाझिन थाले । आफन्त ईष्टमित्र सबैलाई मतियारको उपाधी भिराई दिए मैले । सरकारी छात्रबृत्तीमा रुस पुगेको मैले अध्ययन पुरा गरेपछि स्वदेश फर्कनु पर्ने आवश्यकता महसुस गरीन । त्यहाँबाट सिधै अमेरिका पुगेर अर्थशास्त्रमा विद्याबारीधी गरेँ ।
रुस जानु अघि नै बुवा मेरो विवाह गरी दिन चाहनु हुन्थ्यो, मैले टेरिँन । सुरु सुरुका दिनमा अलि अलि आफन्तका र धेरै बुवाका चिठ्ठीहरू आउँथे । तिनीहरू मध्ये अत्यन्त कमका मात्र जबाफ फर्काउन आवश्यक ठाने मैले । पछि पछि टेलिफोन र ईमेल इन्टरनेटमा नेपालीको पहुँच पुदासम्म बुबा बाहेकअरुले सम्पर्कको प्रयास ब्यर्थ रहेको महसुस गरिसकेका थिए । अमेरिकामा छँदा यदाकदा बुवाले फोन गर्नु हुन्थ्यो । सुरुका दिनमा म फर्किएर विवाह गरुँ भन्ने चाहना व्यक्त गर्नु हुन्थ्यो । पछि उतै भए पनि एउटी कुलकी कन्या खोजेर बिहे गर्नु भन्न थाल्नुभयो, अन्त्यमा हार मानेपछि आनो पिण्ड पानी रोकिने भयो भन्दै एक दुई पटक सुकसुकाउनु पनि भयो । अमेरिकामा प्रगतिका खुड्कीलाहरू चढ्दै गरेको मेरो भेडो मष्तिस्कमा बुवाका कुराहरूले रङ्ग भर्न सकेनन् । डाइनोसरको अन्तिम पुस्ता जस्तो जोगाउनै पर्ने बशं ठानिन मैले आनो । रुस बसाईका क्रममा पाएको केटी साथीहरूका संसर्गले मेरो बैबाहिक जीवन प्रतीको मोह भंग भंङ्ग भैसकेको थियो । एउटी बिदेशी सहपाठी महिला र मसँगै बस्थ्यौ । वास्तवमैभन्दा सहपाठीको सहबोको थिए म ।
अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा प्रा.डा. हुन पाएको तथा आफूले लेखेका लेखहरू विभिन्न अन्तर्राष्ट्रिय अखबारहरूमा छापिनुले मेरो अभिमान उत्कर्शमा पुग्यो । आफूभन्दा कनिष्टहरूको महत्व देखिन मैले । एक पटक नेपालका उच्च राजनीतिज्ञले अमेरिका भ्रमणका क्रममा योजना आयोगको नेतृत्व समालेर देश विकासमा हातेमालो गर्न गरेको अनुरोधलाई नेपाल जस्तो मुलुकले आफूलाई पाल्न नसक्ने भन्दै ओठे जबाफ फर्काइ दिए मैले ।
मैले लेखेको पुस्तकलाई अर्थशास्त्र तर्फको नोबल पुरस्कारका लागि सिफारीस गर्ने सम्बन्धमा विश्वविद्यालयमा छलफल चलिरहेको बेला लामो समय पछि नेपालबाट फोन आयो । फोन काकाले गर्नुभएको थियो । मैले नेपाल छोडेपछि पहिलो पटक काकाको श्वर मेरो कानमा गुञ्जदै थियो । पशुपतिका सिंढी उक्लने क्रममा चिप्लिएर बुवा अचेत हुनु भएको र जीवन मृत्युको दोसाँधमा पुग्नुभएको जानकारी गराउनु भयो काकाले । एक दुई दिनमा मिलाएर आउने आश्वासन त दिए मैले काकालाई तर आनो अनुपस्थितिमा सिफारीसको माहौल बिग्रिन सक्ने कुराले चिन्तित गरायो । फर्कने या नफर्कने दोधारे मनस्थितिमा लामो समय भने मैले बस्नु परेन । केही घण्टा पछि नै बुवा बित्नुभएको खबर आयो । मैले काकालाई आफू तुरुन्त आउन सक्ने अवस्था नरहेको बताए । हुने कुरा भैसकेकोले आफू पछि समय मिलाएर आउने भन्दै म पन्छिए । त्यस पछि भने मेरो सम्पर्क नेपालसँग पूर्ण रुपमा बीच्छेद भएको थियो । त्यस पछि सहपाठी महिलाले पनि लात हानिन् । चर्चामै नहरेकी उनले पुरस्कारका लागि सिफारीस उछिट्टयाइन ।
आजकल मलाई आफू कुहिरो भित्र हराएको पूर्ण महसुस भएकोछ । नेपलकै कुहिरोमा अलमलिएको मलाई, अलमलिदै बाटो बिराउदै कुहिरेका देशको कुहिरोभित्र लगेर मिल्काई दिएछ मेरा प्रदुषित सोचाइले । पशुपतिका ढुङ्गाका सिँढीमा आनो बाबुका पद चिन्हहरू देख्न पाउने मृगतृष्णामा भौतारीने गर्दछु अचेल । यी बाँदरहरू मध्ये कतिलाई बिस्कुट खुवाउने क्रममा सुम्सुम्याउनु भयो होला बुवाले । मानवीय सामिप्यताका हिसाबमा यी बाँदरहरू मभन्दा भाग्यमानी छन् । यिनिहरू मेरा बाबुका मृत्युका प्रत्येक्ष्यदर्शि हुन् । बुवा कहाँ लड्नुभयो कसैलाई सोध्ने आँट गरिहाल्न सकेकोछैन मैले । मैले कसैसँग खुलेर कुरा गर्ने अधिकार गुमाइसकेँ । मैले सोध्न सक्ने भनेको केबल यी बाँदरहरू हुन् । यिनिहरूसँग कुरा गर्ने भाषा छैन मसँग । भाषा त मसँग बहिनीसँग कुरा गर्ने पनि छैन । आनै बहिनीका भाषा त बुझ्न प्रयास नगर्ने म जस्तो पाखण्डिले बाँदरका भाषा कसरी बुझ्नु । हरेक कुरा पाउनका लागि लगाब चाहिन्छ । आफन्तसँगको सम्बन्ध बिगार्नमा प्रयोग गरिएको लगाब बहिनीका भाषा बुझ्नमा लगाउन सके केही उपलब्धी पक्कै हुन्यो होला ।
सिँढी उक्लन थालेपछि नै गम्भिर मुद्रामा बहिनी तत्याङ् मत्याङ् गर्न थाल्छे । ऊ अवश्य बुवाकै गुरा गर्छे । सायद भन्दी हो, बुवा यही लड्नुभयो वा अलि माथि लड्नुभयो । लडेर तीन खुड्कििला गुल्टीनु भएछ, वा ठेस लागेर यसो लड्दा टाउको ठोकिएछ । टाउकामा रगत बगिरहेको थियो, वा बाहिर चोट केही देखिएकै थिएन, तै पनि….आदि आदि । ठाउँ ठाउँमा रोकिन्छे । शारिकि हाउभाउ देखाउछे । के के गर्छे के के । म केही बुझ्दिन । एउटा अबोध बालक झै म बहिनीका पछि लागिरहन्छु, । कुहिारोमा हराएको काग जस्तै । बाँदरहरू तर्फ बिस्कुटका ठेउकाहरू मिल्काउदै हिडिरहेछु एक दिन कुहिरोलाई चिरेर बाहिर निस्कने आशमा ।
2016-09-03 14:08:15 +0000
