म स्वभिमानको मुर्ती, धैर्यधारी परिश्रमी
नसम्झे यो छिमेकीले, हेप्न सक्छु सधैं भनी
कहिले मिचिए बारी, काटिए खेतका गरा
कहिले सामु आएर, भन्ने गथ्र्यौ कठैबरा
कालापानी थियो बारी, खेत सुस्ता थियो पुरै
पशुपतीनगर् हाम्रो, लुटीखायौ गरागरै
जताततै धसी दाह्रा, लिपुमा अहिले पनि
साथि अर्को मिलाएछौ, बाँडीखाउँ दुबै भनी
ङार्रङुर्र सधैं गथ्र्यौ, तेरो मेरो छँदै थियो
देखेर लिपुको फाँट, आरिसे नेत्र बल्न गो
भाइलाई उचालेर, आधा अंश दिलाउँने
कसरी आँट यो गर्छौ, आफुसंगै मिलाउने
घर पोली खरानीको, भाइ ब्यापार गर्दछन्
दिएनौ घरमा पस्न, पेटीमा बास बस्तछन्
अन्याय यसरी गर्दा, चुपचाप बसिन्छ र ?
गोर्खे हौं; नभए गोर्खे तिम्रो शान रहन्छ र ?
लडियो अरुकै निम्ती, बहादुर भई कति
आफ्नै निम्ती यहाँ लड्ने, बनिदैछ नयाँ निती
तिम्रो विरुद्धमा कैल्यै, लडेथ्यो गारखे कतै ?
भाँड्यौ शान्ति यहाँ तिम्ले, गोरखे सुरिदै छ है
गर्यौ नाका यहीँ बन्द, किन हो ! बुझिएन खै
हेपाहा बानी यो तिम्रो, अघिदेखी छदैछ है
देखेर ढुकुटी हाम्रो, लम्कायौ हात यो किन ?
नेपाल देश हो हाम्रो, सिक्कम हैन यो सुन !
२०७२। ०६। ११
इटहरी -५
छन्द :- अनुस्टुप
